नेपाली कांग्रेसका सभापति गगन थापाले समाज र सिद्धान्तले स्वीकार नगर्ने गठबन्धनको राजनीति कांग्रेसको बाटो नभएको बताएका छन्।
बीपी स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले राजनीति केवल शक्ति र सत्ता प्राप्तिको प्रतिष्पर्धा मात्र नभएको जिकिर गरे। राजनीतिको वास्तविक अर्थ जनसेवा र सामाजिक रूपान्तरणसँग जोडिनुपर्ने उनको भनाइ थियो।
‘हामी चुनावको सामना गर्छौँ, तर हाम्रो पहिलो प्राथमिकता नागरिकको विश्वास जित्नु हो। त्यसका लागि कांग्रेस सत्तासँग मात्र जोडिएको होइन, समाजसँग जोडिएको पार्टी बन्नुपर्छ,’ उनले भने, ‘समाजको विश्वास जित्न सकियो भने नागरिकले नै कांग्रेसलाई नेतृत्व गर्ने अवसर दिन्छन्। त्यसैले अब विगतका कमजोरीबाट सिक्दै समाजसँग पुनः जोडिने अभियानमा लाग्नुपर्छ।’
उनले भत्केका विद्यालय बनाउनु, लागूपदार्थको दुर्व्यसनमा फसेका युवालाई सही मार्गमा ल्याउनु, किसानलाई मल र उत्पादनको उचित मूल्य दिलाउनु तथा वन, नदी र पर्यावरणको संरक्षण गर्नु नै वास्तविक राजनीति भएको बताए।
‘कतिपयले हामी राजनीति मात्र नगरौँ भन्नुहुन्छ। म भन्छु– हामी राजनीति नै गरौँ, तर सही अर्थमा गरौँ,’ थापाले भने, ‘राजनीति भनेको केवल सत्ता वा शक्तिको प्रतिष्पर्धा होइन। भत्किएको विद्यालय पुनर्निर्माण गर्नु, लागूऔषध दुर्व्यसनमा फसेका युवालाई सही बाटोमा ल्याउनु, किसानलाई उचित मूल्य दिलाउनु, मलको व्यवस्था गर्नु, नदी र वन संरक्षण गर्नु तथा रोजगारी सिर्जना गर्नु पनि राजनीति हो।’
बीपी कोइरालाका विचार र आदर्शको स्मरण गर्दै उनले कांग्रेस एउटा निर्वाचनको हार वा जितबाट नआत्तिने बताए। ‘हामीले राजनीतिको परिभाषा र अभ्यास दुवै बदल्नुपर्छ। यही शिक्षा विश्वेश्वरप्रसाद कोइरालाले हामीलाई दिनुभएको हो,’ उनले भने।
निर्वाचन जित्ने नाममा आफ्नो आस्था र सिद्धान्तसँग सम्झौता गरेर गरिने गठबन्धनको राजनीतिले कांग्रेसको मौलिक पहिचानलाई कमजोर बनाउने उनको तर्क छ।
‘कतिपय साथीहरूले स्थानीय वा प्रदेश निर्वाचनको परिणाम देखाएर तर्साउन खोज्नुहुन्छ। तर हामी बीपी कोइरालाका कार्यकर्ता हौँ। हामी कुनै एक चुनावको जित वा हारले आफ्नो आस्था र सिद्धान्तसँग सम्झौता गर्ने पक्षमा छैनौँ,’ थापाले भने, ‘समाज र सिद्धान्तले स्वीकार नगर्ने गठबन्धनको राजनीति नेपाली कांग्रेसको बाटो हुन सक्दैन।’
सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई समाजसँग पुनः सुमधुर सम्बन्ध स्थापित गर्न आग्रह गरे। समाजसँग जोडिएको पार्टीलाई नागरिकले नै विश्वास गरेर सत्ताको नेतृत्व सुम्पने बताउँदै उनले विगतका गल्तीहरू सुधार्दै जनताको घरदैलोमा पुग्न निर्देशन दिए।
उनले कांग्रेसलाई सत्ताको खेलमा मात्र सिमित नराखी सामाजिक परिवर्तनको संवाहक बनाउनुपर्ने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया