काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न मतगणनाअनुसार खनाल २७ हजार ७ सय ११ मतसहित विजयी भएका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई २१ हजारभन्दा बढीको फराकिलो मतान्तरले पराजित गरे।
खनालका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गरे। नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्के ४ हजार ३ सय ७३ मतमा खुम्चिए। यस्तै, राप्रपाका उद्धवराज भेटुवालले २ सय ९० र नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्माले २ सय ३१ मत पाएका छन्।
खनाल यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। अघिल्लो पटक १४ हजार २ सय २१ मत ल्याएका खनालले यसपटक आफ्नो जनमत झन्डै दोब्बरले बढाएका छन्। अमेरिकाको युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनाल राजनीतिमा आउनुअघि शिक्षा र सामाजिक क्षेत्रमा सक्रिय थिए। उनी 'टिच फर नेपाल' का सह-संस्थापक हुन् भने पुष्पकमल दाहाल नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
विजयी भएपछि प्रतिक्रिया दिँदै खनालले भनेका छन्, "हामीप्रति जनताको ठूलो अपेक्षा छ। भ्रष्टाचार विरुद्धको अभियान र नीतिगत सुधारमा हामी प्रतिबद्ध छौं। सरकार गठन भएको सय दिनभित्रै आम नागरिकले महसुस गर्ने गरी नतिजा दिनेछौं।"
खनालले पछिल्लो राजनीतिक घटनाक्रम र नागरिक आन्दोलनमा राज्यले देखाएको दमनविरुद्धको 'विद्रोह' मतपेटिकामार्फत प्रकट भएको टिप्पणी गरेका छन्।
Shares

प्रतिक्रिया