नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानविन गर्नुपर्ने धारणा अघि सारेको छ । बिहिबार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा एक अपिल जारी गर्दै नेकपाले यस्तो बताएको हो ।
‘एक उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरेर आजसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्दछ’ नेकपाको अपिलमा भनिएको छ, ‘भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्दछ भन्नेमा हामी प्रतिबद्ध छौँ ।’
नेपाली जनताले लामो बलिदानी सङ्घर्ष गरेर देशमा संघीयता, समानुपातिक एवं समावेशी सहभागिताजस्ता मौलिक विशेषतासहितको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली स्थापना गरेको उल्लेख गर्दै अपिलमा अहिले यसका विरुद्ध अनेक प्रकारका षड्यन्त्र भइरहेको पनि उल्लेख गरिएको छ । ‘हामी यस प्रणालीविरुद्धका सबै षड्यन्त्रहरूलाई परास्त गर्दै यसलाई सुदृढ र सुस्थिर बनाउँदै समाजवादी लोकतन्त्रको रूपमा विकास गर्न चाहन्छौँ।’ अपिलमा भनिएको छ,‘स्थापित प्रणालीका विरुद्ध गतिविधि गर्दै मुलुकमा अस्थिरता सिर्जना गर्ने दुष्प्रयास भइरहेको छ। हामी त्यस प्रकारको दुष्प्रयासलाई परास्त गर्दै मुलुकमा स्थिरता कायम गरी लोकतन्त्रको सुदृढीकरण र विकासको यात्रामा अगाडि बढ्न दृढप्रतिज्ञ छौँ।’
जननिर्वाचित संविधान सभाबाट निर्माण गरिएको हालको संविधान संसारका उत्कृष्ट संविधानमध्ये एक भएको उल्लेख गर्दै अपिलमा यसलाई खारेज गर्ने अधिकार कसैलाई पनि नभएको बताईएको छ । तथापि संविधान अपरिवर्तनीय दस्तावेज नभएको उल्लेख गर्दै अपिलमा यसको कार्यान्वयन गर्दा देखापरेका समस्या समाधान गर्नका निम्ति यसमा आवश्यक परिमार्जन गर्न सकिने उल्लेख गरिएको छ ।
अपिलमा अहिले जनताले सुशासन र पारदर्शिता अनुभूत नगरको उल्लेख गर्दै नेकपा यस्तो स्थितिमा परिवर्तन गर्नैपर्ने पक्षमा रहेको पनि बताईएको छ । भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अङ्गहरूको सञ्चालन र सङ्घीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने हाम्रो दृढप्रतिज्ञा छ ।’

प्रतिक्रिया