राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना दल र नेताले गरेको त्याग र संघर्षले गर्दा नै आज यो अवस्थामा आएको बताएका छन्।
रास्वपाले नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सपभाति लामिछानेले पुराना दल र नेतालाई स्मरण गरे। पुराना दल र नेताको त्यागले अहिलेको अवस्थामा आइपुगेको उनको भनाइ थियो।
‘इतिहास रच्नेमा एउटा नेता, एउटा पार्टीको हात हुँदैन। इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ,’ उनले भने, ‘वहाँहरूका कयौँ व्यथितिप्रति हाम्रो असहमति हो। इतिहासमा वहाँहरूले दिएको योगदानलाई नजदरअन्दाज गर्ने, अपमानित गर्ने हक हामी कसैलाई पनि छैन।’
पुराना दल र नेताले देशलाई यहाँसम्म ल्याएको र अब रास्वपाले अगाडि बढाउने उनको भनाइ थियो। ‘म ससम्मान इतिहासमा वहाँहरूले दिनुभएको योगदानका लागि वहाँहरू सबैलाई स्मरण गर्न चाहन्छु। पुराना राजनीतिक दल र पुराना सम्पूर्ण नेतागणहरूलाई म यही मञ्चबाट धन्यवाद दिन चाहन्छु,’ लामिछानेले थपे, ‘म यति भन्न चाहन्छु- इतिहास तपाईले लेख्नु भयो, भविष्य हामी बनाउँछौँ।’
उनले आफ्ना नेता र कार्यकर्तालाई पुराना दलका नेतालाई कटाक्ष नगर्न पनि आग्रह गरे। ‘कुनै पनि पुराना दल र नेतालाई कटाक्ष भयो भने त्यो अनर्थ हुन जानेछ,’ उनले भने।
सभापति लामिछानेले आफ्ना नेता, कार्यकर्ता र समर्थकलाई पनि संयमित भएर प्रस्तुत हुन आग्रह गरे। ‘विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनेको छाडा हुनु होइन। विपक्षीलाई कटाक्ष गर्ने अधिकार प्राप्त हुनु होइन,’ उनले भने।
उनले सामाजिक सञ्जाल वा अन्य माध्यममा संयमित भएर प्रस्तुत हुन आफ्ना समर्थकलाई आग्रह गरे। अहिलेसम्म बनेको रास्वपा समर्थकको छवि सुधार्नुपर्ने उनको भनाइ थियो। ‘हाम्रा समर्थक अराजक छन्, असहिष्णु छन्, गाली गरिहाल्छन् भन्ने छवि बनेको छ। अब त्यसबाट बाहिर निस्कनुपर्छ,’ उनलेभ ने।
Shares

प्रतिक्रिया