प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०२ वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ।
निर्वाचन आयोगका अनुसार १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ।
प्राप्त मतपरिणाम अनुसार, आज बिहान ६ बजेसम्म नेपाली कांग्रेस १०, नेकपा (एमाले) १२ र नेपाली कम्युनिष्ट पार्टी ११ स्थानमा अगाडि छन्। त्यस्तै श्रम संस्कृति पार्टीका ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी एक तथा एक जना स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि छन्।
आयोगकाअनुसार हालसम्म २२ स्थानको नतिजा घोषणा गरिएकामा रास्वपा १६, नेपाली कांग्रेस ५, एमाले १ र नेपाली कम्युनिष्ट पार्टीका एक उम्मेदवारले स्थानमा विजयी हासिल गरेका छन्।
जसले जिते
आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिषा झा, काठमाडौँ १ मा रन्जु न्यौपाने, काठमाडौँ ३ मा राजुनाथ पाण्डे, काठमाडौँ ४ मा पुकार बम विजयी भएका छन्।
यसैगरी रास्वपाबाटै काठमाडौँ ५ मा सस्मित पोखरेल, काठमाडौँ ७ मा गणेश पराजुली, काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ ९ मा डोलप्रसाद अर्याल, काठमाडौँ १० मा प्रदीप विष्ट, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, रुपन्देही ४ बाट कन्हैया बानियाँ, बाँके १ मा सुरेशकुमार चौधरी र स्यांग्जा १ बाट धनञ्जय रेग्मी विजयी भएका छन्।
यता नेपाली कांग्रेसले ५ क्षेत्रमा जित निकालेको छ। मनाङ १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली, दैलेख १ मा बासना थापा, तेह्रथुममा सन्तोष सुब्बा र रसुवामा मोहन आचार्य विजयी भएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन्।
Shares

प्रतिक्रिया