राजनीति


शुभसाइतमा एक मिनेट तलमाथि नगरी हुँदैछ प्रधानमन्त्रीमा बालेनको शपथ, शीतल निवासमा यस्तो छ तयारी

शुभसाइतमा एक मिनेट तलमाथि नगरी हुँदैछ प्रधानमन्त्रीमा बालेनको शपथ, शीतल निवासमा यस्तो छ तयारी

नेपालखबर
चैत १३, २०८२ शुक्रबार ९:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज नेपालको नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। 

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी राष्ट्रपति कार्यालयले गराउने छ। 

बालेन नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार रास्वपाको एकल  बहुमतबाट प्रधानमन्त्री नियुक्त हुन लागेका हुन्। 

पूर्व निर्धारित साइतअनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार दिउँसो ठिक १२ बजेर ३४ मिनेट जाँदा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ। शपथ ग्रहण कार्यक्रम एक सेकेन्ट पनि तलमाथि नगरि ठिक सयममै गर्ने तयारी गरिएको छ। 

बालेनलाई प्रधानमन्त्रीमा शपथको लागि आज रामनवमीको दिन साइत जुराइएको हो। 

शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंकनाद गरिने छ। त्यस्तै, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने छ।

प्रधानमन्त्रीको शपथ लिएपछि दिउँसो पद बहालीको कार्यक्रम तय गरिएको छ। शुक्रबार दिउँसो २ बजेर १५ मिनेट जाँदा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने तय गरिएको हो।

शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ।

प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा झण्डै दुई हजार जनाको उपस्थिति रहने अनुमानको आधारमा तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

प्रधानमन्त्रीमा बालेनको शपथलगत्तै मन्त्रीहरूको पनि शपथ गराउने तयारी रास्वपाले गरेको छ। 

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइ नजिक १८२ सिट जितेको छ।

रास्वपाले हिजो मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरेको थियो।

आजै मन्त्रीहरू पनि नियुक्त गर्ने तयारी रास्वाको छ। 

आजै बस्ने मन्त्रिपरिषद् बैठकले विकास र सुशासनसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने तयारीसमेत भएको बताइएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी जस्ता विषयलाई प्राथमिकता दिएर सरकारको मार्गचित्र तयार गरिने रास्वपाले जनाएको छ।  

तर, रास्वपाले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भने अझै सार्वजनिक गरेको छैन। आजै १५ जनाभन्दा धेरै मन्त्रीसमेत नियुक्त गर्ने तयारी भइरहेको रास्वपाले जनाएको छ। 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाह झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मतसहित एमाले अध्यक्ष केपी ओलीलाई पराजित गर्दै विजयी भएका थिए।  

३५ वर्षकै उमेरमा प्रधानमन्त्री नियुक्त हुन लागेको शाह काठमाडौँ महानगरपालिकाका पूर्वमेयर हुन्। 

शाहको जन्म १४ वैशाख २०४७ मा काठमाडौँको नरदेवीमा भएको हो। उनी हाल काडमाडौँको गैरिगाउँमा बस्दै आएका छन्। 

उनी आयुर्वेदिक चिकित्सक डा.रामनारायण साहका र धुव्रादेवी साहका सन्तान हुन्।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिनअघि मात्रै उनले मेयरबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरेका थिए। 

रास्वपा शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा गएको थियो। 

उनको पुख्र्यौली गाउँ महोत्तरी जिल्लाको एकडारा हो। निर्वाचन प्रचारको क्रममा उनी एकपटक आफ्नो पुख्र्यौली गाउँ पनि पुगेका थिए। 

शाहले काठमाडौँ नरदेवीस्थित जल्जला स्कुलबाट प्रारम्भिक शिक्षा लिएका थिए। उनले उच्च माध्यमिक तहको शिक्षा भने भिएस निकेतनबाट लिएका हुन्। 

शाहले स्नातक तहको अध्ययन काठमाडौँमै रहेको हिमालयन ह्वाइट हाउस कलेजबाट पूरा गरेका हुन्। त्यहाँबाट उनले सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए। शाहले स्नातकोत्तर तहको अध्ययन भने भारतको कर्नाटकबाट  गरेका हुन्। 

स्ट्रकचरल इन्जिनियरिङ अध्ययन पूरा गरेका शाहले २०७२ सालको भूकम्पपछि देशका विभिन्न स्थानमा पुगेर पुनःनिर्माणको काममा पनि संलग्न भएका थिए। 

 कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत भएर काम गरेका शाह ¥याप ब्याटल गायक पनि हुन्। हिजो मात्रै उनले ‘जय महाकाली’ गीतसमेत सार्वजनिक गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad