राजनीति


चुनावका दिन चलाउने छुट पाएका गाडीमा अन्य व्यक्ति बोक्न नपाइने

चुनावका दिन चलाउने छुट पाएका गाडीमा अन्य व्यक्ति बोक्न नपाइने

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १९:४८, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनको दिन चलाउन छुट पाएका व्यक्तिबाहेक अन्यलाई गाडीमा चढाउन नपाइने भएको छ। 

निर्वाचन आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गरी सम्बन्धित व्यक्तिले मात्रै सवारी साधन चलाउन सचेत गराएको छ। त्यसबाहेकलाई ओसारपसार गरेमा गाडी चलाउन रोक लगाइने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन्। 

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सवारी पास आवश्यक नपर्ने गरी छुट पाएका सवारी साधनले सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरूलाई ओसारपसार नगर्न हुन सम्बन्धित सबैलाई अनुरोध छ। सो विपरीत गरे/गराइएको पाइएमा स्थानीय प्रशासनले त्यस्ता सवारी साधनको सञ्चालनमा रोक लगाउने बेहोरा समेत यसै विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

आयोगले चुनावका दिन अत्यावश्यक सेवा लगायत आठ प्रकारका सवारी साधन चलाउन छुट दिएको छ। जसमा दकमल, एम्बुलेन्स र शववाहनलाई पास नचाहिने तय गरेको छ। त्यस्तै, खानेपानीका ट्यांकर, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनलाई पनि पास नचाहिने भएको छ। 

आयोगले दूरसञ्चार सेवा, खनोपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधनलाई पनि छुट दिएको छ। यस्तै, अस्पताल सेवाका सवारीसाधनहरूले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न पास नचाहिने व्यवस्था गरिएको छ। 

यसैगरी, हिडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रुपले अशक्त वा अपांगता भएका व्यक्ति, हिडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र एक जना सहयोगी बोकेका सवारी साधनलाई पनि छुट दिइएको छ। आयोगले नम्बर प्लेटमा सीडी उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधनलाई पनि पास नचाहिने व्यवस्था गरेको छ।

यस्तै, आयोगबाट जारी भएका पर्यवेक्षक परिचपत्रबाहक पर्यवेक्षकले प्रयोग गर्ने सवारी साधन, राष्ट्रिय मानव अधिकार अयोागबाट अनुगमन पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारी साधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारी साधनलाई पनि पास आवश्यक नपर्ने आयोगले जनाएको छ। 

यस्ता सवारी साधनमा सम्बन्धितबाहेक अन्य व्यक्तिलाई ओसारपसार गर्न भने रोक लगाएको हो। त्यस्तो गरेको पाइएमा तत्कालै गाडी रोकिने भएको छ। 

त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जारी गरिएको निषेधित क्षेत्र प्रवेश पास प्राप्त गरेका व्यक्तिलाई पनि घरदेखि कार्यालय तथा कार्यालयदेखि घरसम्म आउन जान पास आवश्यक नपर्ने व्यवस्था गरिएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad