ग्लोबल


इरानका नयाँ सर्वोच्च नेता सुरक्षित र स्वस्थ रहेको दाबी

इरानका नयाँ सर्वोच्च नेता सुरक्षित र स्वस्थ रहेको दाबी

नेपालखबर
फागुन २७, २०८२ बुधबार १५:१८, काठमाडौँ

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी युद्धका क्रममा घाइते भएको समाचार फैलिरहेका बेला त्यहाँका राष्ट्रपति मसुद पेजेस्कियानका छोराले उनी सुरक्षित र स्वस्थ रहेको दाबी गरेका छन्।

इरानका राष्ट्रपतिका छोरा तथा सरकारी सल्लाहकार युसेफ पेजेस्कियानले बुधबार आफ्नो टेलिग्राम च्यानलमार्फत मोज्तबा खामेनीघाइते भएको खबर आफूले पनि सुनेको तर त्यसको पुष्टि नभएको उल्लेख गरेका छन्। 

उनका अनुसार आफूले सम्पर्कमा रहेका केही व्यक्तिसँग सोधपुछ गर्दा उनीहरूले खामेनी सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका हुन्।

‘मैले मोज्तबा खामेनी घाइते भएको खबर सुनेको थिएँ। मैले सम्पर्क भएका केही साथीहरूलाई सोधेको छु। उनीहरूले भगवान्‌को कृपाले उहाँ सुरक्षित र स्वस्थ हुनुहुन्छ भन्ने बताएका छन्’, पेजेस्कियानले सामाजिक सञ्जालमा लेखेका छन्। 

यसअघि सरकारी टेलिभिजनले खामेनीलाई ‘रमजान युद्धका घाइते पूर्व सैनिक’ भनेर उल्लेख गरेको थियो। तर उनी कहिले र कसरी घाइते भए भन्ने विषयमा कुनै स्पष्ट विवरण दिइएको थिएन।

मोज्तबा खामेनी इस्लामिक गणतन्त्रका लामो समयसम्म सर्वोच्च नेता रहेका आयातुल्ला अली खामेनीका छोरा हुन्।

इजरायल-अमेरिकाको आक्रणमा गत फेब्रुअरी २८ मा आयातुल्ला अली खामेनी मारिएपछि हालै मात्र उनका छोरा मोज्तबालाई आइतबार मात्र इरानको नयाँ सर्वोच्च नेता चयन गरिएको हो। 

छपन्न वर्षीय मोज्तबा सामान्यतः सार्वजनिक जीवनमा कम देखिने व्यक्ति हुन्।

सर्वोच्च नेता बने पनि उनले अहिलेसम्म राष्ट्रलाई औपचारिक सम्बोधन गरेका छैनन्। 

साथै हालसम्म उनका तर्फबाट कुनै लिखित वक्तव्य पनि सार्वजनिक भएको छैन, जसले उनको अवस्थाबारे विभिन्न अनुमान फैलिन मद्दत गरेको छ।

यसैबिच अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले बुधबार तीन जना नाम नखुलाइएका इरानी अधिकारीलाई उद्धृत गर्दै मोज्तबा खामेनी घाइते भएको दाबी गरेको छ।

उक्त रिपोर्टमा उनको खुट्टामा चोट लागेको तर उनी सचेत अवस्थामा रहेको र सीमित सञ्चारका साथ अत्यन्त सुरक्षित स्थानमा बसिरहेको उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad