नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताएका छन्।
बुधबार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
उनले पार्टीको आन्तरिक विवादसँग जोडिएर सर्वोच्च अदालतमा पुगेको मुद्दालाई छिटो किनारा लगाउन आग्रह समेत गरे। विशेष महाधिवेशनबारे नेता सिटौलाले संस्थागत रूपमा आफूहरूले त्यसलाई आवश्यक नठानेको स्पष्ट पारे।
पार्टीको आन्तरिक विषयलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाले पार्टीको आगामी बाटो तय गर्न प्रभाव पार्ने भएकाले यसलाई छिटो टुङ्ग्याउनुपर्नेमा उनको जोड छ। अदालतको फैसलापछि मात्रै पार्टीभित्रको अन्योल हटेर अगाडि बढ्न सहज हुने उनको भनाइ छ।
उनले भने, ‘ विशेष महाधिवेशनलाई हामीले उचित ठानेका छैनौँ अहिलेसम्म पनि। अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा छ त्यसलाई छिट्टै टुङ्ग्याओस् हामी त्यही चाहन्छौँ र सर्वोच्च अदालतका न्यायाधीशहरूले त्यसलाई छिट्टै टुङ्ग्याइदिए हुन्थ्यो। त्यति मात्रै हाम्रो रिक्वेस्ट हो कसरी टुङ्ग्याउँछ हेर्न बाँकी छ नि त।’
यद्यपि अदालतले उक्त मुद्दालाई कुन रूपमा फैसला गर्छ भन्नेकुरा भने प्रतिक्षाकै विषय रहेको उनले बताए।
पार्टीको आन्तरिक विवाद अदालतसम्म पुग्नु र नेतृत्व तहबाटै अदालतको फैसलाको प्रतिक्षा गरिनुले कांग्रेसभित्रको वर्तमान राजनीतिक तरलता र गुटगत मतभेदलाई प्रस्ट पारेको छ। अदालतको फैसला आएपछि मात्रै पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा थप छलफल हुने नेता सिटौलाको भनाइ छ।
निर्वाचन परिणाम अप्रत्याशित
नेता सिटौलाले प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको बताए।
प्रतिनिधि सभा निर्वाचनको नतिजा अपेक्षाभन्दा फरक आएको भन्दै उनले कांग्रेस, एमाले, नेकपा तथा मधेस केन्द्रित दलहरूका लागि यो परिणाम केही हदसम्म अप्रत्याशित देखिएको बताए। उनले निर्वाचन परिणामकाबारे पार्टीभित्र थप छलफल हुन बाँकी रहेको उल्लेख गरे। निर्वाचन परिणामले पुराना दलहरूको हैसियत झण्डै उस्तै देखिएको उनको भनाई छ।
उनले हाल निर्वाचित भएर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले देश र जनताको हितमा कस्तो काम गर्छन् भन्ने विषयले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने बताए।
उनले भने, ‘यो अप्रत्याशित लाग्यो मलाई, तथापि पार्टीभित्र छलफल गर्न बाँकी छ। पुराना दलहरुको हैसियत उस्तै उस्तै देखिन्छ, काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, त्यस्तै मधेस केन्द्रित दलहरु सबै पुराना दलहरुको लागि यो अप्रत्याशित जस्तो नै देखिन्छ। तथापि अहिले निर्वाचित भएर आउने राष्ट्रिय स्वतन्त्र पार्टीका माननीयहरु हुनुहुन्छ, उहाँहरुले देशको हितमा, जनताको हितमा कति राम्रो कामहरु गर्नुहुन्छ। त्यसमा धेरै कुरा भर पर्छ नी अब।’
उनले बदलिँदो राजनीतिक परिस्थिति र नयाँ शक्तिको उदयले आफूहरूको भूमिकामा पनि परिवर्तन आएको बताए। उनले नयाँ परिवेशमा राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गरे।
Shares

प्रतिक्रिया