राजनीति


सुधन गृहमन्त्री बनेपछि जेनजी अगुवाका अनेक कटाक्ष

सुधन गृहमन्त्री बनेपछि जेनजी अगुवाका अनेक कटाक्ष

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १६:४३, काठमाडौँ

मलाई त जुनै मन्त्रालय दिए पनि काम गर्न सक्छु। मलाई चाहिने भनेको अलि च्यालेन्जिङ मन्त्रालय हो, अनि पो काम गर्न मजा आउँछ, आफ्नो पर्फमेन्स देखाउन सकिन्छ।

केही समयअघि सुधन गुरुङले नेपालखबरसँगको कुराकानी यी भनाइ राखेका थिए। नभन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गुरुङलाई गृह मन्त्रालयका जिम्मेवारी दिएका छन्। गृहमन्त्री बनेपछि गुरुङ फेरि चर्चामा आएका छन्। 

यसअघि उनी जेनजी आन्दोलनबाट चर्चामा आएका थिए। जेनजी आन्दोलनपछि चुनावी सरकार गठनका बेला विभिन्न निर्णय प्रक्रियामा सहभागी पनि भएका थिए। त्यतिबेला कतिले विरोध गरेका थिए भने कतिले समर्थन गरेका थिए। 

अहिले गृहमन्त्री भएपछि पनि केही जेनजी अगुवाले कटाक्ष गरेका छन् भने केहीले समर्थन जनाएका छन्। जेनजी अगुवा तनुजा पाण्डेले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘चेतन भगत भन्छन्- जब तपाई कक्षाको सबैभन्दा शरारती मान्छेलाई मनिटर बनाउनुहुन्छ, उसले सबैभन्दा राम्रो व्यवहार गर्छ।’

त्यस्तै अर्का जेनजी अगुवा प्रज्ञान सुवेदीले लेखेका छन्, ‘बालेनको ८-१० दिनको गृहकार्यको नतिजा सुधन गुरुङ गृहमन्त्री? योभन्दा राम्रो होमवर्क त मैले स्कुलमा हुँदा गर्थे!’ 

केही जेजनी अगुवाले समर्थन पनि गरेका छन्। उनीहरूले जिम्मेवारी सम्हाल्नु अगावै योग्य-अयोग्य भनेर बाठो पल्टिनु उचित नभएको पनि भनेका छन्।  

जेनजी अगुवा उपार्जुन चाम्लिङले उनको पक्षमा उभिएका छन्। चाम्लिङले लेखेका छन्, ‘पद बहाली नहुँदै योग्य र अयोग्य भन्न धेरै हतार हुन्छ।’ 

प्रतिनिधि सभाको चुनावको केही समयअघिसम्म राजनीतिमा जाने कि नजाने भनेर गुरुङ अन्योलमा थिए। अन्तिम समयमा गोरखा-२ बाट उम्मेदवारी दिएका थिए। उनी ठूलो मतान्तरले सांसद निर्वाचित भए। 

चुनाव जितेसँगै उनी सक्रिय पनि भएका थिए। कहिले आफ्नो निर्वाचन क्षेत्रमा टावर थप्न नेपाल टेलिकमको कार्यालय धाउने त कहिले नवनिर्मित संसद् भवनको अवलोकनमा पुग्ने गरेका थिए। त्यतिवेला पनि उनलाई लिएर पक्ष र विक्षमा टिप्पणी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad