राजनीति


सुनसरी १ मा हर्कको ‘पानी’ र बालेनको ‘हावा’बीच टक्कर : जातीय संघसस्था निर्णायक

बस चालकहरू घण्टीतिर लाग्दा सिटी सफारी चालक माटोतिर
सुनसरी १ मा हर्कको ‘पानी’ र बालेनको ‘हावा’बीच टक्कर : जातीय संघसस्था निर्णायक

लोकेन्द्र भट्ट
फागुन १६, २०८२ शनिबार २२:५, धरान

चुनावी सरगर्मीले सुनसरी–१ धरानस्थित भानु चोकको सौहार्द्रता हराएको छ। बसपार्कमा भेला हुने गाडी चालकहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको नाममा विभाजित छन्।

रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ र श्रम संस्कृति पार्टीको ‘माटो’मा मतदान गर्ने बहसले गाडी चालकहरूबीच दिनहुँ झगडा हुने गरेको छ। नेपालखबर टोली बुधबार बिहान ११ बजे भानु चोकमा पुग्दा लामो–छोटो दूरीका गाडी चालकहरू यात्रुको प्रतीक्षामा थिए।

हामीले चुनावी कुराकानीका लागि आग्रह गर्दा क्यामेराअगाडि बोल्न गाडी चालकहरू तयार भएनन्। अनौपचारिक चुनावी संवाद गर्न भने उनीहरू उत्साहित देखिए। हामीले संवाद अगाडि बढाउँदा उनीहरू भेला हुँदै गए। संवाद गर्दै जाँदा भेला भएका १२–१५ जना चालकमा अधिकांश ‘घण्टी’को पक्षमा उभिए। गत निर्वाचनमा पनि घण्टीमै मतदान गरेका उनीहरू आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्री बनाउन फेरि मत हाल्ने पक्षमा देखिन्छन्। राई–लिम्बू समुदायका गाडी चालकमा भने घण्टीभन्दा माटोमा लगाव देखियो।

श्रेष्ठ थरका एक जना चालकले माटोको पक्षमा उभिनेलाई व्यंग्य के गरेका थिए, राई थरका चालक जंगिए। 

अनि सुरेश प्रधान नामक चालक अगाडि आएर भने, ‘अस्ति त यहाँ माटो र घण्टीको नाममा कुटाकुट भएको थियो। त्यसैले हामी बोल्दैनौँ। चुनावपछि पनि यही काम गर्नुछ, यही ठाउँमा बस्नुछ।’ 

धरानको बसपार्कमा भेटिएका गाडी चालकमा बालेनको पल्ला भारी देखिए पनि धरान सहरमा गुड्ने अधिकांश सिटी सफारी चालक भने हर्कको पक्षमा देखिन्छन्।

अधिकांश सिटी सफारी हर्कको फोटासहित ‘विचार र औजार, चेतना र पसिनाको क्रान्ति’ लेखिएको ब्यानर बोकेर धरानमा यात्रु असार–पसार गरिरहेका भेटिन्छन् अचेल। सुनसरी १ मा श्रम संस्कृति पार्टीका साम्पाङ र रास्वपाकी गोमा तामाङका साथै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सूर्यबहादुर भट्टराई (मनोज)को चुनावी प्रचार आक्रमक देखिन्छ। 

सुनसरी विभिन्न ठाउँमा पुगेर कुरा गर्दा मेयर बनेर काकाकुल धरानलाई पानी खुवाएका हर्कले एक मत पाउने हक राख्ने मतादाताको तर्क सुनियो। 

कांग्रेसको क्रियाशील सदस्य समेत रहेका एक जनाले भने, ‘हर्क साम्पाङको बोली मलाई पनि मन पर्दैन। तर हामीलाई पानी खुवाएको हो नि। एक मतका लागि त हर्कको हक नै छ। समानुपातिकमा रुखमै भोट हाल्छु। प्रत्यक्षमा हर्कलाई दिने सोचमा छु।’ 

पानी खुवाएका हर्कलाई न्याय गर्ने पक्षमा रहेका धेरै मतदाता हामीले धरानमा भेट्यौँ। पुराना पार्टीप्रति वितृष्णा भएका मतदातालाई हर्कले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनलाई गाली गरेको मन परेको छैन। तीमध्येका एक हुन् सन्तोष सुब्बा। 

उनले भने, ‘नयाँ पार्टीहरू मिलेको भए राम्रो हुने थियो। नमिले पनि हर्कले बालेन र रविलाई गाली गर्दा मलाई राम्रो लागेको छैन। मेयरमा मत दिएको थिएँ। अहिले उनको बोलीका कारण मत फेर्न मन छ।’ 

झापा ५ मा उम्मेदवार रहेका बालेनको ‘हावा’ धरानमा गजबले फैलिएको छ। हर्कको पानी र बालेनको हावालाई रोकेर जितका लागि नेकपाका मनोज भट्टराई, कांग्रेसका सुजेन्द्र तामाङ, एमालेका टीका माङ्ग्ले लिम्बू, उज्यालो नेपाल पार्टीका डम्बर लावती (जेन्टल), राप्रपाका उद्धव श्रेष्ठसहित २६ जना उम्मेदवार चुनावी मैदानमा छन्। सुनसरी–१ को स्थलगत रिपोर्टका क्रममा हर्क, गोमा र मनोजबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। एमाले र कांग्रेसको मजबुत संगठन भए पनि मैदानमा उम्मेदवारको उपस्थिति कमजोर पाइयो।

धरान उपमहानरपालिकाको मेयर हुँदा साम्पाङ र वडा नम्बर १७ का अध्यक्ष भट्टराईको टकराव सुनसरी १ को चुनावी मैदानमा पनि देखिन्छ। कार्यपालिका बैठकमा तत्कालीन मेयर साम्पाङले माओवादीका वडाध्यक्ष भट्टराईलाई भनेका थिए, ‘यहाँ मैले भने अनुसार नै हुन्छ, तपाईंले भने अनुसार गर्न अर्को चुनावमा जितेर आउनू।’

भट्टराईको जवाफ थियो, ‘हुन्छ, लु लडौँ चुनाव। तपाईं जहाँ जुन पदमा उठ्नुहुन्छ, त्यहीँ उठेर जितेर देखाइदिन्छु।’

यो प्रसंग पनि चुनावी मसला बनेको छ।

मेयर छोडेर साम्पाङ सुनसरी १ मा प्रतिनिधिसभा उम्मेदवार बन्दा नेकपाले पनि भट्टराईलाई मैदानमा उठाइदिएको छ। कसको जित हुने भन्ने फैसला गर्ने जिम्मा चाहिँ फागुन २१ मा सुनसरी १ का १ लाख ५० हजार ३९३ जना मतदाताको काँधमा छ। राई, लिम्बू, नेवार, क्षेत्री, ब्राह्मण, गुरुङ, तामाङ, मगरलगायत जातिको बसोबास रहेको सुनसरी १ मा चुनावी अंकगणितमा जातीय फ्याक्टर पनि हाबी हुने देखिन्छ। 

धरानमा किरात राई यायोक्खा, लिम्बूको किरात याक्थुङ चम्लुङ, नेवारको नेवार एकता समाज र नेवा देयः दबु, तामाङ घेदुङ संघ, नेपाल मगर संघ, ब्राह्मण समाज नेपाल, खस क्षेत्री एकता समाजलगायत संस्थाको भूमिका पनि निर्णायक हुने छ। सुनसरी १ मा पर्ने धरान उपमहानगरपालिकामा मात्रै एक लाख १० हजार ९३९ मतदाता रहेका छन्। कुल मतदाताको झण्डै तीन चौथाइ हिस्सा भएकाले धरानको मतले नै सुनसरी–१ को चुनावी नतिजा निर्धारण गर्नेछ।

धरानका वडामध्ये वडा नम्बर १५ मा सबैभन्दा बढी १५ हजार ७०८ मतदाता छन्। वडा नम्बर ११ मा १० हजार ७८८, वडा नम्बर १७ मा १० हजार २२३ र वडा नम्बर ८ मा आठ हजार ६९० मतदाता छन्। वडा नम्बर ७ मा दुई हजार २८० मतदाता छन्। बराहक्षेत्र नगरपालिकाका पाँच वटा वडामा २८ हजार २४१ मतदाता छन्। यहाँ वडा नम्बर ५ मा सबैभन्दा बढी ६ हजार ८३२ र वडा नम्बर १ मा चार हजार ५३८ मतदाता छन्। 

रामधुनी नगरपालिकाका वडा नम्बर ६ र ७ मा ११ हजार २१३ मतदाता छन्। वडा नम्बर ७ मा पाँच हजार ९१० र वडा नम्बर ६ मा पाँच हजार ३०३ मतदाता छन्। बराहक्षेत्र र रामधुनीको मतले प्रतिस्पर्धालाई रोचक बनाउने छ। माटो र घण्टीको प्रभाव भएका बराहक्षेत्र र रामधुनीमा एमाले र कांग्रेसले राम्रो मत पाउँदा धरानबाट हुने लिडको अन्तरले जित–हार तय गर्ने उम्मेदवारहरू बताउँछन्। 

धरान उपमहानगरपालिकाका २० वटै वडा, बराहक्षेत्र नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा समेटिएको सुनसरी १ कम्युनिस्टको किल्ला मानिन्छ। २०४८ मा तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारी निर्वाचित सुनसरी १ मा २०५१ र २०५६ मा एमालेले जित कायम राख्यो। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले एमालेको जितमा ब्रेक लगाएको थियो। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेले कम्ब्याक गर्दा २०७४ मा पनि सुनसरी १ सुरक्षित राख्न सफल भयो। 

२०७९ मा सुनसरी १ मा तत्कालीन जसपाले जिते पनि वाम पृष्ठभूमिका उम्मेदवार र एमालेको साथ रह्यो। एमालेको समर्थनमा जसपाका अशोक राई विजयी भएको सुनसरी १ मा हर्क साम्पाङको समर्थन पाएकी रास्वपा उम्मेदवार तामाङ दोस्रो भएकी थिइन्। फागुन २१ का चुनावमा साम्पाङ र रास्वपाबीच नै कडा प्रतिस्पर्धा देखिएको छ। श्रम संस्कृति, रास्वपा, एमाले र नेकपाको भोटबैंक एउटै देखिए पनि विगतको समानुपातिक मतमा एमालेको पल्ला भारी छ।

एमालेले २० हजार ९८ मत प्राप्त गर्दा रास्वपाले १७ हजार २७१ मतसहित दोस्रो स्थान हासिल गरेको थियो। कांग्रेस ११ हजार ७५० मतसहित तेस्रो हुँदा राप्रपा ९ हजार ७६८ मतसहित चौथो र तत्कालीन माओवादी केन्द्र ४ हजार ६५६ मतसहित पाँचौँ भएको थियो। 

प्रत्यक्षमा चुनाव जितेको जसपाले समानुपातिकमा ३ हजार ६८२ मत प्राप्त गर्दा तत्कालीन एकीकृत समाजवादीले १ हजार ६०९ मत पाएको थियो। अहिले माओवादी र एकीकृत समाजवादी मिलेर नेकपा बनेको छ भने साम्पाङले श्रम संस्कृति पार्टी बनाएको अवस्था छ। लाहुरेको सहर भनेर चिनिने पहिचानवादीको आन्दोलनको मुख्य केन्द्र धरान साम्पाङको पक्षमा उभिने प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराती बताउँछन्।

साम्पाङ राई समुदायबाट उम्मेदवार हुनु र लाहुरे परिवारको हुनुले सबैभन्दा बढी फाइदा पुग्ने उनको बुझाइ छ। कामप्रति प्रतिबद्ध र दृढ इच्छा शक्ति भएका साम्पाङप्रति मतदाता सकारात्मक रहेको उनी सुनाउँछन्। तीन दिन सुनसरी १ को स्थलगत अध्ययन गरेका किराती साम्पाङलाई चुनाव जित्न कठिन नरहेको दाबी गर्छन्।

यस्तै रास्वपाकी गोमा अघिल्लो पटकको उपविजेता हुनुले पनि केही मतदाताको सहानुभूति रहने आशामा छिन्। अघिल्लो पटक उम्मेदवार हुँदा गोमालाई नभइ रवि लामिछानेको ‘क्रेज’ ले मत पाएको रास्वपाकै नेताहरूको भनाइ छ। रास्वपाका धरान नगरसभापति सुमन श्रेष्ठका अनुसार गोमालाई यसपटक वास्तविक रुपमा व्यक्तिगत ढंगले धेरैले चिन्छन्। उनलाई यसले घाटा वा नाफा के हुन्छ भन्न नसकिने उनको भनाइ छ। 

‘देशभर रास्वपाको पक्षमा आएको लहरले काम गर्दा हामी जित्छौँ। यसपटक उहाँलाई पनि मतदाताले राम्ररी चिन्नु भएको छ,’ उनी भन्छन्। 

यता नेकपाका भट्टराई धरानका समग्र विकास निर्माणका एजेन्डा अघि सार्दै घरदैलो अभियानमा छन्। सुकुम्बासीको मत निर्णायक हुनसक्ने सुनसरी १ मा नेकपाका भट्टराईको सम्बन्ध सुकुम्बासीसँग राम्रै रहेको पाइन्छ। वडाध्यक्ष हुँदा आफ्नै व्यक्तिगत पैसाबाट पनि काम गरेका उनी जातीय हिसाबले क्षेत्री–बाहुन समुदायको मत बटुल्ने कसरतमा छन्। 

साथै धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भन्दै दुई वर्षदेखि रोक्का गरिएको जग्गा फुकुवापछि २ हजार मत थपिने नेकपाको दाबी छ। धरान उपमहानगरपालिकाका तत्कालीन मेयर साम्पाङले २०८० भदौ ११ गते विमानस्थल निर्माण गर्न धरान उपमहानगरपालिका–१७ डाँडाघोपा क्षेत्रको जग्गा बिक्री वितरण सिफारिस रोक्ने निर्णय तत्कालीन माओवादीबाट निर्वाचित उप–मयेर अइन्द्रविक्रम बेघाले कार्यवाहक जिम्मेवारी पाएपछि उल्ट्याएका छन्। यसले पनि सुनसरी १ चुनावलाई थप रोचक बनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad