उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकबाटै सरकार चलाउने बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उनले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने बताएका हुन्।
मुलुकको राष्ट्रियता, विद्यमान समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आफ्नो पार्टीले सडकबाटै सशक्त भूमिका निर्वाह गर्ने घिसिङको भनाई थियो। उनले देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारी गर्ने प्रतिवद्धता जनाए।
उनले भने, ‘उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर हामीलाई म्यान्डेट दिएको छ। हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ। सडकको सरकार उज्यालो नेपाल पार्टीको हुनेछ। सडकबाट पनि यो देशको समस्या, यो देशमा भएका विभेद र यो देशलाई समृद्धितिर लैजानकालागि सशक्त भुमिका हामीले निभाउनेछौँ। यो देशको राष्ट्रियता, यो देशको समृद्धि र समस्याको विषयमा हामीले सशक्त रुपले सडकबाट खवरदारी गर्नेछौँ। राम्रा कुरालाई समर्थन गर्नेछौँ। नराम्रा, खराब कुरालाई खवरदारी गर्दै देशलाई सही बाटोमा अगाडि बढाउनका लागि हामी सशक्त रुपमा अगाडि बढ्नेछौँ।’
अध्यक्ष घिसिङले आफ्नो पार्टी जनताको घरदैलोमा पुग्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नेपालको सशक्त पार्टीको रुपमा उदय हुने जिकिर समेत गरे।
उनले प्रतिनिधि सभा निर्वाचनमा थोरै समय भएका कारण आफ्नो पार्टीले हार व्यहोर्नुपरेको निष्कर्ष पनि सुनाए।
Shares

प्रतिक्रिया