राजनीति


युद्धको भिडिओ र फोटो सामाजिक सञ्जालमा राख्ने ६ नेपाली पक्राउ

कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
युद्धको भिडिओ र फोटो सामाजिक सञ्जालमा राख्ने ६ नेपाली पक्राउ

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री


नेपालखबर
चैत २, २०८२ सोमबार १९:१७, काठमाडौँ

पश्चिम एशियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन्। 

परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानुन र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुकलगायतका सञ्जालमा भिडिओ हाल्ने काम नगर्न कडा चेतावनी दिएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका सरकारहरूले युद्ध र सुरक्षासँग जोडिएका विषयमा भिडियो बनाउने, फोटो खिच्ने र त्यसलाई सामाजिक सञ्जालमा शेयर गर्ने कार्यलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको जानकारी दिए।  

अरूले बनाएका त्यस्ता सामग्री सेयर गर्नु पनि ती देशहरूमा गैरकानुनी मानिन्छ। पक्राउ परेकाहरूलाई त्यहाँको कानुनअनुसार ठूलो रकम जरिवाना हुने, लामो समय जेल बस्नुपर्ने र सजाय भुक्तान गरेपछि डिपोर्ट (देश निकाला) समेत हुनसक्ने गम्भीर अवस्था रहेको मन्त्रालयले जनाएको छ।

परराष्ट्रका प्रवक्ता क्षेत्रीले भने, ‘त्यहाँका सरकार र सुरक्षा निकायहरू आफ्ना नागरिक मात्र नभई सम्पूर्ण विदेशी नागरिकको सुरक्षाका लागि अहोरात्र खटिरहेका छन्। यस्तो बेला त्रास फैलाउने खालका कन्टेन्ट नबनाउन उनीहरूले एड्भाइजरी नै जारी गरेका छन्। यसका बाबजुद पनि ६ जना नेपालीहरू यस्तै कन्टेन्ट निर्माण र सेयर गरेका कारण पक्राउ पर्नुभएको छ।’

मन्त्रालयले दूतावास र सञ्चारमाध्यममार्फत पटक–पटक सचेत गराउँदा पनि यस्ता घटना हुनु दुःखद् भएको बताउँदै त्यहाँको सरकारले गैरकानूनी मानेका कुनैपनि गतिविधिमा संलग्न नहुन सम्पूर्ण नेपाली श्रमिकहरूलाई विशेष अपिल गरेको छ। 

अधिकांश नेपालीहरू सुरक्षित
पश्चिम एशियाली मुलुकहरूमा तनाव बढिरहेको भएपनि त्यहाँ रहेका अधिकांश नेपालीहरू सुरक्षित रहेको सरकारले दाबी गरेको छ। 

परराष्ट्र मन्त्रालयले विभिन्न तीनवटा च्यानल (माध्यम) मार्फत त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको र हालसम्मको तथ्यांकले आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेको हो।

प्रवक्ता क्षेत्रीकाअनुसार नेपालीहरूको अवस्था बुझ्न मन्त्रालयमा आपत्कालीन कन्ट्रोल रुम स्थापना गरिएको छ। जहाँ फोन र इमेलमार्फत नेपालमा रहेका आफन्त र खाडीमा रहेका नेपालीले सिधै सम्पर्क गर्न सक्छन्।

दोस्रो माध्यमका रूपमा कन्सुलर सेवा विभागले अनलाइन फारमको व्यवस्था गरेको छ। हालसम्म करिव ७५ हजार नेपालीले उक्त फारम भरेर आफ्नो अवस्थाबारे जानकारी गराएका छन्।

पछिल्ला केही दिन यता असुरक्षित छु भन्ने नेपालीहरुको संख्या अत्यन्त न्यून रहेको बताए  तेस्रो माध्यमका रूपमा त्यहाँ रहेका १० वटै दुतावासले हटलाइन, इमेल र म्यासेज सिस्टममार्फत एनआरएनए र नेपाली समुदायसँग सहकार्य गरिरहेका छन्।

उडानहरू बन्द भएका देशहरूमा पनि बिस्तारै उडान सुचारु हुन थालेको र ट्रान्जिटमा फसेका सयौँ नेपालीहरूलाई गन्तव्यमा पठाउने वा स्वदेश फर्काउने काम भइरहेको मन्त्रालयले जनाएको छ। 

भिसाको व्यवस्था गरेर अर्को देशको बोर्डरमार्फत गन्तव्यमा पठाउने काममा दूतावासहरू सक्रिय छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad