राजनीति


मतदान गर्न उत्साहित छन् आन्दोलनकारी जेनजी, मिराज भन्छन् : जुठो पर्‍यो, भोट हाल्दिनँ

चुनावअघि छानबिन प्रतिवेदन नआएकोमा जेनजी असन्तुष्ट, बहिष्कार गर्दै २ नेता
मतदान गर्न उत्साहित छन् आन्दोलनकारी जेनजी, मिराज भन्छन् : जुठो पर्‍यो, भोट हाल्दिनँ

आयुषा ढकाल
फागुन २०, २०८२ बुधबार २२:२५, काठमाडौँ

आफूहरूको सहभागितामा भएको आन्दोलनका कारण हुन लागेको निर्वाचनमा मतदान गर्न जेनजी अगुवाहरू उत्साहित देखिएका छन्। तथापि, आन्दोलनका घटना छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन चुनावअघि सार्वजनिक नभएकोमा उनीहरूले खिन्नता प्रकट गरेका छन्। 

एकाध जेनजीले भने आफूहरूको माग पूरा नभएको भन्दै मतदान नै नगर्ने बताएका छन्।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि केपी शर्मा ओलीको सरकार ढालेपछि अन्तरिम सरकारले चुनावको मिति तोकेको थियो। आन्दोलनको बलमा सरकार ढलेका धेरै देशमा समयमा चुनाव नहुने समस्या देखिन्छ। तर, नेपामा त्यस्तो अवस्था सिर्जना नभएकोमा जेनजीहरू खुसी छन्।

जेनजी फ्रन्टकी संयोजक रक्षा बम समयमै निर्वाचन हुन लागेको कुराले निकै उत्साहित र खुसी भएको बताउँछिन्।

‘म त चुनाव भइराखेको छ भन्ने कुराले नै खुसी छु। तीनचार दिनदेखि यही सोचेरै खुसी भइराखेको छु,’ बमले नेपालखबरसँग भनिन्।

निकै संवेदनशील अवस्थाबाट तोकेकै समयमा चुनावसम्म आइपुग्नु भनेको देशको स्थिति र सरकारको अवस्था राम्रो रहेछ भनेर बुझ्नुपर्ने उनको तर्क छ। 

रक्षा कैलाली–१ की मतदाता हुन्। हाल उनी मतदानको लागि आफ्नो क्षेत्रमा पुगेकी छिन्। संविधानमा लागेको चोटमा मलमपट्टी गर्नको लागि पनि यो चुनाव महत्वपूर्ण रहेको बमले बताइन्।

‘साथै, जेनजीले उठाएका मुद्दालाई सदनबाट पारित गर्नु पर्छ र हाम्रा माग सदनबाटै सम्बोधन हुनुपर्छ भन्नका लागि पनि चुनाव महत्वपूर्ण भयो,’ रक्षाले भनिन्।

काउन्सिल अफ जेनजीका कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङ आफ्नो मताधिकार प्रयोग गर्न खोटाङ पुगेका छन्। चाम्लिङ तोकिएको समयमा चुनाव हुन लागेको कुराले खुसी छन्।

मुलुकलाई संवैधानिक मार्गमा फर्काउन यो निर्वाचन अनिवार्य रहेको उनको धारणा छ।

कतिपयले जेनजी आन्दोलनलाई आन्दोलन होइन, अराजकता, विध्वंसको नाम दिएका छन्। जेनजी आन्दोलन के हो भन्ने कुराको छिनोफानो पनि चुनाव नै भएकाले यो निर्वाचन अत्यन्तै विशेष रहेको उपार्जुन बताउँछन्।

‘भदौ २३ र २४ को वास्तविक व्याख्या गर्दै त्यसलाई न्याय गर्नका लागि भइराखेको निर्वाचन भएको हिसाबले पनि यो चुनाव विशेष छ,’ उपार्जुनले भने।

जेनजी आन्दोलनका घाइते तथा घाइते जेनजीका अध्यक्ष विजेस गोले मतदानका लागि आफ्नो क्षेत्र सिन्धुपाल्चोक–१ पुगेका छन्। गोलेले यस पटक पहिलो चोटि मतदान गर्दै छन्। उनी अबको सरकार स्थिर हुनेछ भन्नेमा आशावादी छन्।

‘विकल्पको बाटो चुनाव नै भइसकेपछि एउटा स्थिर सरकार बनाउनको लागि हामीले यसलाई पनि स्वीकारेर अगाडि बढेका छौँ,’ गोलेले नेपालखबरसँग भने।

जेनजी मुभमेन्ट अलायन्सकी प्रतिनिधि मोनिका निरौला आफ्नो क्षेत्र काठमाडौँ–३ बाट मतदान गर्दै छिन्। निरौला देशले एउटा जटिल परिस्थितिबाट निकास पाउन लागेकाले ढुक्क भएकी छिन्।

उनी भन्छिन्, ‘देशले यथास्थितिबाट काँचुली फेर्ने बेला आएको छ भन्ने सन्देशका साथ यो चुनाव आएको छ र यो चुनावपछिको नेतृत्वसँग जेनजी आन्दोलनका मागहरूलाई संस्थागत गर्ने जिम्मेवारी छ।’

तर, मोनिका चुनावभन्दा पनि कार्की आयोगले सार्वजनिक गर्ने प्रतिवेदनप्रति बढी चासो रहेको बताउँछिन्।

‘निर्वाचनलाई त अब स्वागतै गर्नु पर्‍यो। तर, यो सरकारले आफ्नो जिम्मेवारी चाहिँ पूरा गर्छ कि गर्दैन भन्ने प्रश्नले म अझै चिन्तित छु,’ निरौलाले भनिन्।

जेनजी प्रतिनिधि तनुजा पाण्डेले पनि चुनावका कारण आशावादी भए पनि छानबिन प्रतिवेदन सार्वजनिक नगरीकन देश निर्वाचनमा गएकोमा चिन्ता व्यक्त गरिन्।

‘प्रतिवेदन सार्वजनिक नगरीकन र तथ्यहरू बाहिर ननिकालीकन हामीलाई गुमराहमा राखेर भोट हाल्नु भन्नु धोका हो,’ तनुजाले नेपालखबरसँग भनिन्, ‘हामी आन्दोलनकारीहरू पनि एउटै माग पूरा नभईकन निर्वाचनमा गयौँ, त्यो चाहिँ एकदमै दुखद कुरा हो।’

प्रतिवेदन पछि सार्वजनिक हुँदा निर्वाचित भएर आएको मान्छे दोषी देखिएमा फेरि उप–निर्वाचन गर्नु पर्ने र यसलाई देशले धान्न गाह्रो हुने पाण्डेले बताइन्। उनी हाल आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदान गर्न पुगेकी छन्।

जेनजी नेपाल फ्रन्टका युजन राजभण्डारी आफ्नो निर्वाचन क्षेत्र भक्तपुर–२ बाट मतदान गर्नको लागि उत्साहित र सकारात्मक छन्। हाल जन–निर्वाचित सरकार नभएका कारणले यो निर्वाचन निकै महत्वपूर्ण र विशेष रहेको उनी बताउँछन्।

लामो समयदेखि निर्वाचनको विपक्षमा रहेका जेनजी युवा मिराज ढुङ्गाना र जितेन्द्र सिंह महतो भने मतदान गर्ने पक्षमा छैनन्। केही दिनअघि मात्र नैतिक हिसाबले नेपाली कांग्रेसका सभापति गगन थापालाई समर्थन गर्न सर्लाही पुगेका मिराले भोट नहाल्ने बताए।

ढुङ्गाना भन्छन्, ‘हाम्रो आन्दोलन तुहिएको छ। मलाई जुठो परेको छ। यो आन्दोलन तुहिएको कारणले गर्दा मैले निर्वाचनमा भोट हाल्न मिल्दैन र कांग्रेस २.० लाई मेरो नैतिक समर्थन छ।’

उनी आफू कुनै पनि पार्टी प्रवेश नगरेको बताउँछन्। नेपाली कांग्रेसमा नयाँ नेतृत्व, एक सयभन्दा बढी नयाँ उम्मेदवार र पार्टीमा राजनीतिक मान्छेहरू र साँचो एजेन्डा भएको कारणले पुरानो कांग्रेसलाई नभई बदलिएको कांग्रेस २.० लाई समर्थन गरेको बताउँछन्।

‘म भोट चाहिँ हाल्दिनँ तर नयाँ सरकार आउँदा कसले राम्रो सरकार बनाउँछ भनेर बुझ्दा कांग्रेस २.० ले चै सुशासन ल्याउला कि भन्ने मेरो कुरा हो,’ मिराजले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad