राजनीति


राप्रपामा श्रीमान्‌पछि श्रीमतीको पालो: बुद्धिमान तामाङकी पत्नी सरस्वती बनिन् समानुपातिक सांसद

राप्रपामा श्रीमान्‌पछि श्रीमतीको पालो: बुद्धिमान तामाङकी पत्नी सरस्वती बनिन् समानुपातिक सांसद

सरस्वती राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र उनकी श्रीमती सरस्वती लामा


सुनिता विष्ट
चैत १, २०८२ आइतबार १८:६, हेटौँडा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रिक्त रहेका चारजना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले विभिन्न क्लस्टरबाट निर्वाचन आयोगमा पठाउने नामहरूको अन्तिम निर्णय गरेको हो।

बैठकले खस आर्य पुरुषतर्फ भरत गिरी, मुस्लिम पुरुषमा ताहिर अली र खस आर्य महिलामा खुश्वु ओलीलाई सिफारिस गरेको छ। त्यस्तै, जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम छनोट भएको छ।

यी नामहरूमध्ये सरस्वती लामाको चयनले पार्टीभित्र र बाहिर चर्चा पाएको छ। सरस्वती राप्रपाका प्रभावशाली उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती हुन्। यो निर्णयसँगै राप्रपामा 'श्रीमान्‌पछि श्रीमती'ले संसदीय यात्रा तय गर्ने संयोग जुरेको छ।

पहिले श्रीमान्, अहिले श्रीमती
सरस्वतीका श्रीमान् बुद्धिमान तामाङ २०७९ को निर्वाचनमा आदिवासी जनजाति क्लस्टरबाटै समानुपातिक सांसद बनेका थिए। राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि तामाङ संसदीय दलको उपनेता समेत बनेका थिए। यसपटकको निर्वाचनमा भने पार्टीले सोही क्लस्टर र सोही जिल्लाबाट उनकी पत्नी सरस्वतीलाई अवसर दिएको हो।

बुद्धिमान तामाङ धादिङबाट तीनपटक (२०४८, २०५१ र २०५६) प्रत्यक्ष निर्वाचित भएर पटक–पटक मन्त्री भइसकेका नेता हुन्।

यसपटकको निर्वाचनमा पनि धादिङ–२ बाट उनको उम्मेदवारीको चर्चा थियो। तर, पार्टीले सुरेश श्रेष्ठलाई प्रत्यक्षको टिकट दिएपछि तामाङ परिवारबाट सरस्वतीको नाम समानुपातिक सूचीमा समेटिएको थियो।

निर्वाचन आयोगले यी नामहरूलाई प्रमाणित गरेपछि लामासहित चारैजनाले संघीय संसद्को सदस्यका रूपमा सपथ लिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad