नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज (शनिबार) मधेस प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन्।
उनले सर्लाहीको ईश्वरपुरपछि रौतहट र बारा हुँदै पर्साको वीरगन्जमा चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन्। यस क्रममा उनी रोड सोमा पनि सहभागी हुने सभापति थापाको सचिवालयले जनाएको छ।
त्यस्तै सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
यही फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेपछि सभापति थापाले फागुन ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा प्रतिज्ञापत्रबारे चर्चा गर्दै यस विषयमा उठेका प्रश्नको जवाफ दिएका थिए।
सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए। त्यस्तै उनले शुक्रबार रुपन्देही, कपिलवस्तु, बागलुङ र कास्कीमा भएका चुनावी सभालाई सम्बोधन गरेका थिए।
शनिबार सभापति थापा एक्लै जानेछन् भने आइतबार काठमाडौँको सभामा उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी हुनेछन्।
उपसभापति शर्मा आज तीन जिल्ला घुम्ने कार्यक्रम छ। शुक्रबार पोखरामा बसेका उपसभापति शर्माले शनिबार पहिले गुल्मीको कार्यक्रममा सम्बोधन गर्नेछन्। त्यसपछि डोल्पा जानेछन्। डोल्पाबाट अछाममा दुईओटा कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभापतिको सचिवलायले जनाएको छ।
आजै साँझ उपसभापति शर्मा काठमाडौँ फर्कने छन्।
सचिवालयका अनुसार उनी मध्याह्न १२ बजे गुल्मीको छत्रदेव, दिउँसो १ बजे डोल्पाको जुफाल, २ बजे अछामको साँफेबगर, ३ः१५ बजे अछामको कमलबजार पुग्नेछन् भने अपराह्न ४ः२० बजे कमलबजारबाट काठमाडौँ फर्कने कार्यक्रम छ।
Shares

प्रतिक्रिया