राजनीति


प्रधानमन्त्रीका साथमा तीन मन्त्री मात्र, अरू जानै छाडे सिंहदरबार

सबैभन्दा पहिले मुख्य सल्लाहकारले नै दिए राजीनामा
प्रधानमन्त्रीका साथमा तीन मन्त्री मात्र, अरू जानै छाडे सिंहदरबार

नेपालखबर
चैत १०, २०८२ मंगलबार १४:१९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीलाई तीन मन्त्रीले मात्रै अन्तिमसम्म साथ दिने भएका छन्। अरू मन्त्री र आफ्नै सल्लाहकारले समेत भटाभट छाड्न थालेका छन्।

प्रधानमन्त्रीका तीन सल्लाहकारमध्ये दुई जनाले राजीनामा दिइसकेका छन्। अब प्रधानमन्त्रीसँग प्रेस सल्लाहकार रामबहादुर रावल मात्रै सक्रिय छन्। 

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले फागुन २७ गते नै राजीनामा दिइसकेका छन् भने यसपछि जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमल्सिनाले चैत २ गते राजीनामा दिए। 

यस्तै अर्थमन्त्री रामेश्वर खनालसहित अधिकांश मन्त्रीहरू पनि सिंहदरबार आउन छाडिसकेका छन्। प्रधानमन्त्रीसँग नियमित काममा अहिले गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग मन्त्री अनिल सिन्हा, परराष्ट्रमन्त्री बालानन्द शर्मा मात्रै छन्।

कृषि तथा पशुपक्षी विकास मन्त्री मदन परियार र वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंको पनि सक्रियता घटेको छ। उनीहरू आक्कलझुक्कल मात्रै मन्त्रालय पुगे पनि सक्रिय छैनन्। प्रधानमन्त्रीसँग अहिले गृहमन्त्री र परराष्ट्र मन्त्रीले मात्रै नियमित सम्पर्क र समन्वय गरिरहेका छन्।

अर्थमन्त्री रामेश्वर खनालले चार दिन पहिले नै आफ्नो कुलिङ पिरियड सुरु भएको बताइसकेका थिए। त्यसपछि उनी मन्त्रालय गएका छैनन्, पश्चिम नेपाल घुमफिरमा छन्। 

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी पनि निर्वाचनपछि दुई दिन मात्रै मन्त्रालय गएका छन्। मन्त्री भण्डारी सात दिनपछि सोमबार एकछिन मन्त्रालय पुगेका थिए। 

मन्त्री भण्डारीले भने, ‘हाम्रो काम भनेको निर्वाचन सम्पन्न गराउने हो। निर्वाचन सम्पन्न भइसकेपछि मेरो के काम त्यहाँ? अहिले म बाहिरतिर घुम्न निस्केको छु। अहिले स्थायी सरकार (निजामती कर्मचारी) ले हेर्छ, खाडीतिर के भइरहेको छ भन्नेमा मनिटरिङ गर्नेबाहेक अरू काम गरेको छैन। कार्यविधिहरू संशोधनलगायतको काम थियो। त्यो पनि अब नयाँ निर्वाचित सरकारले नै गर्छ भन्ने कुरा भयो। त्यो भइसकेपछि अब कुर्सीमा बस्न मात्रै किन गइराख्ने म?’

सहरी विकासमन्त्री कुमार इङनाम पनि गत बिहीबार नै बिदा भइसकेका छन्। उनलाई मन्त्रालयका कर्मचारीहरूले त्यस दिनको कार्यक्रममै बिदाइ गरे। तर मन्त्रालयको अन्तिम कार्यक्रममा इङ्नाम निकै असन्तुष्ट सुनिए। वन तथा वातावरण र भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईं पनि बाँकेमा छन्। उनी पनि सोमबारदेखि मन्त्रालयमा छैनन्। तर उनले आफू १२ गतेसम्म काममै रहने बताए। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पनि सोमबार बिदा लिइसकेकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम पनि आइतबार नै विदा भइसकेकी छन्। उनले आइतबार मन्त्रालयका सबै कर्मचारीलाई धन्यवाद दिएकी थिइन्। त्यसपछि अत्यावश्यक परे मात्रै मन्त्रालय आउने नभए नआउने गरी बिदा भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। 

प्रधानमन्त्री सुशीला कार्की भने नयाँ प्रधानमन्त्रीको शपथपछि मात्रै बालुवाटार छाड्ने तयारीमा छन्। नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने तय भइसकेको छ। प्रधानमन्त्री कार्कीले त्यसैदिन नयाँ प्रधानमन्त्रीलाई स्वागत गरेर बालुवाटारबाट बिदा हुने उनको सचिवालयले जानकारी दिएको छ।

१४ सदस्यीय मन्त्री मण्डल बनाएकी कार्कीका चार मन्त्री भने चुनाव पहिले नै बिदा भइसकेका थिए। उनीहरू चारै जना चुनावमा उम्मेदवार बन्न मन्त्रीबाट राजीनामा दिएका थिए। तीमध्ये तीन जना निर्वाचित भएर आएका छन्।

उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ भने काठमाडौँ क्षेत्र नं ३ बाट चुनावमा पराजित भए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन स्वतन्त्र उम्मेदवार बनेर म्याग्दीबाट निर्वाचित भएका छन्।  

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ललितपुर २ बाट र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता सिराहा १ बाट निर्वाचित भएका छन्। उनीहरू दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad