राजनीति


को हुन् कालिकोटमा ‘ह्याट्रिक’ गरेका महेन्द्र शाही?

को हुन् कालिकोटमा ‘ह्याट्रिक’ गरेका महेन्द्र शाही?

दिनेश बुढा
फागुन २२, २०८२ शुक्रबार २३:५०, सुर्खेत

कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा ‘ह्याट्रिक’ गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। 

कालिकोटमा ८४ हजार ६४६ मतदाता रहेकामा ३९ हजार ६१७ मत खसेको थियो। जसमा शाहीले ११ हजार ३३८ मत प्राप्त गरेर तेस्रो पटक संसद् पुगेका हुन्। 

नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले एमाले उम्मेदवार नगिन्द्र शाहीलाई ९८६ मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले नेपालखबरलाई जानकारी दिए। एमालेका उम्मेदवार नगिन्द्र शाहीले १० हजार ३५२ मत पाए। 

त्यस्तै, नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्माले ४ हजार ५९९ मत पाएर चौथो स्थानमा छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश न्यौपानेले २ हजार ९३७ मत, नेपाल मजदूर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाहीले ५६६ मत प्राप्त गरेका छन्।

यस्तै, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले १६९ मत, स्वतन्त्र उम्मेदवार अस्मिनकुमार विष्टले ६४ मत र अर्का स्वतन्त्र उम्मेदवार मानबहादुर तिरुवाले ६ मत प्राप्त गरेका छन्।

को हुन् शाही?

२०३३ माघ १५ गते कालिकोटको पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस–८) मा मध्यम वर्गीय परिवारमा जन्मिएका महेन्द्रबहादुर शाही यसअघि संविधान सभा सदस्य भएका थिए। उर्जामन्त्री समेत बनेका शाही पछि कर्णालीको मुख्यमन्त्री पनि बनेका थिए। 

उनले २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र) को सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए। पार्टी सदस्यता लिएपछि अर्धभूमिगत रुपमा सैन्य तालिममा सहभागी भएका थिए। 

त्यसपछि २०५२ सालबाटै तत्कालीन माओवादीले सुरु गरेको विद्रोहमा होमिए। उनले माओवादी विद्रोहमा पार्टी संगठन र छापामार भएर समानान्तर भूमिका निर्वाह गरेका थिए। 

कर्णाली अञ्चलमा पहिलो पटक छापामारको स्थापना भएदेखि नै पार्टी र सेनामा समानान्तर भूमिका गरेका शाहीले कालिकोट जिल्लाको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गरेका थिए। सुरुमा वार्ड कमाण्डर भएका उनी स्क्वाइड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका थिए। माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि सेना समायोजनका बेला उनले राजनीतिक मोर्चालाई रोजेका थिए।

सेना समायोजनपछि मूलधारको राजनीतिमा आएका शाहीले आफ्नो निर्वाचन क्षेत्र रहेको कालिकोट जिल्लाको संगठनलाई मजबुत बनाउनतिर ध्यान दिए। जिल्लामा संगठन मजबुत बनाएकै कारण संविधान सभाको दोस्रो निर्वाचनमा पनि उनी विजयी भए। 

२०७० सालमा भएको दोस्रो संविधान सभामा निर्वाचित भएका उनी रक्षामन्त्री बनेका थिए। त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा ८३ दिन उर्जामन्त्री भएका थिए।

यस्तै, २०७४ सालमा भएको आम निर्वाचनबाट कालीकोट निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट कर्णाली प्रदेश सभा सदस्य निर्वाचि भएका थिए। त्यसपछि २०७४ फागुन ३ गते कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए। उनले २०७८ सम्म मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए। 

यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कालिकोटबाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भएका थिए। त्यतिवेला एमालेकै नगिन्द्र शाहीलाई पराजित गरेका थिए। अहिले फेरि उनैलाई पराजित गर्दै प्रतिनिधि सभाको सदस्य बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad