मोरङ निर्वाचन क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई ४२ हजार ६६३ मतान्तरले हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुबिना आचार्य विजयी भइन्।
आचार्यले ५५ हजार ५१३ मत पाउँदा डा. कोइराला १२ हजार ८५० मतमा सीमित भए। रुबिनाको सानदार जितले राजनीतिमा नयाँपनको खोजीलाई प्रमाणित गरिदिएको छ।
विराटनगर महानगरपालिका वडा नम्बर ४ आयल निगममा हुर्केकी रुबिनाले विराटनगरकै इडेन नेसनल सेकेन्डरी स्कुल र मेरिल्यान्ड कलेजबाट प्लस टु गरेपछि काठमाडौँ विश्वविद्यालयबाट एमबीए पूरा गरिन्।
ललितपुमा रहेको टेवा नामको संस्थामा लामो समसम्म काम गरेकी रुबिना पहिलो प्रयासमै प्रतिनिधि सभा सदस्य बनेकी छन्।
यसै सन्दर्भमा आचार्यसँग नेपालखबरले कुराकानी गरेको छ:
यति ठुलो मतान्तरले विजयी हुनुभयो, कस्तो लागिरहेको छ?
एउटा ठुलो उत्साह र जिम्मेवारी महसुस भइरहेको छ। मतान्तरको ठ्याक्कै आकलन नगरे पनि जनतामा एउटा विद्रोह र परिवर्तनको सामूहिक संकल्प छ भन्ने हामीले बुझेका थियौँ। यो जित मेरो मात्र नभई ’जेनजी’ आन्दोलन र पुस्तान्तरणका पक्षमा आएको जनलहर हो। ६० वर्षमाथिका उम्मेदवारभन्दा नयाँ संकल्प र ऊर्जा बोकेका युवालाई नै देशले खोजेको सन्देश यो नतिजाले दिएको छ।
तपाईँलाई बाहिरको उम्मेदवार भन्ने आरोप पनि लाग्यो नि?
तपाईँको राजनीतिक यात्रा कसरी सुरु भयो?
मैले २२ वर्षको उमेरदेखि उज्ज्वल थापा दाइको ’विवेकशील अभियान’मार्फत राजनीतिक यात्रा सुरु गरेकी हुँ। काठमाडौँ केन्द्रित युवा आन्दोलन र सडक महिलाका अधिकारका विषयमा आन्दोलनको नेतृत्व गरेर म सधैँ सक्रिय रहेँ। पछि विवेकशील र साझा पार्टीको एकता भएपछि म युवा संगठन र महिला अभियानमा सक्रिय रूपमा लागेको थिए। विवेकशील साझा पार्टीको प्रथम केन्द्रीय महाधिवेशन पछि म केन्द्रीय सदस्य पनि हो। अहिले देशमा युवाको नेतृत्व आवश्यक छ भन्ने महसुस गरेर रास्वपामार्फत चुनावी मैदानमा आएकी हुँ।
राजनीतिबाहेक तपाईँको अन्य सामाजिक अनुभव कस्तो छ?
म विगत आधा दशकदेखि सामाजिक अभियन्ताका रूपमा सक्रिय पनि छु। विशेषगरी महिलाहरूको सामाजिक, राजनीतिक र आर्थिक सशक्तीकरण तथा त्यसका लागि आवश्यक पर्ने कानुनी पक्षबारे वकालत गर्दै आएँ। टेवा भन्ने संस्थाबाट मैले १७–१८ वटा जिल्लामा कार्यक्रम संयोजककै रूपम काम गर्दै आएँ। नीति निर्माण र महिला सहभागिता सुनिश्चित गर्न म निरन्तर लागिरहेकी थिएँ।
तपाईँले यही क्षेत्र नै किन रोज्नु भयो?
आफू जन्मेको, हुर्केको क्षेत्र हो। यो क्षेत्रलाई मैले नजिकबाट बुझेको छु। अरू क्षेत्रभन्दा त आफू जन्मे-हुर्केको क्षेत्रबाट नै उठ्नलाई सजिलो होला भन्ने थियो। यहाँको माटोलाई मैले बुझेको छु, यहाँको पृष्ठभूमिलाई मैले बुझेको छु। छोरी मान्छे भइसकेपछि बिहे गरेर कतै गए पनि आफ्नो जन्मभूमि त यहीँ नै हो नि! कर्मभूमिभन्दा त सबै जीवन बिताएको जन्मभूमि नै प्यारो हुन्छ। २०/२५ वर्ष त यही माटोमा म हुर्किएको हो नि त। यही क्षेत्रको समस्यालाई महसुस गरेर सम्बोधन गर्न सक्छु भन्ने लागेर नै मैले यो क्षेत्र रोजेको हो।
डा. शेखर कोइरालालाई यति धेरै मतान्तरले हराउँछु जस्तो लागेको थियो?
म कति मतान्तरले विजयी हुन्छु भन्नेचैँ सोचेको थिइनँ। यति नै मतान्तर हुन्छ भनेर आकलन नगरिए पनि जनताको भावनाअनुसार राम्रै मत ल्याएर जित्छु भन्ने चै थियो। जनताको आवाज, विद्रोह र सामूहिक संकल्पलाई मतमा कसरी ल्याउने भनेर हामीले बुझिरहेका थियौँ। जेनजी आन्दोलनपश्चात् युवाको पुस्तान्तरण र रुपान्तरणका लागि हामीले एउटा ठुलो खाडल हाम्रो देशमा बनाईसकेका रहेछौँ।
आफ्नै देशमा बसीखान समस्या भएको हुँदा युवाहरू आफैँ राजनीतिको फोहोरी खेललाई सफा गर्न लागिपर्नुभएको थियो। युवाको नेतृत्व हुनुपर्छ भनेर नै हामीलाई रास्वपाले देशैभरि युवाको प्रतिनिधित्वका लागि उम्मेदवार बनाएको थियो। ६० वर्षभन्दा माथिका दुईजनाबाहेक अरू सबै उम्मेदवार युवा नै हुनु। म आफैँ युवा भएकाले मेरा प्रतिस्पर्धी उम्मेदवारलाई सहजै पराजित गर्न सक्छु भनेर नै मैदानमा आएको थिएँ। युवाको प्रतिनिधित्वका लागि पनि हामीले जित्नैपर्छ भन्ने मनोविज्ञानका साथ लागेका थियौँ। यहाँ कसको विरासत र इतिहास भन्न भन्दा पनि नयाँ संकल्प, नयाँ ऊर्जा, नयाँ विचार बोकेको शक्ति र नयाँ युगको सुरुवात गर्नुपर्छ भनेर हामीजस्तो युवा आएका थियौँ, निर्वाचित भएका पनि छौँ।
निर्वाचित हुनुभयो, अब तपाईँका मुख्य प्राथमिकता के के हुन्?
हाम्रो पार्टीको प्रमुख एजेन्डा नै सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण हो। हामीले निर्वाचनअघि गरेको करारपत्रअनुसार ४६ साल पछिका उच्च पदस्थ पदाधिकारी, राजनीतिज्ञहरूको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचारका फाइलहरू खोल्ने काममा जोड रहनेछ। अवैध रूपमा जम्मा गरिएको सम्पत्ति राष्ट्रियकरण गर्ने हाम्रो लक्ष्य छ।
त्यस्तै आगामी ५ वर्षभित्र १२ लाख युवाका लागि आईटी, पर्यटन र सेवा व्यापारजस्ता विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्ने योजना छ। स्थानीय स्तरमा मोरङ ६ को तटबन्ध, बाढी नियन्त्रण, ढल व्यवस्थापन र अव्यवस्थित सहरीकरणजस्ता दशकौँदेखिका पुराना समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्न म सधैँ पहल गर्नेछु।
Shares

प्रतिक्रिया