राजनीति


बिदा हुँदै पर्यटनमन्त्री सिन्हाले भने: पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सकिनँ

बिदा हुँदै पर्यटनमन्त्री सिन्हाले भने: पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सकिनँ

नेपालखबर
चैत १२, २०८२ बिहिबार १५:२०, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री अनिलकुमार सिन्हाले चाहेर पनि पोखरा र भैरहवा विमानस्थललाई सञ्चालनमा ल्याउन नसकेको बताएका छन्।

बिहीबार कानुन मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन नसकिएको स्वीकार गरेका हुन्।

पर्यटन मन्त्रालय आफूले सम्हाल्दै गर्दा अत्यन्त अव्यवस्थित अवस्थामा पाएको उनले बताए। उनले ठूला पूर्वाधार निर्माण भएपनि तिनलाई सञ्चालन गर्ने स्पष्ट र कार्यान्वयनयोग्य योजनाको अभाव रहेको बताए। 

आफू मन्त्री भएपछि पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि कार्ययोजना र सुझाव तयार पारिएको उनको भनाई छ।

मन्त्री सिन्हाले भने,‘पोखरा र भैरहवा विमानस्थलको कुरा आयो। विराटनगर र नेपालगञ्जको विमानस्थलको बारेमा अहिलेसम्म कुरा उठाउनु भएको छैन। हामीले यति ठूला संरचना त्यहाँ बनाएका छौँ कि त्यसलाई चलाउने कसरी भन्ने कुराको निश्चित र कार्यन्वयनयोग्य कार्ययोजना मैले फेला पार्न सकिन। त्यो विगतमा भएका केही सुशासनको अपवाद देखेँ मैले तिनिहरू, त्यसको म पिडा लिएर नै जान्छु। पोखरा र भैरहवा विमानस्थललाई चलाउनको लागी हामीले केही कार्ययोजनाहरु बनाएका छौँ, केही सुझावहरु दिएका छौँ तर ठोस रुपमा काम हामीले अगाडी बढाउन सकेका छैनौँ।’

कार्ययोजना बनाएपनि निर्वाचनको कारण ठोस रूपमा कार्यान्वयनमा ल्याउन नसकेको उनले उल्लेख गरे। उनले युरोपियन युनियनको कालोसूचिमा रहेको नेपालको हवाई क्षेत्रलाई कालोसूचिबाट हटाउन आवश्यक सुधारको काम थालिएको पनि जानकारी दिए।

उनकाअनुसार नागरिक उड्डयन प्राधिकरण सुधारको मार्गमा अघि बढ्न थालेको छ। युरोपियन युनियनकाका आवासीय राजदूतले पनि नेपाललाई कालोसूचिबाट हटाउनेमा सकरात्मक जवाफ दिएको मन्त्री सिन्हाको भनाई छ।

उनले हवाई सुरक्षामा सुधार ल्याउन काठमाडौँमा हेलिकप्टर चालकका लागि आवश्यक तालिम सञ्चालन गरिएको पनि जानकारी दिए। यसअघि यस्तो तालिमका लागि विदेश जानुपर्ने बाध्यता रहेको थियो। स्वदेशमै तालिम उपलब्ध हुनु महत्वपूर्ण उपलब्धि भएको उनको भनाई छ।

उड्डयन क्षेत्र सुधारको प्रक्रिया शुरु भइसकेको उल्लेख गर्दै उनले आगामी सरकारले निरन्तरता दिएमा हवाई सुरक्षासम्बन्धी समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरे।

पशुपति क्षेत्रविकास कोष, लुम्बिनी विकास कोषलाई सुधार गर्न पनि कार्ययोजना बनाएको उनले जानकारी दिए। उनले आगामी सरकारलाई धेरै सहयोग हुनेगरी काम गरेको बताए। वर्तमान सरकारले धेरै उपलब्धी हासिल नगरेपनि सकारात्मक वातावरण बनाइदिने काम गरेको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad