शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घना जङ्गलमा चराविज्ञहरूको एउटा टोली दबेको पाइला चाल्दै अघि बढिरहेको थियो। उनीहरूको आँखा निकुञ्जका पुराना 'अभिलेख' मा भएकै चराहरू खोजिरहेका थिए। तर, अचानक एउटा यस्तो दृश्य देखियो, जसले विज्ञहरूको टोलीलाई नै छक्क पारिदयो।
त्यहाँ एउटा यस्तो चरा थियो, जसलाई तराईको यो समथर तातो भुभागमा देखिनु 'असम्भव' जस्तै मानिन्थ्यो।
नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) का वरिष्ठ चराविज्ञ हिरूलाल डगौरासहितको टोलीले निकुञ्जमा पहिलोपटक 'मदना चाँचर' फेला पारेको छ। यो कुनै सामान्य भेट मात्र होइन, चरा जगतमा एउटा रहस्यमयी घटना हो। किनकि, यो चराको स्थायी ठेगाना तराई होइन, पहाड र हिमालका आद्र्र वनहरू हुन्।
पहाडको बासिन्दा तराईमा कसरी?
वैज्ञानिक नाम टर्डस बुबल रहेको यो चरा सामान्यतया समुद्र सतहदेखि १ हजार ८०० मिटरदेखि २ हजार ७०० मिटरको उचाइमा पाइन्छ। चिसो हावापानी र पहाडी भीरपाखामा रमाउने ‘मदना चाँचर’ कसरी र किन तराईको समथर भूमिमा झर्यो? यो अहिले संरक्षणकर्मीहरूका लागि ठूलो कौतुहलताको विषय बनेको छ।
चराविज्ञ डगौरा भन्छन्, “विश्वस्तरमा यसलाई सामान्य मानिए पनि शुक्लाफाँटाका लागि यो नितान्त नयाँ र दुर्लभ पाहुना हो। पहाडी क्षेत्रमा मात्र सीमित रहने चरा तराईमा भेटिनुले जलवायु परिवर्तनको गम्भीर असर वा चराहरूको बसाइँसराइको ढाँचामा आएको ठूलो फेरबदललाई सङ्केत गर्छ।”
चिनौं यो नयाँ पाहुनालाई
करिब २८–२९ सेन्टिमिटर लामो हुने यो चरा निकै आकर्षक देखिन्छ। भाले चरा ढ्यास्स परेको कालो रङ, पखेटामा खैरो दाग र गाढा पहेँलो चुच्चो हुन्छ। पोथी खैरो रङ र हल्का पहेँलो वा खैरो मिश्रित चुच्चो हुन्छ।
नेपालदेखि उत्तरी भियतनामसम्मका पहाडी भिरहरूमा मात्रै भेटिने यो प्रजाति शुक्लाफाँटामा देखिनुले निकुञ्जको जैविक विविधताको दायरामा नयाँ आयाम थपिदिएको छ।
पहाडका चराहरू तराई झर्नु केवल रमाइलो संयोग मात्र नहुन सक्छ। चराविज्ञहरूका अनुसार पारिस्थितिक प्रणालीमा भइरहेको फेरबदलका कारण चराहरूले आफ्नो परम्परागत बासस्थान छाड्न थालेका हुन सक्छन्।
पहाडको यो 'गुमनाम' यात्रीले शुक्लाफाँटाको जैविक विविधताको सूचीमा अर्को एउटा नाम थपिदिएको छ, र सँगसँगै धेरै अनुत्तरित प्रश्नहरू पनि छोडेको छ। के यो पाहुना केही समयका लागि मात्र आएको हो या शुक्लाफाँटालाई नै नयाँ घर बनाउन खोज्दैछ? यसको जवाफ भने भविष्यको अनुसन्धानले नै दिनेछ।
Shares

प्रतिक्रिया