राजनीति


रवि लामिछानेलाई टक्कर दिइरहेकी मीना खरेलसँग ‘तत्कालै’ : शपथ खानै नपाउनेलाई किन जिताउने? (भिडिओ)


अनिल यादव
फागुन १८ , चितवन

चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी मीना खरेल यतिबेला चर्चाको केन्द्रमा छिन्। किनकि ०७९ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निलो क्रान्तिको उद्गमस्थल भनेर दाबी गरिरहेको यस क्षेत्रमा खरेलले लामिछानेलाई नै बलियो टक्कर दिइरहेकी छन्।

लामो समयदेखि महिला हिंसा र बालबालिकाको क्षेत्रमा सामाजिक अभियन्ताका रूपमा क्रियाशील खरेलले यसपटक चुनावी मैदानमा लामिछानेलाई आच्छुआच्छुु पारिरहेको विश्लेषण गरिँदैछ। 

घरदैलोका क्रममा व्यस्त रहेकी खरेललाई शनिबार साँझ नेपालखबर टिमले चितवनस्थित उनको निवासमै भेटेको थियो। कुराकानीका क्रममा उनी मतदाताबाट प्राप्त प्रतिक्रियाले उत्साहित सुनिइन्। 

अघिल्लो निर्वाचन र उपनिर्वाचन दुवै पटक लामिछानेले भारी मतान्तरले जितेको भए पनि यसपटक परिस्थिति फेरिएको उनको दाबी छ। खरेलका अनुसार मतदाताहरू लामिछानेसँग सन्तुष्ट छैनन्। 

‘मतदाताका गुनासोहरूमध्ये केही गुनासो हामीले प्रतिनिधि पठाएर पनि यो क्षेत्रभित्र प्रतिनिधिविहीन अवस्थामा रह्यौँ र कतिपय कामहरू हुन सकेनन् भन्ने छ। त्यसैले अब हामीले सोच्नुपर्ने बेला आयो भनेर धेरैले भन्नुभएको छ,’ खरेलले नेपालखबर ‘तत्कालै’सँग भनिन्। 

हाल सहकारी ठगी, सम्पत्ति शुद्धीकरण लगायत मुद्दा खेपिरहेका लामिछाने कानुनी झमेलाका कारण संसदमा उपस्थित हुन नसक्ने भन्दै त्यस्तो व्यक्तिलाई सांसद चुन्न नहुने उनको तर्क थियो। 

‘शपथ नै खान नपाउनेलाई जिताएर के गर्ने? उहाँका कारणले गर्दा हाम्रो क्षेत्रको प्रतिनिधित्व नरोकियोस्, अब त्यस्तो खालको उम्मेदवार आवश्यक छ भन्ने जनताले महसुस गरेका छन्,’ खरेलले भनिन्। 

पार्टीभित्रको आन्तरिक द्वन्द्व र गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको प्रसंगमा खरेलले चितवन कांग्रेस अहिले एकढिक्का भएको दाबी गरिन्। 

‘यतिखेर कांग्रेस बदलिएको छ। कांग्रेसको नेतृत्व बदलियो, नीति पनि बदलियो। १६५ निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी छ। मजस्ता १०६ नयाँ उम्मेदवारहरू छौँ प्रतिस्पर्धामा। चितवनको कांग्रेस एकढिक्का छ, एकीकृत भएर हिँडेको छ, त्यसैले चुनाव जितिन्छ,’ उनले भनिन्। 

चितवनमा रवि र बालेन शाहको क्रेज तथा भिडबारे खरेलको आफ्नै विश्लेषण छ। सामाजिक सञ्जालको भिड र वास्तविक मतदातामा फरक हुने उनको बुझाइ छ। 

उनी भन्छिन्, ‘मान्छे आउँदैमा डराउनु पर्ने परिस्थिति होइन। भिड आयो त्यसले मलाई सकारात्मक सन्देश प्रवाह गरेर गयो। यतिखेर एकातिर सोसल मिडियामा मतदान भइरहेको छ, तर मतदाताबाट हुने मतदानमा मैले जित्छु। सोसल मिडियाको मतदान त तपाईंलाई थाहा छ नि अहिले।’

खरेलले आफूलाई स्वच्छ उम्मेदवारका रूपमा प्रस्तुत गर्दै स्थानीय हुनुको नाताले जनताले आफूलाई नै रोज्ने विश्वास व्यक्त गरिन्। महिला हिंसा र बालबालिकाको क्षेत्रमा गरेको काम नै आफ्नो जितको मुख्य आधार भएको उनको तर्क छ। 

‘मैले महिला हिंसा, बालबालिकाको क्षेत्रमा काम गरेँ। मेरो क्षेत्रभित्रका थुप्रै परिवारसँग म ठोक्किएको छु। त्यस आधारले पनि मलाई मत हाल्छन्,’ उनी ढुक्क देखिन्छिन्।

उनले लामिछानेलाई कटाक्ष गर्दै आफू निर्वाचित हुनासाथ काममा लाग्ने बताइन्। 

उनले भनिन्, ‘म त संसद् जाने बित्तिकै शपथ खान्छु, काम प्रारम्भ गर्छु। मैले जितिरहँदा उहाँले पनि जित्नुहुन्छ किनभने उहाँ आफ्नो पार्टीको सभापति हुनुहुन्छ, पार्टी सुदृढीकरणमा लाग्न पाउनुहुन्छ।’

खरेलले थप के–के भनिन्, हेर्नुस् उनीसँग गरिएको भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’ :

फोटो/भिडिओ : सरोज नेपाल
 

फागुन १७, २०८२ आइतबार २२:१९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad