लामो समयदेखि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको बलियो पकड मानिँदै आएको प्यूठानको राजनीतिक समीकरण यसपटकको प्रतिनिधिसभा निर्वाचनले नाटकीय रूपमा बदलिदिएको छ।
वर्षौँदेखि पुराना दलहरूको प्रभाव रहेको जिल्लामा यसपटक नयाँ शक्तिको उदय भएको छ।
प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशान्त वैदिकले स्थापित नेताहरूलाई पछि पार्दै उल्लेखनीय जीत हासिल गरेका छन्।
वैदिकले २७ हजार ४६९ मत प्राप्त गर्दा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत पाए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने सूर्य थापा १६ हजार ७१० मतसहित तेस्रो स्थानमा सीमित भए।
यसैगरी लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री तथा नेकपाका उम्मेदवार कृष्णध्वज खड्काले ९ हजार ७४ मत मात्रै प्राप्त गरे भने राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले ७ हजार ६५४ मत पाए।

यता समानुपातिकमा भने रास्वपाले अझै धेरै मत पायो। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ३० हजार ७५२ मत पाउँदा नेकपा एमालेले १६ हजार १९५ तथा नेपाली कांग्रेसले १५ हजार २२६ मत पाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले ९ हजार १८१ तथा राष्ट्रिय जनमोर्चाले ७ हजार ६७९ मत पाएको छ।
पुराना दलहरूको प्रभाव क्षेत्र मानिएका पालिकाहरू र यसअघि एमाले–कांग्रेसले क्लिन स्वीप गरेका वडाहरूबाट समेत रास्वपाले उल्लेखनीय मत प्राप्त गरेको निर्वाचन परिणामले देखाएको छ।
को हुन् सुशान्त वैदिक?
२०५१ जेठ १८ गते प्यूठानको खैरा जन्मिएका वैदिक शैक्षिक तथा नीतिगत क्षेत्रबाट राजनीतिमा आएका युवा हुन्।
उनले बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) बाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने नर्वेको नर्वेजियन स्कुल अफ इकोनोमिक्स (एनएचएच) बाट अर्थशास्त्र र व्यवसाय प्रशासनमा थप स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
अर्थशास्त्र, प्रतिस्पर्धा नीति, आर्थिक मोडेलिङ, विकास अर्थशास्त्र र लगानी विश्लेषणका क्षेत्रमा अध्ययन तथा अनुभव बटुलेका वैदिकले लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीका आर्थिक तथा विकास विज्ञका रूपमा काम गरेका थिए।
नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी र त्यसअघि तत्कालीन माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री हुँदा उनले प्रदेश सरकारको बजेट, कार्यक्रम समीक्षा, पाँच वर्षे योजना, कृषि विकास रणनीति र आर्थिक सुधारसम्बन्धी अवधारणामा प्रत्यक्ष योगदान दिएका थिए।
उनकै पहलमा जीआईएसमा आधारित डाटा प्रणाली, रोजगार–केन्द्रित परियोजना तथा आर्थिक विकास कार्यक्रमका केही अवधारणाहरू तयार पारिएको बताइन्छ।
यसअघि बेलायतस्थित आरबीबी इकोनोमिक्समा अर्थशास्त्रीका रूपमा कार्यरत वैदिकले प्रतिस्पर्धा नीति, बजार संरचना र नियामक विश्लेषणसम्बन्धी अनुभवसमेत हासिल गरेका छन्।
यही अनुभवलाई आधार बनाएर उनी लगानी वातावरण सुधार, निजी क्षेत्रको विकास र आर्थिक नियमनका विषयमा स्पष्ट धारणा राख्ने युवा नेताका रूपमा चिनिन्छन्।
प्रमाणमा आधारित नीति, पारदर्शी शासन र रोजगारीमुखी आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने वैदिक भावनात्मक भाषणभन्दा परिणाममुखी नेतृत्वमा विश्वास गर्ने बताइन्छ। गम्भीर र अन्तरमुखी स्वभावका उनी कम बोल्ने तर धेरै सुन्ने नेताका रूपमा चिनिने गरेका छन्।
अर्थशास्त्र, सार्वजनिक नीति र प्रशासन सुधारको स्पष्ट दृष्टिकोणसहित वैदिक संसद् पुग्दा प्यूठानको राजनीति मात्र होइन, पुराना दलहरूको प्रभावसमेत नयाँ बहसको केन्द्रमा पुगेको छ।
यस्तो छ यहाँको विगतको मतपरिणम
२०७० सालको प्रतिनिधिसभा निर्वाचनसम्मको प्यूठानमा २ निर्वाचन क्षेत्र थिए। त्यसपछि यहाँ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ। प्युठान प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ०४८ साल यताका निर्वाचन परिणाम हेर्दा विभिन्न दलका उम्मेदवारले जित हासिल गर्दै आएका छन्।
०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका शिवराज सुबेदी विजयी बनेका थिए । त्यसपछि ०५१ सालमा पनि कांग्रेसकै सुबेदी पुनः निर्वाचित भएका थिए।
२०५६ सालको निर्वाचनमा भने राष्ट्रिय जनमोर्चाका हरि आचार्य विजयी बने। ०६४ सालको संविधानसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नारायणप्रसाद अधिकारी निर्वाचित भए । त्यसपछि ०७० सालको निर्वाचनमा नेकपा एमालेका बामदेव गौतमले जित हासिल गरेका थिए।
०७४ सालमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी बनेकी थिइन् भने ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका सूर्यबहादुर थापा क्षेत्री निर्वाचित भएका थिए।
यस्ता गरेका छन् उनले बाचा
वैदिकले आफ्नो वाचापत्रमा प्यूठानको समग्र विकासलाई केन्द्रमा राख्दै आधारभूत सेवा, कृषि, पर्यटन, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको र ती कुरा पुरा गर्ने दाबी गरे।
नेपालखबरसँगको कुराकानीमा उनले जिल्लाका सबै घरधुरीमा सुरक्षित खानेपानी पु¥याउने, जिल्ला अस्पताललाई उपकरण, विशेषज्ञ सेवा र जनशक्तिसहित सुविधा सम्पन्न बनाउने प्रतिबद्धता जनाए।

उच्च शिक्षामा प्राविधिक शिक्षाको विस्तार गरी स्थानीय युवालाई गुणस्तरीय तथा रोजगारीमुखी शिक्षा उपलब्ध गराउने बताउँदै रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै कृषि व्यवसायीकरण, पर्यटन विकास तथा साना–मझौला उद्योग प्रवद्र्धनमार्फत स्थानीयस्तरमै रोजगारी र स्वरोजगारीका अवसर बढाउने बाचापत्रको कुरा पुरा गर्ने दाबी गरे।
कृषि क्षेत्रमा क्लस्टर आधारित विकास, सिंचाइ पूर्वाधार विस्तार तथा जडीबुटी र स्थानीय कच्चा पदार्थमा आधारित लघु उद्योग प्रवद्र्धन गर्ने, वैज्ञानिक भू–सुधार तथा व्यवस्थित बसोबासका लागि डिजिटल प्रविधि प्रयोग गर्ने, धार्मिक तथा प्राकृतिक पर्यटनको विकास गर्ने र जिल्लाका महत्वपूर्ण धार्मिक स्थललाई समेटेर पर्यटन सर्किट बनाउने योजनालाई प्राथमिकताका साथ अगाडी बढाउने उनको बाचा छ।
Shares

प्रतिक्रिया