राजनीति


बालेन प्रधानमन्त्री बन्ने प्रक्रिया एक कदम अघि बढ्यो, समानुपातिक मत परिणाम दललाई पठाउँदै आयोग

बालेन प्रधानमन्त्री बन्ने प्रक्रिया एक कदम अघि बढ्यो, समानुपातिक मत परिणाम दललाई पठाउँदै आयोग

बालेन शाह


नेपालखबर
फागुन २८, २०८२ बिहिबार १८:२४, काठमाडौँ

मुलुकको नयाँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन) को नियुक्ति प्रक्रिया अगाडि बढ्दै गर्दा निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। आयोगले बिहीबार साँझसम्म कुन राजनीतिक दलले कति सिट प्राप्त गरे भन्ने विवरण फाइनल गरेर दलहरूलाई औपचारिक पत्र पठाउने तयारी गरेको हो।

२ सय ७५ जना सांसद रहने प्रतिनिधि सभामा १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन्। आयोगस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले अहिले यसकै परिणाम निकाल्ने प्रक्रियामा काम गरिरहेको हो।

आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिक मतपरिणाम निकालेर आयोग राष्ट्रपतिलाई अन्तिम प्रतिवेदन बुझाउन गृहकार्यमा गरिरहेको बताए। उनले भने, ‘निर्वाचन सम्पन्न गरिसकेर पहिलो हुने निर्वाचित हुनेतर्फको मतपरिणाम आइसकेको छ। अब समानुपातिकको परिणाम आएपछि राष्ट्रपतिलाई प्रतिवेदन बुझाउन बाटो खुल्छ। आयोगले काम गरिरहेको छ।’

समानुपातिक परिणामको प्रक्रिया पूरा गर्न आयोग र दलहरू दुवैले काम गर्नुपर्छ। ‘आयोगका निर्वाचन अधिकृतले आज वा भोलि नै दलहरूलाइ समानुपातिक मत परिणामको पत्र पठाउँदै छ। साँझसम्म भए पनि सकेसम्म आजै  पठाउँछौँ’, उनले भने।

संवैधानिक व्यवस्थाअनुसार व्यक्तिगत उम्मेदवार होइन, दलले प्राप्त गरेको मत प्रतिशतका आधारमा सिट भागबन्डा गरिन्छ।

अनि आयोगले प्रतिवेदन लेख्छ

प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (२) बमोजिम आयोगले सबै निर्वाचन क्षेत्रबाट प्राप्त विवरणका आधारमा दलले प्राप्त गरेको कुल सदर मत संख्याको अनुपातमा सिट निर्धारण गर्दछ। यसका लागि ‘सेन्ट लग’ विधि प्रयोग गर्छ। तर, कुल सदर मतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउन नसक्ने ६५ मध्येका साना दलहरू यो प्रक्रियाबाट बाहिरिन्छन्।

दलहरूले आयोगको पत्र पाएपछि आफ्नो बन्दसूचीमा रहेका नामहरूमध्येबाट समावेशी समूह मिलाएर नामावली आयोगमा पठाउनेछन्। दलहरूले सबै समावेशी समूहमा विधि पुर्‍याएर  पठाएमा परिणाम निकाल्न छिटो हुनेछ।

दलहरूले समानुपातिक विधि नमिलाए निर्वाचन प्रक्रियाले थप समय लिनेछ। ‘परिणामको अन्तिम प्रतिवेदन चैतको पहिलो सातासम्म आयोगले राष्ट्रपति समक्ष पेस गर्छ’, प्रवक्ता भट्टराई भने, ‘आयोगले चुस्त गतिमा काम गरिरहेको छ। समानुपातिक तर्फका उम्मेदवार विजयी भएपछि आयोगले प्रतिवेदन लेखिहाल्छ।’

भट्टराईले चैत पहिलो साता भने पनि अहिलेको अवस्था हेर्दा साताको सुरूवात अर्थात १-२ गते आयोगले प्रतिवेदन तयार पार्न गाह्रो छ। समानुपातिक प्रणाली निर्वाचन अधिकृतको कार्यालयका एक अधिकारीले नेपालखबरसँग भने, ‘छिटै प्रतिवेदन राष्ट्रपति समक्ष पेश हुन्छ तर १-२ गतेमै कसरी सक्नु, सकिँदैन।’

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले प्राप्त मत परिणाम र सिट तोकेर पठाएपछि दलहरूले समूह मिलाएर आयोगलाई नामावली पठाइदिनुपर्छ। समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले दलहरूले पठाएको नामावली स्वीकार गरेपछि मात्र समानुपातिक उम्मेदवारहरू विजयी हुनेछन्। 

प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ को दफा ६० (४) अनुसार, सिट बाँडफाँट गर्दा कुनै सिटका सम्बन्धमा एकभन्दा बढी दलको बराबर भागफल आएमा गोलाप्रथाबाट निर्णय गर्ने व्यवस्था छ।

लिनुपर्नेछ सांसदको शपथ

आयोगले चैत ४ वा ५ गतेभित्र राष्ट्रपतिलाई अन्तिम प्रतिवेदन बुझाउने लक्ष्य राखेको छ। त्यसपछि नवनिर्वाचित सांसदको शपथ हुनेछ।

जनप्रतिनिधिमध्ये ज्येष्ठ सदस्यले सांसदलाई शपथ गराउँनेछन्। त्यसपछि मात्र सांसदले विधायिकी अधिकार प्रयोग गर्न पाउँछन्।

अनि मात्रै सबै दलले स‌ंसदीय दल गठन हुन्छ। स‌ंसदीय दल गठन पछि संसदीय दलको नेता चयन हुन्छ। 

त्यस्तै रास्वपाले बालेन शाहलाई संसदीय दलको नेता चयन भएको जानकारी राष्ट्रपति कार्यालयमा गराएपछि राष्ट्रपतिले बालेनलाई संविधानको धारा ७६ (१) बमोजिम बहुमत प्राप्त दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त गर्नेछन्।

यसपटकको निर्वाचनमा कुल १ करोड ८ लाख ३५ हजार २७ मत खसेको थियो। त्यसमध्ये ८ लाख ९० हजार ७८६ मत पूर्ण रूपमा खेर गएको छ।

यो भनेको 'थ्रेसहोल्ड' (३ प्रतिशत) कटाउन नसक्ने ५९ दलहरूले प्राप्त गरेको कुल मत हो। समानुपातिकतर्फ ३ प्रतिशतको कानुनी सीमा पार गरेर सिट सुरक्षित गर्नेमा ६ दल मात्र छन्।

रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मात्रै समानुपातिक सांसद जिताउन सफल भएका हुन्। रास्वपा ५१ लाख ८३ हजार ४९३ मतसहित पहिलो स्थानमा छ।

धारा ७६ (१) अनुसार बन्नेछ बालेन सरकार

अचम्मलाग्दो तथ्य के छ भने, यसअघि संसदमा निर्णायक भूमिकामा रहेका धेरै दलहरू यसपटक थ्रेसहोल्ड कटाउन नसकी बाहिरिएका छन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले एक लाख ८२ हजार २८५ मात्र मत पायो।

कुलमान घिसिङको समर्थन रहेको राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार ४९३ मत तथा सीके राउतको जनमत पार्टीले ७९ हजार ४३५ मत पाएको छ। 

त्यस्तै, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी, अशोक राईको जसपा र रेशम चौधरीको नाउपाले 'चकिया' चिह्नबाट चुनाव लडे पनि थ्रेसहोल्ड कटाउन सकेनन्। बाबुराम भट्टराई र जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, विप्लव नेतृत्वको नेकपा (माओवादी) र प्रभु साहको आम जनता पार्टीले ३ प्रतिशत मत कटाउन सकेनन्।

रास्वपाले प्रत्यक्षतर्फ १ सय २५ सिट जितेको छ। समानुपातिक समेत जोड्दा दुई तिहाइ नजिक पुग्छ। संविधानको धारा ७६ (१) बमोजिम बालेन सरकार बहुमतको हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad