प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको छ।
बिहीबार सर्वोच्चका न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले कर्जा सूचना केन्द्रको पत्रअनुसार, साहलाई कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।
यसअघि उनको नाम कालोसूचीमा हुँदा निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले उम्मेदवारी खारेजको निर्णय गरेको थियो। तर, त्यस विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। यो रिटमा शुक्रबार पेशी तोकिएको छ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको देखिएपछि निर्वाचन आयोगले फागुन १९ मा उनको उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि उनले कर्जा सूचना केन्द्र र निर्वाचन आयोगको निर्णय विरुद्ध छुट्टाछुट्टै रिट दायर गरेका थिए।
आज कर्जा सूचना केन्द्र विरुद्धको रिटमा आदेश भएको हो। सर्वोच्चको आदेशसँगै कर्जा सूचना केन्द्रको कालोसूचीबाट उनको नाम हट्नेछ।
निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको दुई दिनपछि फागुन २१ मा भएको निर्वाचनमा धनुषा-१ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृका यादव निर्वाचित भएका छन्। निर्वाचन आयोगले बुधबार यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ।
निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय विरुद्धको साहको रिटमा शुक्रबार पेशी तोकिएको छ। अब सांसद के हुन भन्ने विषयमा शुक्रबार सर्वोच्चले गर्ने आदेशमा निर्भर हुनेछ।
Shares

प्रतिक्रिया