नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि मुलुकमा ‘त्रिशंकु संसद’ बन्ने बताएका छन्।
बिहीबार नेकपा केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले निर्वाचनपछि कुनै एक दलको स्पष्ट बहुमत नआउने र पुनः त्रिशंकु संसद बन्ने दाबी गरेका हुन्। सातै प्रदेशको चुनावी अभियानबाट फर्किएपछि पत्रकारसँग कुरा गर्दै संयोजक प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरूपका कारण एकल बहुमतको सम्भावना नरहेको बताए।
‘अहिलेसम्मको परिस्थिति हेर्दा हाम्रो मोटामोटी आकलन के छ भने हाम्रो निर्वाचन प्रणाली र शासकीय स्वरूपका कारण कुनै एक पार्टीको बहुमत आउने सम्भावना अहिले पनि हामीले देखेका छैनौँ। हुने भनेको फेरि पनि त्रिशंकु संसद नै हो, हङ पार्लियामेन्ट नै हुने स्थिति हो र सबै–सबैले पनि यही नै आकलन गरेको स्थिति छ,’ उनले भने।
उनले आफ्नो पार्टीको आन्तरिक अध्ययन र अनुसन्धानका आधारमा यस पटकको निर्वाचनमा चार वटा मुख्य राजनीतिक धाराहरूबीच प्रतिष्पर्धा हुने सुनाए। नेकपा, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको उनको भनाइ छ।
‘त्यस्तो परिस्थितिमा पनि हामीले जनमतलाई कदर गर्दै फेरि समझदारीको साथ हाम्रो लोकतान्त्रिक विधि विधान र मूल्य मान्यताअनुसार अगाडि बढ्ने कमिटमेन्ट हामी सबै राजनीतिक दल र निर्वाचनमा सहभागी सबै–सबैको तर्फबाट हुनुपर्दछ भन्ने हाम्रो धारणा पनि म राख्न चाहन्छु,’ उनले भने।
पार्टीलाई अवमूल्यन गर्ने प्रवृत्ति समाजमा रहेको गुनासो गर्दै उनले राम्रो गर्न सक्दा नेकपा अगाडि आउने सम्भावना रहेको बताए। उनले यस पटक आफ्नो पार्टीभित्र असाध्यै राम्रो एकता पैदा भएको बताए।
‘अहिले हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीको पक्षमा म जति ठाउँमा गएँ सातै प्रदेशमा र हाम्रा नेताहरु जहाँ–जहाँ जानुभएको छ त्यो–त्यो ठाउँमा यो पटक हाम्रो पार्टीभित्र असाध्यै राम्रो एकता पैदा भएको छ। हाम्रा नेता कार्यकर्ता समर्थक शुभेच्छुक सबै सक्रियतापूर्वक निर्वाचन प्रक्रियामा लाग्नुभएको छ,’ प्रचण्डले भने।
सातै प्रदेशमा नेता, कार्यकर्ता र शुभेच्छुकहरू सक्रियतापूर्वक निर्वाचनमा होमिएको बताउँदै उनले नेकपा कुनै पनि समस्या नभएको पार्टी रहेको जिकिर गरे।
आफ्नो पार्टीको प्राथमिकताका बारेमा प्रष्ट पार्दै प्रचण्डले कृषि, उद्योग, पर्यटन र ऊर्जा क्षेत्रमा गुणात्मक विकास गरी रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, भ्रष्टाचार नियन्त्रण र सामाजिक विभेदको अन्त्य आफ्नो मुख्य एजेण्डा भएको उनको भनाइ थियो।,
निर्वाचनको परिणाम जे जस्तो आए पनि त्यसलाई स्वीकार्ने मानसिकताका साथ आफूहरू अगाडि बढेको उनले बताए। जनमतको कदर गर्दै लोकतान्त्रिक विधि र मूल्य मान्यताअनुसार समझदारीका साथ अगाडि बढ्न सबै राजनीतिक दलहरू प्रतिबद्ध हुनुपर्नेमा उनको भनाइ थियो।
Shares

प्रतिक्रिया