राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन्।
आइतबार रुपन्देहीको खैरेनीचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशको राष्ट्रियता, लोकतन्त्र तथा गणतन्त्रको रक्षा गर्न जनमोर्चाको जित आवश्यक रहेको बताए।
समानुपातिक उम्मेदवार रहेका जनमोर्चा अध्यक्ष केसीले विदेशी शक्तिको प्रभावमा सञ्चालन भइरहेका दलले सत्ता हात पारे देश गम्भीर संकटतर्फ धकेलिन सक्ने चेतावनी दिए।
नेपाललाई अन्तर्राष्ट्रिय शक्तिसङ्घर्षको मैदान बन्न नदिन सचेत नागरिकले सही निर्णय लिनुपर्ने धारणा व्यक्त गर्दै उनले गलत शक्ति विजयी भए देश युक्रेनजस्तै द्वन्द्वग्रस्त अवस्थातर्फ जान सक्ने बताए।
आफ्नो पार्टी स्थापनाकालदेखि नै भ्रष्टाचार, विकृति र विसङ्गति विरुद्ध निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै संघीयता खारेजीको मुद्दालाई दृढतापूर्वक उठाउँदै आएको स्मरण गरे।
‘देशलाई कमजोर बनाउने संरचना र नीतिका विरुद्ध राजमोले निरन्तर आवाज उठाएको छ’ उनले भने, ‘राष्ट्रको स्वाधीनता र जनताको अधिकारको रक्षा गर्न सक्षम शक्ति राजमो मात्रै हो।’
उनले राष्ट्रिय स्वाभिमान जोगाउन राष्ट्रवादी शक्तिलाई बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै जनमोर्चा त्यसको विश्वसनीय विकल्प भएको विचार व्यक्त गरे।
जनमोर्चाका कार्यवाह अध्यक्ष रश्मीराज नेपालीले राष्ट्रियता, जनजीविका र सुशासनका मुद्दालाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा राजमोलाई बलियो शक्ति बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा रुपन्देही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिबहादुर केसीले जनताको समस्या समाधान, विकास निर्माण तथा सुशासन स्थापनाका लागि आफू प्रतिबद्ध रहेको बताउँदै गिलास चिह्नमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गरे।
Shares

प्रतिक्रिया