राजनीति


रवि लामिछानेलाई प्रधानमन्त्री कार्कीले भनिन्: सम्हालिएर अघि बढ्नू, इमानका साथ काम गर्नू

रवि लामिछानेलाई प्रधानमन्त्री कार्कीले भनिन्: सम्हालिएर अघि बढ्नू, इमानका साथ काम गर्नू

नेपालखबर
चैत ८, २०८२ आइतबार २१:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेट गरेका छन्।

सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे।

उनले भने, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु।’

उनले थपे, ‘यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो। विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ। सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ।’

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिइन्।

‘अहिले देश रोएको छ। तपाईँ युवाहरूसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्। तपाईँहरुले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ। चुनौती धेरै छन् तर सम्हालिएर अघि बढ्नू,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ। विरोध र आलोचना गर्नेहरुलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ।’ 

भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल पनि भएको थियो ।

सभापति लामिछानेले यो सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको पनि स्पष्ट पारे। 

‘सरकार भनेको सरकार नै हो। अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ। यो सरकारले गरेका निर्णयमा हाम्रो कुनै आपत्ति छैन,' उनले भने, ‘अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ। त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौँ।’

उनले अर्को सरकार नआउँदासम्म गर्न सकिने काम पूर्ण क्षमताका साथ गर्न पनि सुझाव दिए।

पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै उनले यी विषयमा पनि उचित कदम चाल्न  आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad