राजनीति


डमी शिशु बोकेर सडकमा निस्केको १० वर्षपछि रञ्जुले पाएको दोहोरो सफलता

डमी शिशु बोकेर सडकमा निस्केको १० वर्षपछि रञ्जुले पाएको दोहोरो सफलता

आयुषा ढकाल
फागुन २२, २०८२ शुक्रबार १८:४०, काठमाडौँ

दस वर्षअघिको कुरा हो। चिकित्सा शिक्षा सुधारको माग राखेर गोविन्द केसी आन्दोलनरत थिए। 

त्यतिबेला भर्खर २० वर्ष पुगेकी रञ्जु दर्शना उनको आन्दोलनमा ऐक्यबद्धता जनाउन सडकमा निस्किइन्। मातृत्व झल्काउन चौबन्दी चोलो र टाउकोमा नातो बाँधेर आन्दोलनमा आएकी उनको हातमा एउटा डमी शिशु थियो। उनको त्यो फोटो सामाजिक सञ्जालमा चर्चित बन्यो। 

त्यसको ठ्याक्कै १० वर्षपछि फागुन २१ गते उनी लगभग उस्तै स्वरुपमा महाराजगन्जमा मतदान गर्न देखा परिन्। उनको यो तस्बिर पनि भाइरल बन्यो। तर, यस पटक उनको हातमा नक्कली होइन, सक्कली शिशु थियो। भर्खर १० दिनको। 

शुक्रबार उनको बच्चाको न्वारन गरिएको छ। र, सँगसँगै काठमाडौँ १ को नतिजा पनि सार्वजनिक भइसकेको छ। जहाँ उनले ९ हजार ९१ मतान्तरसहित चुनाव जितेकी छन्।

रञ्जुले आमा बन्ने र संसदमा पुग्ने मौका एकैसाथ पाएकी छन्।

अप्रेसन गरेको घाउ आलै छ, तर उनको आत्मविश्वास भने उच्च छ। सन्तान च्यापेर उनी उसको भविष्य बनाउने वाचाका साथ खुसी बाँड्न सडकमा निस्किइन्।

रञ्जु १७ वर्षकी थिइन्, जब उनी विवेकशील नेपाली पार्टीबाट राजनीतिमा प्रवेश गरेकी थिइन्। ढुङ्गा हान्दै र टायर बाल्दै नेपाल बन्द भन्नेहरूको विरोधमा ‘नेपाल बन्दैछ र खुला छ’ भन्दै राजनीतिमा आएकी हुन् उनी।

२२ वर्षको उमेरमा काठमाडौँ महानगरको मेयरमा उठेर २३ हजार ४३९ मत ल्याएर उनी तेस्रो भएकी थिइन्। सो समयमा उनी निर्वाचित नभएतापनि युवालाई वैकल्पिक शक्तिप्रति आकर्षित गराउने पात्र बनिन्।

२०७८ मा विभिन्न कारण उनी विवेकशीलबाट अलग भएर स्वतन्त्र बसिन्। काठमाडौँ–५ बाट २०७९ को प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकी उनले ६०० मत ल्याएकी थिइन्। त्यतिबेला उनको हार भए पनि रञ्जुको त्यो आँटलाई थुप्रैले सराहना गरेका थिए।

यसपटक रञ्जु रास्वपा प्रवेश गरेर केन्द्रीय सदस्य बनिन्। चुनाव नजिकिँदै जाँदा उनी सुत्केरी हुने दिन पनि नजिकिँदै थियो। त्यसैले चुनावी प्रचार–प्रसारमा असहज हुन्छ भनेर उनको नाम समानुपातिकतर्फ समावेश गरिएको थियो। तर, चौतर्फी विरोधपछि उनले काठमाडौँ–१ बाट प्रत्यक्ष चुनाव निर्णय गरिन्।

गर्भवती अवस्थाको अन्तिम समयसम्म श्रीमानको हात समाउँदै मत माग्न हिँडेकी उनलाई कतिपयले उडाए। कसैले उनको ‘बडी सेमिङ’ गरे त कसैले ‘यो यसको चुनाव जित्ने स्टन्ट हो’ भने। तर, रञ्जुले यी सबै कुराको वास्ता गरिनन्। 

नभन्दै, फराकिलो अन्तरले पुराना स्थापित दलका उम्मेदवारलाई किनारा लगाउँदै उनी विजयी भइन्।

उनको क्षेत्रमा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री ६ हजार ३६४ मतसहित दोस्रो भएका छन्। तेस्रो पटक यही क्षेत्रबाट पराजित राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मतमा चित्त बुझाउनुपर्‍यो। 

यो सानदार विजयसँगै रञ्जुले आफ्नो जीवनका दुई महत्वपूर्ण खुड्किलो एकै पटक पार गरेकी छन्। उनको मातृत्वको यात्रा र पहिलो संसदीय जितपछिको नयाँ राजनीतिक अध्याय एकसाथ सुरु भएको छ। र, उनको १२ वर्ष लामो राजनीतिक सक्रियताले पनि सार्थकता पाएको छ।

‘यो वैकल्पिक राजनीतिको पनि जित हो र विवेकशील राजनीतिको पनि जित हो,’ चुनाव जितेपछि उनले भनेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad