राजनीति


कोसी-कर्णालीका सांसदसँग बालेनका ४ घण्टा : पहिलो वर्ष सुशासन, त्यसपछि विकासको वाचा

ओली र लेखकको रिहाइको माग सुने, जवाफ दिएनन्
कोसी-कर्णालीका सांसदसँग बालेनका ४ घण्टा : पहिलो वर्ष सुशासन, त्यसपछि विकासको वाचा

लोकेन्द्र भट्ट
चैत १६, २०८२ सोमबार १९:०, काठमाडौँ

कोसी प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसद आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बैठक हलमा पुगे। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ करिब २० मिनेटपछि बैठक हलमा आएर कुर्सीमा बसे। प्रधानमन्त्री शाहले भने, ‘जिल्लामा तत्काल गर्नुपर्ने के के समस्या छन्? ती समस्या भन्नुहोस्। अब बजेट भाषण आउँदैछ। त्यतिबेला दीर्घकालीन विषयमा कुराकानी गरौँला।’ 

प्रधानमन्त्री शाहको बायाँतिरको पहिलो नम्बरमा बसेकी सांसद इन्दिरा रानामगरबाट सांसदले धारणा राख्ने क्रम सुरु भयो। 

रास्वपा सांसद गणेश कार्कीका अनुसार सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका तत्कालीन समस्याहरू सुनाएका थिए। 

‘हामी सबै सांसदले आआफ्नो निर्वाचन क्षेत्रका कुरा राख्यौँ। कोसी प्रदेशको समग्र विकासको सम्भावनाबारे पनि कुराकानी भए। प्रधानमन्त्रीले सबै कुरा गम्भीर रुपमा सुन्नुभयो,’ उनले नेपालखबरसँग भने। 

कांग्रेस सांसद नरेन्द्र केरुङले कोसी प्रदेशका विकासमा केन्द्रित रहेर कुराकानी भएको बताए। 

उनले नेपालखबरलाई भने, ‘हामीले आफ्ना निर्वाचन क्षेत्रका सबै कुरा राख्यौँ। उहाँले सुन्नु मात्र भयो। धेरै कुरा बोल्नु भएन।’

एमाले सांसद राजेन्द्र राईले भने निर्वाचन क्षेत्रको समस्यासँगै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउको विषय उठाए। 

‘तपाईंहरू राम्रो काम गर्नुहोस्। देश विकास गर्नुहोस्। तपाईंहरूलाई शुभकामना छ, बधाई छ। गरिबी न्यूनीकरण गर्नुहोस्, सुशासन कायम गर्नुहोस्। जनताको आम्दानी बढाउनुहोस्,’ राईले बैठकमा भने। 

उनले समाजिक र आर्थिक रुपान्तरणका लागि देशमा शान्तिको आवश्यक रहेको भन्दै प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराए। 

उनले भने, ‘शान्ति कायम भएन भने देशमा सामाजिक र आर्थिक रुपान्तरण सम्भव छैन। नेपालमा प्रजातन्त्रको स्थापना भइसकेपछि दलहरू मिलेर गएका छन्। यो एउटा सुन्दर पक्ष थियो। जेनजी आन्दोलनपछि तपाईंलाई जनताले जनमत जाहेर गरे। देश राम्रो बाटोमा गइरहेको बेलामा तपाईंहरूले पूर्वाग्रह राखेर, राजनीतिक प्रतिशोध साधेर हाम्रो पार्टी अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गर्नुभयो। दुःख दिनुभयो। यो खेदजनक छ। तत्काल रिहाइ गर्नुहोस्।’

ओली र लेखकको रिहाइ नगरिए मुलुकको विकास सम्भव नहुने उनको भनाइ थियो। 

सांसद राईले नेपालखबरसँग भने, ‘उहाँहरूलाई रिहाइ गरिएन भने मुलुकको विकास सम्भव छैन। किनभने हामी आन्दोलनमा उत्रिएका छौँ। जनतालाई अपिल गरेका छौँ। यसका लागि गम्भीर हुन प्रधानमन्त्रीजीलाई आग्रह छ भनेँ।’ 

श्रम संस्कृत पार्टीका सांसदले बहिस्कार गरेको छलफलमा सांसदहरूले धारणा राख्दा करिब ३ घण्टा समय बित्यो। सांसदहरूको कुरा सुनेपछि प्रधानमन्त्री शाहले सामाजिक न्यायका आधारमा बजेट बाडफाँट हुने बताए। 

‘म महोत्तरीमा जन्मिएको काठमाडौँको मेयर भएँ। अहिले झापाबाट जितेको छु। तपाईंहरूले शंका मान्नुपर्दैन। सुशासनका लागि एक वर्ष लाग्छु। त्यसपछि विकास निर्माणका लागि लाग्छु,’ प्रधानमन्त्री शाहले भने। 

ओली र लेखकको रिहाइको आग्रहबारे प्रधानमन्त्री शाहले कुनै प्रतिक्रिया नदिएको राईले बताए। 

‘मैले कुरा राख्दा सुन्नुभयो। तर, जवाफ दिँदा त्यो विषयमा प्रवेश नै नगरी हिँड्नुभयो,’ राईले भने। 

कोसी प्रदेशका सांसदसँगको छलफलपछि प्रधानमन्त्री शाहले कर्णाली प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदसँग संवाद गरे। प्रधानमन्त्री शाहसँगको भेट अत्यन्त सकारात्मक, फलदायी र ऊर्जावान रहेको राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बताए। 

उनका अनुसार भेटवार्तामा कर्णाली प्रदेशसहित सम्पूर्ण नेपालको समग्र तथा दिगो विकासका लागि विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको थियो।

विकासका आधारभूत संरचना सुदृढीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगजस्ता बुँदाहरूमा विशेष जोड दिइएको उनको भनाइ छ।

‘कर्णालीको समावेशी विकासमार्फत राष्ट्रिय समृद्धिमा टेवा पु‍र्‍याउने स्पष्ट दृष्टिकोण पनि राखिएको छ। यो भेटले सकारात्मक सहकार्य र भविष्यका लागि आशा जगाउने महत्वपूर्ण आधार तयार गरेको छ,’ उनले भने।

कर्णालीबाट निर्वाचित सांसदले बजेटमा कर्णालीलाई विभेद नगर्न आग्रह गरेपछि प्रधानमन्त्री शाहले विगतमा जेजस्तो भए पनि अब विकास निर्माणमा कर्णालीलाई विभेद नहुने बताए। 

‘बजेटमा कर्णालीलाई विभेद हुँदैन, न्याय नै हुन्छ,’ शाहले भने। 

छलफलमा सहभागी सल्यानका सांसद रमेश मल्लका अनुसार सांसदहरूले सडक पूर्वाधार, स्वास्थ्य बीमा, मातृशिशु पोषण, दैलेख पेट्रोलियम अनुसन्धान, वन्यजन्तुबाट हुने जोखिम व्यवस्थापन, साथै सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ, कृषि, शिक्षा, वन, पर्यटन आदि क्षेत्रबारे धारणा राखेका थिए। कर्णालीका सांसदलाई २ घण्टा कुराएका प्रधानमन्त्री शाहले करिब ४५ मिनेटमा छलफल टुंग्याएका थिए।

४४ मिनेट सांसदले आफ्ना धारणा राख्दा प्रधानमन्त्री शाहले १ मिनेटमा सम्बोधन गरेर छलफल टुंग्याएको नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले नेपालखबरलाई बताए।

उनले भने, ‘पहिले जस्तो हुँदैन। बजेट बनाउँदा हामी सन्तुलित बनाउछौँ। केही समस्या भयो भने सचिवालयमा टिपाइदिनुहोस्। छलफलमा आइदिनुभयो धन्यवाद भनेर बैठक सकियो।’

कर्णालीका सांसदसँगको छलफलपछि प्रधानमन्त्री शाह मन्त्रिपरिषदको बैठकका लागि निस्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad