राजनीति


ज्यान मार्ने धम्की आएपछि हर्कसँग ‘तत्कालै’: बालेनलाई सिंहदरबारमा होइन, संसद्‍मै भेटौँला (भिडिओ)

‘उपसभामुख हामीले लिनेबारे छलफल भइरहेको छ’

अनिल यादव
चैत १६ , काठमाडौँ

धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी स्थापना गरेको तीन महिनामै ७ सिट जितेर राष्ट्रिय दल बनाउन सफल हर्क साम्पाङ यतिबेला राष्ट्रिय राजनीतिको चर्चामा छन्। संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने अठोट बोकेका साम्पाङ र उनका सांसद सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको कोसी प्रदेशका सांसदहरूको बैठकमा सहभागी भएनन्। 

नेपालखबरको भिडिओ कार्यक्रम ‘तत्कालै’मा सोमबार यसको कारण खुलाउँदै उनले संसद्को गरिमा र विधिलाई जोड दिए। 

‘बैठकको जानकारी समयमा नआउनु एउटा कुरा हो, अर्को संसद्को बैठकबाट यस्ता कुराहरू सुरु गर्नुपर्छ भन्ने पनि हो,’ उनले भने, ‘कता–कता भेटेर मात्र हुँदैन, संसद्को बैठकमा भेट्ने होला, सुरुमा त्यहाँ बसेर कुरा गर्नुपर्छ जस्तो मलाई लाग्छ। संसद्को पहिलो बैठक पछाडि मात्र ढोका खुल्छ, त्यहाँ केही कुराहरू हामी राख्छौँ। अहिले नै एजेन्डाबिनाको भेटघाटको कुनै औचित्य रहन्न।’

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लगायतका नेताहरूलाई विभिन्न पुराना फाइल खोलेर पक्राउ गरिरहेको विषयमा साम्पाङले निष्पक्षताको माग गरे। 

उनले सरकारको कामलाई सूक्ष्म रूपमा नियालिरहेको बताउँदै भने, ‘उहाँहरूले गरिराख्नुभएको कामको पुष्टि सरकारले नै गर्ने हो। मेरो माग यति मात्रै हो कि, भदौ २३ र २४ दुवै दिनका घटनाका दोषीहरूलाई कठघरामा उभ्याइनुपर्छ। जेनजी आन्दोलनको डिजाइन गर्ने र त्यसमा गोली हान्ने आदेश दिनेहरूलाई पनि खोजिनुपर्छ। म जहिले पनि निष्पक्षता र साँचो सत्य कुराको पक्षमा छु। दोषी को–को हुन्, कुन तहका हुन्, उनीहरूमाथि कारबाही हुनुपर्छ। सरकारलाई ट्रयाकभन्दा बाहिर जान हामी दिँदैनौँ।’

साम्पाङले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की आएको र त्यसविरुद्ध कानुनी प्रक्रिया सुरु गरेको पनि बताए। 

‘मलाई रास्वपाका समर्थकबाट ज्यान मार्ने धम्की आएको छ, तँलाई मार्दिन्छौँ हामी भन्ने खालको शब्द प्रयोग गरिएको छ,’ उनले भने, ‘गालीगलौज त कति आउँछन्–आउँछन्, तर यो खालको कुरालाई अनदेखा गर्न मनले मानेन। त्यसैले मैले साइबर ब्युरोमा जाहेरी दिइसकेको छु। प्रतिपक्षको एउटा जिम्मेवार नेता भएको नाताले मैले प्रश्न गर्दा ममाथि यस्तो धम्की आउनु दुःखद हो।’

पार्टीभित्र समानुपातिक सांसद छनोट गर्दा केही असन्तुष्टि पोखिएको प्रसङ्गबारे साम्पाङले निकै इमानदार जवाफ दिए। 

‘पार्टीभित्र महत्वाकांक्षाहरू हुन्छन्, हरेक मान्छे त्यागको भावनाले मात्र आएको हुँदैन,’ उनले भने, ‘राजनीतिक स्वार्थका कारण कतिले नेतृत्व लिन खोज्छन्। कतिपयको मन त दुखेको थियो त्यहाँ, देख्नु पनि भयो, जोगाउँदा जोगाउँदै पोखिइहाल्यो। तर पछि गएर मैले सम्हालेँ। म गलत निर्णय गर्दिनँ भन्ने मलाई लाग्छ।’ 

उनले ७ सिट ल्याएर राष्ट्रिय दल बन्नु र देशव्यापी वाहवाही पाउनुलाई जनताको ठूलो म्यान्डेटका रूपमा अर्थ्याए।

सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमाथि साम्पाङ पूर्ण सन्तुष्ट देखिएनन्। उनले यसमा केही अभाव भएको बताए। 

‘त्यसमा धेरै कुराहरू ल्याकिङ छ,’ उनले भने, ‘जस्तै हाम्रो सार्वभौमसत्ताको बारेमा के छ? हाम्रो स्वाधीनताको बारेमा के छ? सबै डिपार्टमेन्टल कामहरू त्यसमा छैनन्। राम्रो पनि भन्न मिलेन, नराम्रो पनि भन्न मिलेन, तर कार्यान्वयनमा कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरा मुख्य हो।’

संसदमा प्रतिपक्षका हिसाबले सरकारलाई हरेक पाइलामा प्रश्न गर्ने उनको भनाइ थियो। हामीले निर्वाचन परिणामपछि बालेनले साम्पाङको स्टाटसमा कमेन्ट गर्दै आइ लभ यू लेखेको प्रसंग पनि उप्कायौँ। 

जवाफमा उनले रमाइलो पारामा भने, ‘बालेनजीले फेसबुकमा आइ लभ यू लेखेको त मैले सुनेको छु, तर देखेको छैन। अब थुप्रै मान्छेले हाम्रो फोटो लगाएर के–के गरिरहेका हुन्छन्, त्यो कत्तिको आधिकारिक हो, मलाई थाहा छैन। चुनावको बेला त प्रतिपक्षी जस्तो बनेर एकअर्काको विरोध गरिन्छ, त्यो त खेलको नियम नै हो।’ 

बालेनसँगको सम्बन्धलाई राजनीतिक इमानदारिताको कसीमा हेर्नुपर्ने उनको आशय थियो। पुराना र ठूला भनिएका दलहरूले श्रम संस्कृति पार्टीको उदयलाई निकै इर्ष्याका साथ हेरेको साम्पाङको बुझाइ छ। 

उनले भने, ‘हामी जनताको म्यान्डेट पाएर आएका हौँ, कुदेर एक्लै रहर गरेर आएको होइन। ७ सिट ल्याएर राष्ट्रिय दल बन्नु सानो कुरा होइन। कतिलाई यो कुरा पचेको छैन, त्यसैले आलोचना गरिरहेका छन्। तर हामी देश र जनताको पक्षमा, स्वाधीनताको पक्षमा सधैँ उभिन्छौँ। सरकारका राम्रा कामलाई समर्थन गर्छौं तर गलत ट्रयाकमा जान लागे खबरदारी गर्छौँ नै।’

प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीले पनि चासो देखाएको छ। पार्टी अध्यक्ष साम्पाङले उपसभामुख चयनको विषयमा आफ्नो पार्टी र संसदीय दलभित्र आन्तरिक छलफल भइरहेको संकेत गरेका छन्। रास्वपाले यसबारे प्रस्ताव गरेको हो भन्ने जिज्ञासामा साम्पाङले स्पष्ट रूपमा स्वीकार नगरे पनि अप्रत्यक्ष रूपमा संवाद भइरहेको बुझिने गरी जवाफ दिए। 

उनले ‘भित्र केही न केही भइरहेको’ र यसबारे आफ्ना सांसदहरूसँग थप बुझ्ने काम भइरहेको उल्लेख गर्दै उपसभामुख पदमा आफ्नो पार्टीको सम्भावित दाबी र रास्वपाको चासोबारे ढोका खुल्ला रहेको संकेत दिएका छन्।

बाँकी के–के भने, हेर्नुहोस् हर्क साम्पाङ​सँग गरिएको भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’:

फोटो/भिडिओ : सरोज नेपाल
 

चैत १६, २०८२ सोमबार २१:५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad