समाज


कञ्चनपुरमा गिद्धको संख्या वृद्धि

कञ्चनपुरमा गिद्धको संख्या वृद्धि

नेपालखबर
फागुन १६, २०८२ शनिबार ९:१७, कञ्चनपुर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गिद्धका गुँडको अनुगमन सुरु गरिएको छ। 

नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको अवस्था तथा गुँडको स्थितिबारे जानकारी लिन दोस्रो चरणको अनुगमन अघि बढाएको हो।

निकुञ्जको तारापुर, हिरापुर तथा बाहिरी क्षेत्र लालझाडीलगायतका स्थानमा गुँड अनुगमनका लागि टोली परिचालन गरिएको सङ्घका वरिष्ठ चराविज्ञ हिरुलाल डगौराले बताए। हालसम्म अनुगमन गरिएका क्षेत्रमा गिद्धका गुँड सन्तोषजनक अवस्थामा रहेको पाइएको उनले बताए।

उनका अनुसार सुदूरपश्चिममा गिद्धको पहिलो चरणको अनुगमन गत जनवरीमा गरिएको थियो। त्यस क्रममा १२० वटा गुँड अभिलेख भएका थिए। 

दोस्रो चरणको अनुगमनमा गुँडको सङ्ख्या बढेको पाइएको छ। गिद्धको सङ्ख्या पनि विगतका तुलनामा क्रमशः वृद्धि हुँदै गएको छ।

कञ्चनपुरमा मुख्यतः डङगर गिद्ध, सानो खैरो गिद्ध, राज गिद्ध, सुन गिद्ध, हिमाली गिद्धलगायत प्रजाति पाइने गरेका छन्। तीमध्ये सानो खैरो गिद्ध अत्यन्त सङ्कटापन्न अवस्थाका मानिन्छन् भने अन्य केही प्रजाति सङ्कटापन्न वा जोखिमको अवस्थामा छन्।

प्रकृतिको कुचिकारका रूपमा चिनिने गिद्धको संरक्षणका लागि बासस्थान सुधार, गुँड बनाउने रुखको संरक्षण तथा जनचेतना अभिवृद्धि गरिँदै आएको छ। 

गिद्धका लागि हानिकारक मानिएको डाइक्लोफेनाक औषधिको प्रयोग नियन्त्रण तथा पशु औषधि पसलको अनुगमनले पनि सकारात्मक प्रभाव पारेको जनाइएको छ।

कञ्चनपुर र कैलालीमा अनुगमन सम्पन्न भएपछि बैतडी र डडेल्धुरामा पनि गिद्धका गुँडको अनुगमन गरिने कार्यक्रम रहेको छ । तेस्रो चरणको अनुगमन आगामी ‘मार्च’मा गरिने चराविज्ञ डगौराले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad