राजनीति


ओली र बालेनका प्रतिस्पर्धी रञ्जित तामाङले भने- झापा ५ मा कोहीसँग तालमेल हुँदैन, भ्रममा नपरौँ

ओली र बालेनका प्रतिस्पर्धी रञ्जित तामाङले भने- झापा ५ मा कोहीसँग तालमेल हुँदैन, भ्रममा नपरौँ

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १७:०, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग प्रतिस्पर्धा गरिरहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता रञ्जित तामाङले कसैसँग तालमेल नहुने बताएका छन्। 

प्रतिनिधि सभाको निर्वाचनमा झापा-५ मा तालमेल भइरहेको हल्लापछि तामाङले बिहीबार भिडिओ सन्देश जारी गर्दै कोहीसँग तालमेल नहुने स्पष्ट पारेका हुन्। ‘आज पनि मलाई धेरैले सोध्नु भएको छ, के समीकरण बदलाव हुँदै छ? के तपाईले फिर्ता लिँदै हुनुहुन्छ? के तपाईंले छोड्दै हुनुहुन्छ? त्यो होइन,’ तामाङले भनेका छन्, ‘कुनै पनि हिसाबमा हाम्रो पार्टीको नेतृत्वले र कुनै पनि मूल्यमा हाम्रो कसैसँग अलायन्स हुने स्थिति छैन। घोषित, अघोषित त्यस्तै कुनै छलफल चलेको छैन।’

चुनावअघि कसैसँग पनि तालमेल नगर्ने पार्टीको नीतिअनुसार, झापा-५ मा पनि तालमेल नहुने उनको भनाइ छ। ‘फागुन २१ पछि बन्ने संसद्मा कसैको बहुमत आएन भने त्यसपछि कोसँग अलायन्स गर्ने भन्ने कुरा छुट्टै कुरा हो। आजको दिनसम्म कोहीसँग लयान्स हुँदैन।’
आफू दृढतापूर्वक चुनावी मैदानमा उभिएको उनले बताएका छन्। बरु भ्रमलाई च्यातेर अगाडि बढ्न आग्रह गरेका छन्। 

‘कोही भ्रमित नभई, कोही द्विविधामा नपरी, र म यस पटक चुनाव चिह्न तारा लिएर निसन्देह उभिएको छु। त्यसैले तपाई कोही भ्रमित नभई चुनाव चिह्न तारामा मत व्यक्त गर्नुहोस्,’ उनले भनेका छन्, ‘सबै भ्रमका पर्दा च्यातेर, सबै अफवाहरूलाई गलत सावित गरेर यस पटक यो भूगोलको प्रतिनिधित्व गर्नेगरी तपाईंहरू सबैले मलाई मत दिनुहोस्।’

उनले आफू धेरै अगाडि बढिसकेको बताएका छन्। ‘म अगाडि बढेको छु, अलायन्स त्यतिवेला हुन्छ, जतिवेला मलाई समर्थन गर्न कोही तयार हुन्छ भने त्यतिवेला अलायन्स हुन्छ। अन्यथा यो निर्वाचनमा कोहीसँग अलायन्स हुँदैन, भ्रमित नहुन आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन्। 
आफू अतिवादलाई परास्त गर्न लागिपरेको उनले सुनाएका छन्। त्यसका लागि सबैले सहयोग गर्न आग्रह गरेका छन्। ‘हामीले अफवाह अन्त्य गर्नु छ। खासगरी अफवाहमा बाँचेको अतिवादलाई यस पटक हामीले कुनै पनि मूल्यमा परास्त गर्नु छ,’ उनले भनेका छन्। 

झापा-५ मा सत्ता र शक्तिको दुरुपयोग भइरहेको पनि उनले आरोप लगाएका छन्। ‘सत्ता र शक्तिको दुरुपयोग गरेर मतदातालाई किन्ने, मतदातालाई प्रलोभनमा पार्ने जुन प्रयत्न भइरहेको छ, त्यसको पनि म खण्डन गर्न चाहन्छु,’ तामाङले भनेका छन्। 

उनले मतदातालाई जागरुक हुन आग्रह गरेका छन्। यो देश बचाउने समय भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘तपाई हामी सबै जनता जागौँ, सचेत नागरिकले सक्षम नेतृत्व छान्ने अवसर छ। देश बचाउने अवसर यो अवसरमा हामी कोही नचुकौँ।’

उनले जित्छ कि जित्दैन भन्ने द्विविधमा नपरेर सहयोग गर्न आगैह गरेका छन्। ‘कुनै पनि द्विविधामा नबसी एउटा अतिवादबाट अर्को अतिवादलाई परास्त गर्ने, सत्ता र शक्तिसँग आँखामा आँखा झुधाएर कुरा गर्ने मान्छे हुँ म,’ तामाङले भनेका छन्, ‘सबै मतदातालाई निर्धक्क भएर मत व्यक्त गर्न आग्रह गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad