राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार तुरुन्तै ‘एक्सन’को मुडमा देखिएको छ। मन्त्रिपरिषद् गठनको पहिलो दिनदेखि नै जेनजी आन्दोलनको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने, पुराना भ्रष्टाचारका फाइल खोल्ने र उच्च पदस्थहरूलाई कानुनी दायरामा ल्याउने रास्वपाको सक्रियताले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ।
प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि यसलाई एमाले र कतिपय कांग्रेसका नेताहरूले ‘राजनीतिक प्रतिशोध’को आरोप लगाइरहेका छन्। तर, दाङ–३ का सांसद एवं रास्वपाका प्रशिक्षण विभाग सचिव कमल सुवेदीले सरकारको कदम कुनै व्यक्तिप्रति लक्षित प्रतिशोध नभई विधिको शासन स्थापना गर्ने प्रयास भएको बताएका छन्।
ओली, लेखक लगायतका नेताहरूको पक्राउलाई लिएर सडकमा भइरहेको प्रदर्शन र प्रतिशोधको आरोपबारे स्पष्ट पार्दै नेपालखबर ‘तत्कालै’मा उनले भने, ‘हाम्रो चुनावी वाचापत्रको दोस्रो बुँदामै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने उल्लेख थियो। यो कुनै रातारात उब्जिएको हतारो होइन, बरु जनतासँग गरिएको वाचाको इमानदार कार्यान्वयन हो।’

कसैलाई विभेद नगरिने समेत उनले प्रस्ट पारे।
‘कानुनको नजरमा सबै समान छन्,’ उनले भने, ‘विगतमा हाम्रा सभापति रवि लामिछानेमाथि जुन किसिमको व्यवहार गरियो, त्यो प्रतिशोध थियो। तर, अहिले रास्वपाले गरेको काम विधिको शासन र थिति बसाल्नका लागि हो। हामी प्रतिशोधमा होइन, परिणाममा विश्वास गर्छौं।’
बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्ययोजना रास्वपाको मुख्य प्राथमिकता रहेको सुवेदीले बताए। मन्त्रालयको संख्या घटाएर १७ मा झार्नु, सेवा प्रवाहलाई डिजिटल बनाउनु र भ्रष्टाचार नियन्त्रणमा निर्मम हुनु यसका मुख्य पाटा हुन्।
‘यो कार्ययोजना वस्तुपरक छ र यसको समयसीमा तोकिएको छ। जनताले १०० दिनभित्र सरकार भएको अनुभूति गर्नेछन्,’ उनले दाबी गरे।
नेपालमा सुशासन कायम गर्न देखिएका चुनौतीबारे चर्चा गर्दै सुवेदीले २०४६ सालपछिको राजनीतिक संयन्त्र नै भ्रष्टाचारको जालोमा जेलिएको टिप्पणी गरे। नीति, संरचना र नियत–यी तीनै कुरामा सुधार नआएसम्म भ्रष्टाचार अन्त्य नहुने उनको तर्क छ। कर्मचारीतन्त्र (ब्युरोक्रेसी) मा रहेका छिद्रहरू टाल्न र अनावश्यक संरचना खारेज गर्न सरकार लागिपरेको उनले बताए।

सांसद सुवेदीले संसद्मा आफ्नो भूमिका केवल ताली पड्काउने वा विरोध गर्ने मात्र नभई प्रभावकारी कानुन निर्माणमा केन्द्रित हुने बताए। रास्वपाले एउटा नयाँ मोडेलको अभ्यास गरिरहेको छ– जहाँ सांसदहरूले सम्बन्धित मन्त्रालयहरूमा ‘सपोर्ट सिस्टम’ को रूपमा काम गर्छन्। ०७९ मा गरिएको यो अभ्यास यसपटक झन् प्रभावकारी हुने हिसाबले गर्ने तयारी भइरहेको उनले संकेत गरे।
‘यसले मन्त्रीहरूलाई नीतिगत र व्यावहारिक सुझाव दिन मद्दत पुग्ने र सरकारको काममा चुस्तता आउने छ,’ उनले भने।
सुवेदीले रास्वपाको सरकार पदका लागि नभई, सेवा र सुधारका लागि भएको जिकिर गरे।
‘हामी थिति बसाल्ने संकल्पमा छौँ, जसमा आफ्नै पार्टीका नेता परे पनि हामी पछि हट्दैनौँ,’ उनले भने।
हेर्नुहोस् कमल सुवेदीसँग गरिएको भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’:
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया