काठमाडौँ क्षेत्र नम्बर ५ को निर्वाचन परिणामले धेरैलाई चकित तुल्यायो। एमालेका प्रभावशाली नेता ईश्वर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, राप्रपाका अनुभवी नेता कमल थापा र चर्चित अभिनेत्री निशा अधिकारीजस्ता हस्तीहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेल विजयी भए।
बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनको सचिवालयमा रहेर काम गरेका पोखरेल अहिले करिब दुई तिहाइ सिट जितेको रास्वपाको तर्फबाट सदनमा पुगेका छन्।
निर्वाचनअघिको चर्चा र अहिलेको नतिजाले सस्मितलाई उत्साहित त बनाएको छ, तर त्यो भन्दा बढी उनले गम्भीरता महसुस गरेका छन्।
नेपालखबर ‘तत्कालै’मा गफिन आइपुगेका उनले भने, ‘खुसी त अवश्य छ नै, तर खुसीभन्दा बढी जिम्मेवारीबोध भइरहेको छ। हाम्रो सामान्य जित मात्र होइन, देशभरि नै पार्टीको उत्साहजनक उपस्थिति छ। ५ वर्षमा जनताको आशा र भरोसालाई परिणाममा बदल्नु पर्ने चुनौती हाम्रो काँधमा छ।’
काठमाडौँ ५ मा मात्र नभई देशभर देखिएको रास्वपाको लहरमा बालेन शाहको ठूलो हात रहेको सस्मित स्वीकार्छन्। बालेनले महानगरमा गरेको कामले जनतामा एउटा विश्वास जगाएको उनको ठम्याइ छ।

उनी भन्छन्, ‘म सहमत छु कि बालेनले महानगरको प्रमुख भएर जुन किसिमको काम गर्नुभयो, त्यसले मतदातालाई खुसी तुल्यायो। एउटा पालिकामा भएको काम आफ्नोमा पनि होस् भन्ने चाहना मतदातामा देखियो। त्यसैले धेरै ठाउँमा उम्मेदवार नै थाहा नभए पनि घण्टीमा भोट आयो। यो लहरको एउटा प्रमुख कारण बालेन नै हो, यसमा चित्त दुखाउनु पर्ने कुरै छैन।’
निर्वाचनमा झण्डै दुई तिहाइको नजिक सिट हासिल गरेको रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ। बालेन प्रधानमन्त्री बन्ने तयारी भइरहँदा उनको क्याबिनेटमा को–को मन्त्री बन्छन् र ती मन्त्रीहरू कसरी छानिँदैछन् भन्ने चासो अहिले सर्वत्र छ।
कतिपयले बालेनले एकलौटी मन्त्री छान्ने चर्चा गरे पनि सस्मितले यसलाई स्पष्ट पार्दै भन्छन्, ‘प्रधानमन्त्रीले डेलिगेट गरेको पावरमार्फत मन्त्रीहरू बन्ने हो, त्यसैले मुख्य भूमिका त प्रधानमन्त्रीकै हुन्छ। तर बालेनले पार्टी र संसदीय दलसँग समन्वय गरेर आफ्नो क्याबिनेट निर्माण गर्नुहुन्छ। विज्ञता भएका र जो सांसद जहाँ बसेर काम गर्न सक्छन्, त्यही आधारमा मन्त्रिमण्डल गठन हुन्छ।’
यतिखेर रास्वपाभित्र सांसद नभएका विज्ञहरूलाई मन्त्री बनाउने चर्चा चलेको खबर पनि आइरहेका छन्। तर, सस्मितले यसमा संवैधानिक जटिलता रहेको बताए।
‘संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनाका लागि मात्र मन्त्री बन्न सक्छ,’ उनले भने, ‘५ वर्षका लागि विज्ञलाई मन्त्री बनाउने हो भने संविधान संशोधन आवश्यक छ, जुन तत्कालै सम्भव देखिँदैन। त्यसैले अहिलेलाई सांसदभित्रकै साथीहरूबाट मन्त्रिमण्डल बन्दा सहज हुन्छ।’
सस्मित स्वयं पनि मन्त्रीका बलिया दाबेदार हुन्। यद्यपि, उनी आफ्नो रुचि नीति निर्माणमा रहेको बताउँछन्।
भन्छन्, ‘मेरो मूल योजना र रुचि भनेको नीति निर्माण र कानुन निर्माण नै हो। तर प्रधानमन्त्रीज्यूले आवश्यक ठान्नुभयो र पार्टीले जिम्मेवारी दियो भने म जुनसुकै भूमिका निभाउन पनि तयार छु। मन्त्री बन्ने प्रस्ताव आयो भने नाइँ भन्ने कुरै हुन्न।’

रास्वपाले आफ्नो वाचापत्रमा १०० वटा बुँदाहरू सार्वजनिक गरेको छ। ती वाचाहरू पूरा गर्नु नै आगामी ५ वर्षको मुख्य लक्ष्य हुने सस्मितको भनाइ छ। उनले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसहित अन्य दल र स्वतन्त्र सांसदसँग पनि सहकार्य हुनसक्ने संकेत गरे।
‘सहकार्य सबै दलसँग हुन्छ, प्रतिपक्षसँग पनि हुन्छ। बहुमत आयो भन्दैमा कसैलाई पेलेर जाने हाम्रो नीति छैन। चैतको पहिलो वा दोस्रो हप्तासम्म मन्त्रिमण्डलले पूर्णता पाउनेछ,’ उनले भने।
पुरानो राजनीतिक शैली र अनुहारबाट दिक्क भएका जनताले रास्वपा र बालेन शाहमाथि जुन भरोसा गरेका छन्, त्यसलाई कार्यान्वयनको तहमा उतार्नु नै यतिखेर रास्वपाको मुख्य परीक्षा भएको उनको निष्कर्ष छ।
बाँकी के–के भने सस्मित पोखरेलले, हेर्नुहोस् उनीसँग गरिएको भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’:
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया