राजनीति


इरानमा तत्काल सत्ता परिवर्तन असम्भव

इरानमा तत्काल सत्ता परिवर्तन असम्भव

नेपालखबर
फागुन १७, २०८२ आइतबार १९:३२, काठमाडौँ

अमेरिका र इजरायलको पहिलो प्रहारमै इरानका सवोच्च नेता अयतोल्लाह अलि खामेनीसहित दुई दर्जनभन्दा बढि उच्च अधिकारीहरुको निधन भए पनि इरानमा तत्तकाल सत्ता पलट असम्भव देखिएको छ। आफ्नो अचुक निशानप्रति गर्व गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई नयाँ सत्ता सञ्चालनका लागि तयार रहन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्। तर इरानले युद्ध जारी राखेको छ। 


विज्ञ तथा उच्चअधिकारीहरुको भनाई उधृत गर्दै अन्र्राष्ट्रिय सञ्चार माध्यमहरुले इरानमा अमेरिकाले चाहे जस्तो तत्तकाल सत्ता पलट सम्भव नभएको बताएका छन् । त्यसैले युद्ध अझै लम्बिने देखिन्छ। अमेरिका र इजरायलले गरेको आक्रमणप्रति प्रत्याक्रमणमा उत्रिएका इस्लामिक इभोल्युसनरी गार्ड (क्रप्स)ले आईतबार पनि मध्यपर्वका विभिन्न देशमा मिसाईल तथा ड्रोन हमला जारी राखेका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाए अनुसार आईतबार इरानको मिसाइल हमलाबाट इजरायलको   राजधानी तेलअभिवमा ४० भन्दा बढि भवनहरु ध्वास्त भएका छन् भने पाँच जनाको मृत्यु भएको छ।

इरानले यूएई, ओमन, कतार, बहराईनलगायतका देशमा सयाैँ मिसाइल प्रहार गरेको छ। त्यसमध्ये अधिकांशलाई ‘इन्टरसेप्ट’ (आकाशमै ध्वास्त पारिएको) जनाइएको छ। यद्यपी केहि अग्प्ला भवनहरुमा ड्रोन विष्फोट भएको तथा आकाशमा ध्वास्त पारिएका मिसाईलका टुक्राहरुले जमिनमा रहेका घर तथा सडकहरुमा विध्वङ्स गरेका भिडियोहरु सार्वजनिक भएका छन्। इरानको केहि मिसाइल यूएईको व्यापारिक भवनहरुमा समेत खसेको छ। 


इजारायले पनि हमला जारी राखेका छन्। पछिल्लो विवरण अनुसार इरानको राजधानी तेहरानमा भएको आक्रमणमा थप ५७ जना इरानीको मृत्यु भएको बताईएको छ। इरानको राजधानी तेहरानमा धुवाँका मुश्लो मडारिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। 

खमेनीको मृत्युपछि त्यहाँका सेनाको नेतृत्व मेजर जनरल अलि अब्दुल्लाहले सम्हालेको विविसिले जनाएको छ । जिम्मेवारी सम्हाल्दै अलिले इरानले अझ बलियो ढंगले शत्रुको प्रतिकार गर्ने बताएका छन्। खमेनीको हत्या गरेर अमेरिकाले खतराको ‘रेड लाईन’ पार गरेको को इरानका उच्च अधिकारीहरुले हवाला दिँदै सिएनएनले जनाएको छ। 

 
यी हुन् खमेनीका सम्भावित उत्तराधिकारी 
इरानको सर्वोच्च नेताको खामेनीको हत्यापछि उनको उत्तराधिकारी को होलान भन्ने अहिले चर्चा भइरहेको छ। खामेनीको हत्यापछि ७ दिन सार्वजनिक विदा तथा ४० दिन शोक मनाउने घोषणा गरेको इरानले तत्तकाल कसैको नाम अघि सारेको छैन। तर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले खामेनीकै दोस्रो छोरा मोज्तावा खामेनीसहित सम्भावित विभिन्न नेताहरुको नाम सार्वजनिक गरेका छन्। 

मोज्तबा खामेनी

सर्वोच्च नेता खामेनीका दोस्रो छोरा मोज्ताबा पर्दा पछाडि उल्लेखनीय प्रभाव राख्ने व्यक्तिका रूपमा चिनिन्छन्। उनको इस्लामिक रिभोलुसनरी गार्ड कोर्रप्स तथा बसिज स्वयंसेवी अर्धसैनिक बलसँग बलियो सम्बन्ध रहेको बताइन्छ। तर शिया मुस्लिम धार्मिक प्रतिष्ठानमा बुबाबाट छोरामा सत्ता हस्तान्तरणलाई राम्रो दृष्टिले हेरिँदैन, विशेषगरी राजतन्त्रको अन्त्यपछि स्थापना भएको क्रान्तिकारी इरानको सन्दर्भमा। साथै, मोज्तबा उच्च श्रेणीका धर्मगुरु होइनन् र राज्य संरचनामा कुनै औपचारिक पदमा छैनन्। उनलाई सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएको थियो।

अलिरेजा अराफी 

उनी कम परिचित भए पनि सरकारी संस्थाहरूमा अनुभव भएका स्थापित धर्मगुरु हुन्। उनी खामेनेईका विश्वासपात्रमध्ये एक मानिन्छन्।
हाल उनी मजलिस ए खोब्रगान (प्रतिनिधि सभा) का उपाध्यक्ष तथा शक्तिशाली राष्ट्रिय सभाका सदस्य छन् ।  जसले चुनावी उम्मेदवार तथा संसद्ले पारित गरेका कानुनहरूको समीक्षा गर्ने गर्छ। साथै, उनी इरानको सेमिनरी प्रणालीका प्रमुख पनि हुन्।  खामेनेईले उनलाई संवेदनशील पदहरूमा नियुक्त गर्नुले उनको प्रशासनिक क्षमतामाथि ठूलो विश्वास देखाउँछ। यद्यपि, उनी राजनीतिक रूपमा अत्यन्त प्रभावशाली मानिँदैनन् र सुरक्षा निकायसँग नजिकको सम्बन्ध भएको ठोस संकेत छैन। उनी प्राविधिक रूपमा दक्ष, अरबी र अंग्रेजी भाषामा प्रवीण तथा २४ वटा पुस्तक तथा लेखका लेखक रहेको बताइन्छ।

मोहम्मद मेहदी मिर्बाघेरी 

उनी एक कट्टरपन्थी धर्मगुरु हुन्। प्रतिनिधि सभा सदस्य रहेका उनी धार्मिक प्रतिष्ठानको सबैभन्दा रूढिवादी धार प्रतिनिधित्व गर्ने व्यक्तिका रूपमा चिनिन्छन्। हालै उनले इजरायल–गाजा युद्धमा भएको उच्च मृत्यु संख्यालाई ईश्वरसँग निकटता प्राप्त गर्नका लागि ‘विश्व जनसंख्याको आधा मानिसको मृत्यु पनि स्वीकार्य’ हुन सक्ने अभिव्यक्ति दिएको रिपोर्ट सार्वजनिक भएको थियो। उनी पश्चिमविरोधी धारणा राख्छन् र विश्वास गर्नेहरू तथा अविश्वासीबीचको संघर्ष अपरिहार्य रहेको मान्यता राख्छन्। उनी हाल उत्तरी पवित्र सहर कुम स्थित इस्लामिक साईन्स एकेडेमीका का प्रमुख छन्।

हसन खोमेनी 

उनी इस्लामिक गणतन्त्रका संस्थापक अयातोल्लाह रुहोल्लाह खामेनी का नाति हुन्, जसका कारण उनलाई धार्मिक तथा क्रान्तिकारी वैधता प्राप्त छ। उनी खोमेनी समाधिस्थलका संरक्षकका रूपमा कार्यरत छन् तर कुनै सार्वजनिक पदमा बसेका छैनन्। देशको सुरक्षा संयन्त्र वा सत्तारूढ अभिजात वर्गसँग उनको प्रभाव सीमित रहेको देखिन्छ। उनी धेरै समकालीनहरूभन्दा कम कट्टरपन्थी मानिन्छन् र सन् २०१६ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनबाट रोकिएका थिए।

हाशेम होसेनी बुशेहरी 

उनी वरिष्ठ धर्मगुरु हुन् र उत्तराधिकार व्यवस्थापनसँग सम्बन्धित संस्थाहरूसँग निकट छन्। उनी प्रतिनिधि सभाका प्रथम उपाध्यक्षका रूपमा कार्यरत छन्। उनी खामेनेईसँग निकट रहेको बताइए पनि देशभित्र उनको सार्वजनिक प्रोफाइल अपेक्षाकृत न्यून छ। 
इरानको सर्वोच्च नेता छान्ने अधिकार प्रतिनिधिसभा (मजलिस ए खोब्रगान)सँग हुन्छ। यो ८८ सदस्यीय धार्मिक निकाय हो। यसका सदस्यहरू ८ वर्षे कार्यकालका लागि  जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad