राजनीति


भोट हालेको संकेत गरेमा १५ हजार जरिवाना, चुनावको बेला कारबाही हुने यस्ता छन् २५ कसूर

भोट हालेको संकेत गरेमा १५ हजार जरिवाना, चुनावको बेला कारबाही हुने यस्ता छन् २५ कसूर

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १९:२१, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनमा भोट हालेको संकेत गरेमा पनि कारबाही हुने व्यवस्था छ। यससँगै निर्वाचनसँग सम्बन्धित २५ वटा कसूरमा कारबाही हुनसक्छ। 

प्रतिनिधि सभाको निर्वाचनसँग सम्बधित तीन वटा कानुन छन्। जसमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन-२०७४, निर्वाचन आयोग ऐन-२०७३ र निर्वाचन (कसूर तथा सजाय) ऐन-२०७३ छन्। तीनै कानुनमा गरेर ३५ वटा कसूरमा कारबाही हुने व्यवस्था रहेको छ। 

पहिलो उम्मेदवारको अयोग्यता सम्बन्धी व्यवस्था कसूर छ। निर्वाचनसम्बन्धी प्रचलित कानुन बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछ।

दोस्रो, निर्वाचनमा निर्धारित हदभन्दा बढी खर्च गरेमा सजाय हुने व्यवस्था छ। यसमा जरिवाना नबुझाउनेलाई उम्मेदवार हुन रोक्नेसम्मको सजायको व्यवस्था रहेको छ। 

तेस्रो, कसैले पनि उम्मेदवारी दिँदा झुट्टा विवरण वा कागजात संलग्न गरी मनोनयन पत्र पेश गर्न वा गर्न लगाउन हुँदैन। यस्तो कार्य गर्ने व्यक्तिलाई निर्वाचन अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ। 

चौथो, कसैले पनि निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमले रोकावट वा हस्तक्षेप गर्न वा गराउन पाउँदैन। यस्तो कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ। 

यसैअन्तर्गत, कसैले पनि मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, बिगार्न वा खरिद गर्न पाउँदैन। यस्तो कार्य गर्ने व्यक्तिलाई २५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। 

पाँचौँ, मतपत्रको दुरुपयोग गर्न गर्न पाइँदैन। मतपत्र दुरुपयोग गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ। 

छैटौँ, गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने कानुनी व्यवस्था छ। यस्तो कसूरमा एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ। 

सातौँ, मतदानको अधिकारविना मतदान गर्न हुँदैन। मतदानको अधिकारविना मतदान गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ। 
आठौँ, कसैले पनि एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन। यस्तो गरेमा मतदान अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुी व्यवस्था रहेको छ। 

नवौँ, मत सङ्केत सार्वजनिक गर्न पाइँदैन। मत सङ्केत सार्वजनिक गर्नेलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नछन्।
दशौँ, कसैले पनि मतदान गर्दा मतदान सम्बन्धी प्रचलित संघीय कानुन वा आयोगले तोकेको प्रक्रिया उल्लङ्घन गर्न हुँदैन। प्रक्रिया उल्लंघन गर्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ। 

एघारौँ, मतपत्रबाहेक अन्य कुनै वस्तु मतपेटिकाभित्र खसाल्न वा राख्न पाइँदैन। यस्तो कार्य गरेमा १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ। 

बाह्रौँ, मतदान भएको मतपत्र बिगार्न वा नष्ट गर्न हुँदैन। मतदान भएको मतपत्र बिगार्ने वा नष्ट गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ। 

तेह्रौँ, कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन। यस्तो गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ। 

चौधौँ, कुनै पनि गैरनेपाली नागरिकले निर्वाचनमा मतदान गर्न पाउँदैन। अनधिकृत रुपमा मतदान गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ। 

पन्ध्रौँ, उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि वा आयोगबाट अनुमति प्राप्त व्यक्तिबाहेक अन्य कुनै पनि व्यक्ति मतगणना स्थलमा प्रवेश पाइँदैन। यस्तो कार्य गरेमा १५ हजार रुपैयाँसम्म जरिवाना गरिने कानुनी व्यवस्था रहेको छ। 

सोह्रौँ, मतगणना सम्बन्धी सामग्री बिगार्न वा नोक्सान गर्न पनि पाइँदैन। मतगणना सम्बन्धी सामग्री बिगार्न वा नोक्सान गर्ने कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ। 

सत्रौँ, गलत ढङ्गले मतगणना गर्न नहुने कानुनी व्यवस्था रहेको छ। यस्तो गरेमा निर्वाचन अधिकृत वा कर्मचारीलाई निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम कारबाही हुन्छ। 

अठारौँ, सुरक्षाको लागि खटिएको सुरक्षाकर्मीबाहेक अन्यले हातहतियार साथमा लिएर हिँड्न वा प्रयोग गर्न हुँदैन। यस्तो कार्य गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ। 

उन्नाइसौँ, मतदान हुने दिन कसैले पनि शान्ति भङ्ग गर्न हुँदैन। यस्तो कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृत वा अनुगमनकर्ताले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ। 

बिसौँ, निर्वाचनको सिलसिलामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले कुनै उम्मेदवार वा मतदाता वा निजहरुमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्न हुँदैन। यस्तो कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ। 

एक्काइसौँ, नगद वा जिन्सी दिन वा लिन नहुने कानुनी व्यवस्था छ। चुनावको वेला नगद वा जिन्सी दिने वा लिने कार्य गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।

बाइसौँ, निर्वाचन अधिकृत, मतदान अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीले कुनै लिखत, कागजात, अभिलेख वा विवरण झुट्टा हो भन्ने मनासिब आधार र कारण हुँदाहुँदै त्यस्तो लिखत, कागजात वा अभिलेखलाई कानुन बमोजिमको प्रयोजनका लागि मान्यता दिन हुँदैन। गलत लिखतलाई मान्यता दिने कार्य गर्ने निर्वाचन अधिकृत, मतदान अधिकृत वा कर्मचारीलाई निजको सेवा शर्त सम्बन्धी कानुन बमोजिम कारबाही हुन्छ। 

तेइसौँ, निर्वाचन अधिकृत, मतदान अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी वा सुरक्षाकर्मी वा आयोगबाट खटाइएको अनुगमनकर्ता आफ्नो पदीय जिम्मेवारीबाट पन्छिन हुँदैन। पदीय जिम्मेबारीबाट पन्छिने कार्य गर्ने निर्वाचन अधिकृत, मतदान अधिकृत, कर्मचारी वा सुरक्षाकर्मीलाई निजको सेवा शर्त सम्बन्धी कानुन बमोजिम कारबाही हुन्छ। 

चौबिसौँ, कसैले पनि कानुन बमोजिम बाहेक निर्वाचनको गोपनीता भंग गर्न हुँदैन। कानुन बमोजिमबाहेक निर्वाचनको गोपनीता भङ्ग गर्ने कार्य गर्ने व्यक्तिलाई आयोग, निर्वाचन अधिकृत वा मतदान अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ। 

पच्चिसौँ, कसैले पनि यस ऐनमा अन्यत्र उल्लिखित कार्यका अतिरिक्त निर्वाचन सम्बन्धी कार्यमा प्रतिकूल असर पर्ने अन्य कुनै किसिमको कार्य गर्न वा गराउन हुँदैन। यस्तो कार्य गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad