लामो समयदेखि तदर्थवादमा अल्झिएको नेपाल विद्यार्थी संघले आगामी वैशाख २० र २१ गते आफ्नो १२औँ महाधिवेशन गर्ने मिति तय गरेको छ।
नेविसंघ सभापति दुजाङ शेर्पाले पार्टी नेतृत्वले समयमै विधान उपलब्ध नगराउँदा महाधिवेशनमा ढिलाइ भएको दाबी गरे।
शेर्पाकाअनुसार ३२ वर्षे उमेर हदबन्दी लागू भएपछि महाधिवेशनको म्यान्डेट पाएको वर्तमान कमिटीले विधान परिमार्जन गरी पार्टीलाई बुझाएको एक वर्ष हुन लाग्दा पनि पार्टीले त्यो विधान फिर्ता दिएको छैन। यदि विधान समयमै पाएको भए सेप्टेम्बर ८ भन्दा अगाडि नै महाधिवेशन भइसक्ने उनजको भनाइ छ।
सभापति शेर्पाले आफूले कार्यकालको बीचमा पाँच पटकसम्म पार्टी नेतृत्वलाई राजीनामा बुझाएको तर नेतृत्वले ‘अधिवेशन गराएर मात्र छोड्नु’ भन्दै रोकेको बताए। उनले महाधिवेशन खर्चिलो हुने भ्रमलाई चिर्दै अत्यन्त कम खर्चमा भव्य अधिवेशन गर्ने योजना सुनाए।
यसका लागि विश्वभर छरिएका नेविसंघका पूर्व सदस्यहरूबाट पारदर्शी ढंगले कोष संकलन गरिने र पार्टीबाट आर्थिक सहयोग नलिइने उनले स्पष्ट पारे। अब विद्यार्थीले आफ्नो नेता र नीति आफैँ छान्ने बाटो खुलेको उनको दाबी छ।
उनले भने, ‘अब विद्यार्थीहरूले आफ्नो नेता आफ्नो नीति आफैं बनाउनेछन् भनेर अब हामी पनि लामो समय भयो लगभग–लगभग चार वर्ष भयो। र यो बीचमा मैले पाँच पटक पार्टीको लिडरसिपलाई मैले रिजाइन पनि मैले दिएको थिएँ।’
सभापति शेर्पाले विद्यार्थी नेताहरूले अब नेताहरूको झोला बोक्ने दिन सकिएको बताए।
Shares

प्रतिक्रिया