नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल शर्माले रुकुम पश्चिमको राजनीतिमा ठूलो बदलाव ल्याएका छन्। २०६४ देखि निरन्तर अपराजित रहँदै आएका र पटक–पटक मन्त्री बनेका जनार्दन शर्मालाई पराजित गर्दै गोपालले सिंहदरबारको यात्रा तय गरेका छन्।
जनार्दन पहिलो संविधानसभा निर्वाचनदेखि रुकुममा निर्विकल्प जस्तै थिए। गृह, ऊर्जा र अर्थ जस्ता शक्तिशाली मन्त्रालय सम्हालेका उनलाई हराउनु असम्भव जस्तै मानिन्थ्यो। तर, यसपटक मतदाताले त्यसलाई सम्भव पारिदिए।
गोपाल रुकुमको भुइँ तहबाटै राजनीतिमा प्रवेश गरेका हुन्। उनी २०७४ मा कर्णाली प्रदेश सभा सदस्य र प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए। तर, यसपटकको संघीय निर्वाचन उनका लागि फरक भयो।
जनार्दनले पार्टी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएपछि गोपालले आफ्नै पूर्वनेतासँग लड्नुप¥यो। उनले जोखिम उठाए। जुन गोपालका लागि सही कदम भयो।
उनले २१ हजार ६०९ मत ल्याएर चुनाव जित्दा कांग्रेसका राजु केसी दोस्रो भए। जनार्दनलाई तेस्रो स्थानमा छोडेर गोपालले ऐतिहासिक जित निकाल्दै रुकुमेली राजनीतिमा एउटा अध्याय अन्त्य गरिदिएका छन्।
अघिल्लो पटकको चुनावमा ३४ हजार बढी मत पाएर जनार्दन निर्वाचित भएका थिए।
मतदाताका कडा प्रश्न
२०६४ देखि हरेक निर्वाचनमा जनार्दनलाई जिताउन मरिमेटेर काम गरेको, संगठन सम्हालेको उनी बताउँछन्। सोहीकारण तत्कालीन माओवादीको तल्लो कमिटीदेखि जिल्ला नेतृत्वसम्म उनले बलियो सांगठनिक आधार तयार गरेका छन्।
जब जनार्दनले माओवादी छोडे, गोपालका अगाडि दुईवटा बाटो थिए– जनार्दनलाई साथ दिने कि, आफैँले बलियो बनाएको संगठन हाँक्ने? गोपालले संगठन रोजे।
‘आफ्नै नेताविरुद्ध लड्नुपर्ला भन्ने मैले कल्पना गरेको थिइनँ, तर, राजनीतिक परिस्थितिले मलाई त्यो जिम्मेवारी दियो,’ गोपालले जितेपछि नेपालखबरसँग भने, ‘किनकि वर्षौँदेखि हुर्काएको संगठन र जनताको पक्षमा उभिनुप¥यो।’
चार वटा चुनावमा कमान्डर बनेर जनार्दनलाई जिताएको देखेका रुकुमेलीले गोपाललाई सहर्ष स्वीकार गरे। तर, चुनाव प्रचारका क्रममा आफूलाई जनताले गम्भीर प्रश्नले घेरेको उनी बताउँछन्।
‘हामीले नेता त बनाउँछौँ, पटक–पटक जितायौँ पनि, तँलाई पनि जिताउँछौँ। तर जनार्दन जस्तै धोका तैले दिन्नस् भन्ने विश्वास के छ?’ गोपालले मतदाताको प्रश्न उधृत गर्दै भने, ‘यो निर्वाचनको सबैभन्दा कठिन परीक्षा मेरो लागि यही थियो। ४२ दिनसम्म गाउँ–गाउँ डुल्दा विकासका योजनाभन्दा बढी म राजनीतिक रूपले धोका दिने छैन भन्ने कसम खाएँ।’
संगठन र जनतासँग इमानदार भएर काम गर्ने प्रतिबद्धता जनाउन उनले यसपटक विगतका चुनावहरूमा भन्दा बढी मेहनत गर्नुपरेको पनि बताए।
देशैभरि रास्वपाको लहर फैलिँदा रुकुम पश्चिममा त्यसले प्रभाव नपार्नुको मुख्य कारण यहाँको सांगठनिक जनमत रहेको गोपालको ठम्याइ छ।
‘जनताले निर्धारण गरेको बाटोमा हिँड्ने मेरो पहिलो प्रतिबद्धता हो,’ गोपालले भने, ‘मैले यसलाई व्यक्तिगत हैसियत भनेको छैन, यो पार्टी, जनता सबैले सामूहिक रुपमा मलाई दिइएको जिम्मेवारी हो। हाम्रो अगाडि कठिन अवस्था सिर्जना भएको थियो, तर पनि रुकुमको क्रान्तिकारी विरासत जोगाउन मात्र होइन, क्रान्तिकारी विचारलाई उचाइमा पु¥याउन हामी सफल भएका छौँ।’
नेकपाका रुकुम पश्चिम संयोजक गोविन्द रोकाले निकै मेहनत गरेर परिणाम आफ्नो पक्षमा ल्याएको बताए।
‘संगठन र नेता कार्यकर्ता परिचालित हुँदा जित निकाल्न सम्भव भएको हो,’ उनले भने, ‘इमानदार उम्मेदवार, सालीन व्यक्तित्वले पनि भूमिका खेल्यो।’
त्यसो त रुकुमले फुट र विभाजनलाई अस्वीकृत गरेको उनी बताउँछन्।
Shares

प्रतिक्रिया