राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेसम्म कसलाई मन्त्री बनाउने निर्णय नभएको बताउँदै गुट बनाएर मिडिया ट्रायल नगर्न चेतावनी दिएका छन्।
बुधबार रास्वपाका नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले गुटमा नलाग्न सांसदलाई सचेत गराए। ‘अब कानुन निर्माताका रुपमा तपाईहरूको दौड स्वार्थ समूहको घरघरमा होइन। गुट बनाएर कांग्रेस एमालेलाई जितिँदैन साथीहरू हो,’ लामिछानेले भने, ‘कुनै गुट बनाउनु पर्दैन। घण्टीका मूनी सबै अटाउन सक्छौँ। घण्टीसँग त्यति तागत छ। कहिँ गुट बनाउनुपर्दैन।’
उनले सरकारमा सहभागितालाई लिएर पनि मिडिया ‘ट्रायल’ नगर्न नवनिर्वाचित सांसदलाई आग्रह गरेका छन्। उनले आफू केन्द्रित राजनीतिबाट माथि उठ्नुपर्नेमा बताएका छन्।
‘आफ्नो पोजिसन के हुन्छ, म कहाँ हुन्छु? मलाई के हुन्छ? पार्टीमा मेरो हैसियत के हुन्छ? संसद्मा मेरो हैसियत के हुन्छ? सरकारमा मेरो हैसियत के हुन्छ?,’ उनले प्रश्न गर्दै भने, ‘यो म केन्द्रित राजनीतिबाट माथि उठ्न सकिएन, जनता केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो हविगत पुराना राजनीतिक दलका नेताहरूभन्दा पनि बत्तर हबिगत हुन्छ।’
लामिछानेले देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए। आफ्नाभन्दा देश र समाजका सपनालाई बोक्नुपर्ने उनको भनाइ थियो।
‘यतिखेर देश केन्द्रमा छ। देशले देखेको सपना पूरा गर्ने हो। तपाई मेरो मन्त्री र प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले, यो समाजले बोक्दैन,’ उनले भने, ‘मेरो सपनाको भारी बोक्नका लागि यो समाज बाध्य छैन। तर, यो समाजको सपनाको भारी तपाई हामीले बोक्ने हो। त्यसका लागि तपाई हामीलाई मत दिएर पठाएका हुन्।’
उनले अहिलेसम्म कसलाई मन्त्री बनाउने भन्ने निर्णय नभएको बताउँदै मिडिया ट्रायल नगर्न आग्रह गरे। ‘तपाईहरू कोही न कोहीमध्ये मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर, कृपया मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायलमा म फलानो मन्त्री भनेर, त्यस्तो चिजलाई बन्द गरिदिनुहोला,’ उनले थपे, ‘किनभने अहिलेसम्म केही पनि थाहा छैन।’
अहिलेसम्म मन्त्रीबारे निर्णय नभएको सुनाउँदै रास्वपाले सही निर्णय गर्ने प्रतिबद्धता जनाए। ‘पार्टीले क्याबिनेटमा क–कसलाई पठाउछ भन्ने कुराको निर्णय आज यतिखेर तपाईसँग उभिँदासम्म हामीले गरेका छैनौँ। पार्टीले सही निर्णय गर्छ,’ उनले भने, ‘कसैलाई तपाईले भन्नु पर्दैन, हामीलाई थाहा छ। तपाईहरूको विज्ञता थाहा छ, तपाईहरूको क्षमता थाहा छ।’
रास्वपाले सबैलाई हेरिरहेको उनको भनाइ थियो। सबैलाई समेटेर मन्त्रिपरिषद् गठन गरिने उनले बताए। ‘कयौँ साथीहरू देखिएको देखिएई गर्नुहुन्छ, कयौँ साथीहरू छेकिएको छेकिएई गर्नुहुन्छ। पार्टीले छेकिएका साथीहरूलाई पनि हेरिरहेको छ,’ सभापति लामिछानेले भने।
Shares

प्रतिक्रिया