नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला पक्षले नवनिर्वाचित सांसदका लागि बधाई कार्यक्रम राखेको छ।
सोमबार दिउँसो १ बजे महाराजगञ्जको स्मार्ट होटलमा कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई बधाई कार्यक्रम राखेको हो। पार्टीका वरिष्ठ नेताहरूले बधाई दिनका लागि बोलाएको सांसद निस्कल राइले बताए। ‘वरिष्ठ नेताहरूले बधाई कार्यक्रम राख्नु भएको छ। हामी जान्छौँ,’ राईले नेपालखबरलाई भने।
कांग्रेस सांसद गीता गुरुङले पनि बधाई कार्यक्रममा बोलाएको बताइन्। शनिबार कांग्रेसले पार्टी कार्यालय सानेपामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका नवनिर्वाचित सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम आयोजना गरेर अभीमुखीकरण तालिम दिएको थियो।
त्यसलाई काउन्टर हुने गरी पूर्णबहादुर खड्का र कोइरालाले सोमबार बधाई कार्यक्रम राखेको देखिन्छ। कांग्रेसको खड्का र कोइराला समूहले समान्तर गतिविधि अगाडि बढाएको छ।
शनिबार बिहान एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति निकालेका थिए। कांग्रेसले ‘कार्यवाहक सभापति’का रूपमा खड्काले विज्ञप्ति जारी गरेको विषयलाई गम्भीर रूपमा लिएको छ।
गत पुस मसान्तमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन भएपछि कांग्रेस दुई भागमा विभाजित भएको छ। विशेष महाधिवेशनले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाको कार्यसमिति भंग गरी थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन थियो।
निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध देउवा र खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यस रिटमा चैत २२ गते सर्वोच्च अदालतमा पेसी तोकिएको छ।
गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा थापाको नेतृत्व स्वीकारेको देउवा समूहले अहिले समान्तर गतिविधि अगाडि बढाएको संस्थापन पक्षको आरोप छ। देउवा र शेखर कोइराला समूहले केही दिनअघि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यासम्पादन समितिको नाममा बैठक गरेको थियो।
सांसदलाई बधाइ कार्यक्रम राखेर संस्थापन पक्षलाई काउन्टर दिने रणनीति बनाएका देउवा-कोइराला समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक पनि बोलाएको छ। महाराजगञ्जको होटल स्मार्टमा चैत १८ गते दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक, सरकारको धरपकड र चुनावी परिणामको समीक्षा हुने देउवा-कोइराला समूहका नेताको भनाइ छ।
यता कांग्रेसले चैत १८ गते नै अनुशासन समितिको जरुरी बैठक बोलाएको छ। कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले फागुन २१ को निर्वाचनमा भएको अन्तर्घात र समानन्तर गतिविधिबारे बैठकमा छलफल हुने नेपालखबारलाई बताए। ‘हामी नियमित छलफल गरिरहेकै छौँ। १८ गते औपचारिक बैठक बसेर निर्वाचनमा अन्तर्घात गर्ने र अहिले पार्टीको विधान र विधिभन्दा बाहिर रहेको पगरी जिम्मा लिएको छलफल हुन्छ,’ गुरुङले भने।
Shares

प्रतिक्रिया