प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ४ स्थानमा अझै मतगणना सुरु हुन सकेको छैन।
निर्वाचन भएको दुई दिन बितिसक्दा पनि भौगोलिक विकटता, मौसमी प्रतिकूलता र राजनीतिक दलहरूबीचको आन्तरिक विवादका कारण ती क्षेत्रमा मतगणना अन्योलमा परेको हो। निर्वाचन आयोगका अनुसार संखुवासभा-१, गोरखा-१, मुगु-१ र धनुषा-१ मा हालसम्म गणना सुरु हुन नसकेको हो।
किन रोकियो गणना ?
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मुख्य दुई कारणले गणनामा ढिलाइ भएको हो। पहिलो, दुर्गम पहाडी तथा हिमाली क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउन समय लागेको छ। दोस्रो, केही क्षेत्रमा मतदानका क्रममा भएका विवादलाई लिएर सर्वदलीय बैठकमा कुरा नमिल्दा गणना प्रक्रिया अघि बढ्न सकेको छैन।
सङ्खुवासभा-१: यहाँका सबै मतपेटिका संकलन भइसकेका छन्। अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको र केही समयमै गणना सुरु हुने आयोगले जनाएको छ।
गोरखा-१: उत्तरी गोरखाका चुमनुव्री र धार्चे जस्ता दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन सडक पहुँच नभएका कारण ढिलाइ भएको हो। ती मतपेटिकाहरू नेपाली सेनाको हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइएका छन्। अब प्राविधिक तयारी पूरा गरी गणना सुरु गरिँदैछ।
मुगु-१: हिमाली जिल्ला मुगुमा पनि विकट क्षेत्रका मतपेटिका संकलन हुने क्रम अन्तिम चरणमा छ। संकलन लगत्तै गणना सुरु गर्ने तयारी छ।
धनुषा-१: यहाँ भने भौगोलिक कारण नभई राजनीतिक विवादका कारण गणना रोकिएको हो। मतदानका क्रममा भएका केही विषयलाई लिएर दलहरूबीच कुरा नमिल्दा सर्वदलीय सहमति खोज्ने प्रयास भइरहेको छ।
यी ४ क्षेत्रमा भएको ढिलाइले समग्र नतिजा घोषणामा केही असर पर्न सक्ने देखिएको छ।
Shares

प्रतिक्रिया