राजनीति


बालेन सरकारमा बागमतीका पाँच मन्त्री

बालेन सरकारमा बागमतीका पाँच मन्त्री

सुनिता विष्ट
चैत १३, २०८२ शुक्रबार १४:४४, हेटौंडा

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्मा बागमती प्रदेशका पाँच जना मन्त्री बनेका छन्। 

बागमती प्रदेशको तीन जिल्लाबाट निर्वाचित भएका पाँच सांसद मन्त्रिपरिषद्मा अटाएका हुन्। काठमाडौँबाट तीन, नुवाकोटबाट एक र चितवनबाट एक जना मन्त्री बनेका छन्। 

काठमाडौँ-५ मा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र नेकपा (एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेललाई पराजित गर्दै सांसद बनेका सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री बनेका छन्। शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा पोखरेल शिक्षा विज्ञ सल्लाहकारको भूमिका थिए। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उनले ३० हजार ७३७ मत प्राप्त गरेका थिए भने एमालेका पोखरेलले चार हजार ७०१ र कांग्रेसका पौडेलको ९ हजार १५९ मत ल्याएका थिए। 

यस्तै, काठमाडौँ-६ बाट निर्वाचित भएका शिशिर खनाल परराष्ट्रमन्त्री बनेका हुन्। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका खनाल छोटो समय शिक्षामन्त्री समेत बनेका थिए। खनाल कांग्रेस नेता कृष्ण बानियाँ सबुज र एमालेका नेता अमनकुमार मास्केलाई भारी मतान्त्रले पराजित गर्दै सांसद बनेका थिए। 

काठमाडौँ-८ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सुमन सायमीलाई २१ हजार मतान्तरले पराजित गर्दै सांसद बनेका विराजभक्त श्रेष्ठ उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बनेका छन्। २०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका श्रेष्ठ खेदकुदमन्त्री बनेका थिए। त्यतिबेला उनले खेल क्षेत्रमा सन्तोषजनक काम गरेका थिए। 

त्यस्तै, नुवाकोट-१ बाट कांग्रेसका प्रभावशाली नेता प्रकाशरण महतलाई पराजित गर्दै विजयी भएका डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका छन्। नेपालदेखि अस्ट्रेलियासम्म सञ्चारकर्मको अनुभव बटुलेका तिमिल्सनाले विषयविज्ञ मन्त्रालय प्राप्त गरेका हुन्। 

उनले रेडियो सगरमाथामा करिब ९ वर्ष कार्यक्रम उत्पादक तथा प्रस्तोताको रूपमा काम गरेका थिए। एक दशकअघि सञ्चारकर्म छोडेर उच्च शिक्षाका लागि अस्ट्रेलिया पुगेका उनी केही वर्षअघि मात्रै नेपाल फर्किएका हुन्। 

तर उनले त्यहाँ पनि अध्ययनसँगै पत्रकारितालाई पनि अघि बढाएका थिए। उनले अस्ट्रेलियाबाट सञ्चालन हुने नेपाल एक्सप्रेसमा कार्यकारी सम्पादकको भूमिका निर्वाह गरेका थिए। त्यस्तै, सिड्नीबाट सञ्चालन हुने साउथ एसिया डटकम डट एयू समाचार पोर्टलमा सम्पादकीय सल्लाहकारको रूपमा पनि काम गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेका छन् भने अस्ट्रेलियाबाट राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी हासिल गरेका छन्।

चितवन-३ मा नेकपाकी उम्मेदवार रेणु दाहाललाई पराजित गरेर चर्चा कमाएकी सोबिता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेकी छन्। गौतम २०७९ सालको निर्वाचनमा काठमाडौँ-२ बाट निर्वाचित भएकी थिइन्।

यो पटक यस क्षेत्रमा प्रधानमन्त्री शाह निकटका सुनिल केसीलाई टिकट दिएपछि गौतम चितवन-३ मा झरेकी थिइन्।  भरतपुर महानगरपालिकामा दुई कार्यकाल बसेर विकास निर्माणका गरेर प्रशंसा बटुलेकी दाहाललाई पराजित गर्दै रास्वपा नेत्री गौतम सा‌ंसद बनेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad