राजनीति


माटोको प्रभाव बढेपछि डा. रोकाद्वारा मातृभाषामा चुनावी अपिल

माटोको प्रभाव बढेपछि डा. रोकाद्वारा मातृभाषामा चुनावी अपिल

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १४:५०, खोटाङ

प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा मतदाताको ध्यान तान्न उम्मेदवारहरुले अनेक प्रयत्न गरिरहेका छन् । यसै सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा.हरि रोकाले स्थानीयको ध्यान चिच्नेगरी आफ्नो चुनावी घोषणापत्र स्थानीय मातृ भाषामा अनुवाद गर्दै प्रचार शुरु गरेका छन् । 

डा. रोकाले खोटाङमा बोलिने किरात राई समुदायको १० वटा भाषामा आफ्नो चुनावी घोषणापत्र प्रकाशित गरेका हुन् । चाम्लिङ राई समुदायको बाहुल्यता रहेको खोटाङमा डा. रोकाले चाम्लिङसहित दुमी, साम्पाङ, पुमा, वाम्बुले, कोयी, तामाङ, गुरुङ, नेपाल (नेवार)र बान्तावा भाषामा अपिल प्रकाशन गरेका छन्। 

रोकाले यसअघि खस नेपाली भाषामा घोषणापत्र सार्वजनिक गरेका थिए । उनको यहाँ डा. रोकासहित १५ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । तर मातृभाषामा चुनावी घोषणापत्र तयार गर्ने एक्लो उम्मेदवार डा. रोका मात्र हुन् । डा। रोकाको चुनावी प्रचारप्रसार समितिका संयोजक एवम् पूर्वमन्त्री राजन राईले रोकाको पक्षमा चुनावी माहोल सिर्जना गर्न ‘हरि रोका जिताऔं’ स्वतन्त्र सहयोग समितिले विभिन्न दश मातृभाषामा निर्वाचन प्रचार सामग्री तयार पारेको बताए । 

मातृभाषामा तयार पारिएको प्रचार सामग्रीलाई  अपिलको एकापट्टी मातृभाषामा र अर्कापट्टी खस नेपाली भाषामा डा। रोकालाई मत दिनुपर्ने कारण उल्लेख गरिएको छ । विभिन्न जातजातिका मतदातालाई उनीहरुकै भाषामा उम्मेदारको चुनावी एजेण्डाबारे जानकारी दिन भातृभाषामा अपिल तयार पारिएको निर्वाचन परिचालन मूल समितिका संयोजक एवम् पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष  टङ्क राईले बताए । 

मातृभाषामा लेखिएको अपिलले विभिन्न मातृभाषाको लेख्य परम्परालाई प्रवद्र्धन गर्न सहयोग पुगेको पूर्वसांसदसमेत भइसकेका संयोजक राईले बताए ।  । ‘हारजित एक ठाउँमा छ तर, विभिन्न मातृभाषाको संरक्षणमा यसले रेकर्डको काम गर्छ,’ संयोजक राईले भने, ‘चाहेर पनि तिलुङ भाषाको अपिल बनाउन सकिएन । मातृभाषालाई बुझ्ने कोसिस हो यो । यसले मातृभाषामात्रै प्रयोग गर्ने मतदातालाई ठूलो सहयोग पुगेको छ ।’ 

मातृभाषामा तयार पारिएका घोषणापत्र नेकपा खोटाङका नेता तथा कार्यकर्ताले सम्बन्धित समुदायका मतदाता समक्ष बाँडिरहेक छन्। 
एक तथ्याङ्कका अनुसार एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लाको कुल मतदाता मध्ये ६५ प्रतिशत आदिवासी जनजाति समुदायका रहेका छन् । डा. रोकासहित मुख्य प्रतिष्पर्धामा रहेका नेपाली कांग्रेसका वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवविक्रम राईलाई हेरिएको यो क्षेत्रमा पछिल्लो पटक श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले पनि प्रभाव बढाइरहेका छन् । विशेषत आदिवासी जनजाति समुदायबीच आरेनको प्रभाव तीब्र रुपमा विस्तार भएको छ । कतिपय राजनीतिक कार्यकताले यसलाई ‘माटोको प्रकोप’ भन्दै व्याङ्ग्यात्मक टिप्पणी गर्न थालेका छन् । यस्तोमा डा. रोकाको अपिललाई अर्थपूर्ण रुपमा हेरिएको छ । देशभर प्रभाव जमाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव यहाँ नगन्य देखिएको छ । रास्वपाबाट यहाँ रुद्र गिरी उम्मेदवार छन् । त्यस्तै जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ उम्मेदवार रहेका छन् । यस्तै, डा.राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् 
आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्लाका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आफ्नो चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।
आफ्ना पार्टीका उम्मेदवारलाई विजयी बनाउन जिल्लास्थित राजनीतिक दलहरु सक्रिय बन्न थालेपछि कार्यकर्ताहरु तानातानमा परेका छन् ।

(राससको सहयोगमा निर्मित) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad