राजनीति


कोइरालाको गढमा घण्टीको गर्जन: मोरङ ४ र ६ मा कांग्रेस-एमालेको विसर्जन

कोइरालाको गढमा घण्टीको गर्जन: मोरङ ४ र ६ मा कांग्रेस-एमालेको विसर्जन

सुमन सुस्केरा
फागुन २३, २०८२ शनिबार १३:३५, काठमाडौँ

नेपाली राजनीतिमा ‘विराटनगर’ एउटा सहर मात्र होइन, एउटा राजनीतिक स्कुलिङ पनि हो। तर, फागुन २१ को चुनावी नतिजाले विराटनगरको त्यो ऐतिहासिक विरासतलाई निर्मम ढंगले किनारा लगाइदिएको छ। मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बेहोरेको ४२ हजार ६६३ मतको विशाल अन्तरको पराजय केवल एउटा चुनावी हार मात्रै होइन, यो त 'कोइराला' ब्रान्डको ब्याजमा चल्दै आएको परम्परागत राजनीतिको अन्त्य पनि हो।

रास्वपाकी उम्मेदवार रुविना आचार्यले ५५ हजार ५१३ मत ल्याएर सानदार जित दर्ता गर्दा डा. कोइराला मात्र १२ हजार ८५० मतमा सीमित हुनुले कांग्रेसको आधारभूत संगठन (भोट बैंक) नै भत्किएको संकेत गरेको छ।

विरासत भर्सेस विद्रोह
२००७ सालको क्रान्तिको जग हालेको कोइराला परिवारका लागि यो नतिजा बिर्सनलायक छ। १४ औँ महाधिवेशनमा पार्टीभित्र विद्रोहको नेतृत्व गरेका डा. कोइरालाले विशेष महाधिवेशनमा देखाएको 'दोधारे चरित्र' का कारण मतदाता मात्र होइन, आफ्नै कार्यकर्ताले समेत उनलाई पत्याएनन्। उता, नेकपा एमालेका उम्मेदवार विनोद ढकालको अवस्था त झन् दयनीय बन्यो। ८ हजार ३१७ मतमा खुम्चिएका ढकालले जमानत समेत जोगाउन सकेनन्। 

एकातिर कोइराला परिवारको ऐतिहासिक विरासत थियो भने अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तीव्र लहर। ढकाल यी दुई ध्रुवको बीचमा आफ्नो 'स्पेस' बनाउन असफल देखिए। मतदाताले कि त पुरानो संस्थापन (कांग्रेस) रोज्ने कि त पूर्ण परिवर्तन (रास्वपा) रोज्ने मुड बनाउँदा ढकालजस्ता परम्परागत दलका दोस्रो तहका नेताहरू प्राथमिकतामा परेनन्।

पटक-पटक अवसर पाउने तर नतिजा निकाल्न नसक्ने उम्मेदवारलाई नै पार्टीले टिकट दिएकोमा एमालेभित्रै एउटा तप्का असन्तुष्ट रहेको हुन सक्छ। मोरङ एमालेभित्रको गुटबन्दी र उम्मेदवार व्यवस्थापनमा देखिएको कमजोरीले गर्दा उनले आफ्नै संगठनको पूर्ण साथ पाउन सकेनन्, जसको फाइदा सिधै रुविना आचार्यलाई पुग्यो।

क्षेत्र नम्बर ४ मा पनि उस्तै आँधी
मोरङ–६ को पराकम्प क्षेत्र नम्बर ४ मा पनि उत्तिकै शक्तिशाली देखियो। कुनै समय महेश आचार्यको वर्चस्व रहेको र पछि माओवादीका अमनलाल मोदीले 'कब्जा' गरेको यो क्षेत्रमा रास्वपाका सन्तोष राजवंशीले ४० हजार ८३३ मत ल्याएर सबै समीकरण उल्ट्याइदिए।

पार्टीभित्रै विद्रोह गरेर 'सच्चिएको कांग्रेस' को नारा दिएका नवनिर्वाचित महामन्त्री गुरुराज घिमिरेका लागि आफ्नै गृहजिल्ला कठोर साबित भयो। रूपान्तरणको एजेन्डा बोकेका घिमिरेले मात्र १२ हजार ८१८ मत प्राप्त गरे। पार्टीको शक्तिशाली पदमा रहे पनि स्थानीय स्तरमा मतदातासँगको सम्बन्ध टुट्दा कस्तो परिणाम आउँछ भन्ने घिमिरेको नतिजाले ऐना देखाइदिएको छ।

अमनलालको ओरालो यात्रा र एमालेको 'जमानत जफत'
लगातार जित्दै आएका माओवादी नेता अमनलाल मोदी १० हजार ६७२ मतमा खुम्चिँदै तेस्रो स्थानमा पुग्नु अर्को रोचक पक्ष हो। जातीय राजनीतिको सहारामा चुनाव जित्दै आएका मोदीलाई यसपालि मतदाताले अस्वीकृत गरिदिए। एमालेका जीवन घिमिरेको त झन् जमानत नै जफत भयो, जो प्रदेशका पूर्वमन्त्री समेत थिए।

मोरङका यी दुई क्षेत्रको नतिजाले केही गम्भीर प्रश्नहरू छाडेको छ।
१. विरासतको अन्त्य: अब केवल 'कोइराला' वा 'विरासत' को नाममा मतदाताले मत दिँदैनन् भन्ने पुष्टि भएको छ।
२. सुशासनको खोजी: विराटनगरका सचेत मतदाताले गुटबन्दी र आन्तरिक कलहमा रुमल्लिएका पुराना दलको साटो 'डेलिभरी' र नयाँ अनुहार रोजेका छन्।
३. संगठनको संकट: कांग्रेस र एमालेका क्रियाशील सदस्यहरूले नै आफ्ना उम्मेदवारलाई भोट नहाल्नुले पार्टीको सांगठनिक संरचना कति खोक्रो बनेको रहेछ भन्ने उजागर गरेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ ६ मा डा. शेखर कोइरालाले मात्र जमानत जोगाउन सफल भए भने मोरङ ४ मा गुरुराज घिमिरे र अमनलाल मोदीले मुस्किलले जमानत बचाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad