राजनीति


परिचय खुलाउने ६ वटा कागजातबाट मतदान गर्न पाइने

परिचय खुलाउने ६ वटा कागजातबाट मतदान गर्न पाइने

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १४:५९, काठमाडौँ

मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका नागरिकले विभिन्न ६ वटा कागजातका आधारमा मतदान गर्न पाउने भएका छन्।

निर्वाचन आयोगले मतदाताको सहजतालाई ध्यानमा राख्दै मतदानका लागि वैकल्पिक परिचयपत्रको व्यवस्था पनि गरेको छ। 

नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एउटा आधिकारिक कागजात देखाएर पनि सहजै मतदान गर्न पाउनेछन्। 

यस विषयमा मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक सूचना संप्रेषण गरिसकिएको आयोगले जनाएको छ। 

निर्वाचनको ७ दिन अघिदेखि अन्तिम परिणाम नआएसम्म मदिरा बिक्री र सेवनमा रोक
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदानको ७ दिन अघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ (मदिरा) बिक्री–वितरण तथा सेवनमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसमा आयोगले उक्त निर्णय गरेको हो। आयोगले निर्वाचनको ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाकाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय समेत गरेको छ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा वस्तुस्थितिको सुक्ष्म आँकलन गर्दै यस्तो सिफारिस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। मदिरा सेवनका कारण हुनसक्ने सम्भावित झडप र अशान्तिलाई रोक्न यो कदम चालिएको उनको भनाइ छ। 

प्रवक्ता भट्टराईकाअनुसार आयोगले फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि) लागू गर्ने जनाएको छ।

साथै, फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, खानेपानी, विद्युत आदि) र पास प्राप्त बाहेकका सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको बताए। 

यसैबीच, केही प्राध्यापक, शिक्षक तथा कर्मचारीहरू राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको उजुरी परेपछि आयोगले त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ।

शिक्षा ऐन र निर्वाचन आचारसंहिताविपरीत दलको प्रचारमा हिँड्ने कर्मचारीलाई पदबाटै हटाउनेसम्मको कारबाही हुने प्रवक्ता भट्टराईले बताए।

शिक्षा ऐन, २०२८ र निर्वाचन आचारसंहिता, २०८२ ले विद्यालय वा विश्वविद्यालयमा संवद्ध कर्मचारी र शिक्षकलाई कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न, सवारीसाधन वा भवन प्रयोग गर्न दिन पूर्ण रूपमा रोक लगाएको छ। दलको कार्यकारिणी समितिमा रहेको पाइएमा पदबाटै हटाइनेसम्मको कानूनी व्यवस्था रहेको आयोगले स्मरण गराएको छ। 

शिक्षक तथा कर्मचारीलाई सचेत गराउँदै प्रवक्ता भट्टराईले भने, ‘शैक्षिक संस्थामा संवद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा र तटस्थतालाई मनन् गर्दै कुनै दल वा उम्मेदवारको प्रचारप्रसार नगर्न सचेत गराइन्छ। आचारसंहिता प्रतिकुल हुनेगरी गतिविधिमा सामेल भएको पाइएमा कानुन बमोजिम कडा कारबाही हुने व्यहोरा जानकारी गराइन्छ।’

सवारी साधनमा रोक, तर हवाई उडान सुचारु
निर्वाचनको दिनको आवागमनलाई व्यवस्थित गर्न आयोगले सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ। फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधनहरू चलाउन पाइनेछैन।

यद्यपि अत्यावश्यक सेवाका साधनहरू जस्तैः एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका साधन, विद्युत, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका साधन र कुटनीतिक नियोगका सवारी साधनहरू भने निर्वाध रूपमा चल्न पाउनेछन्। अन्यको हकमा आयोगबाट पास प्राप्त गरेका सवारी साधन मात्र सञ्चालन हुन पाउनेछन् । 

सडक यातायातमा रोक लगाइए पनि मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू भने यथाव् सञ्चालन हुने प्रवक्ता भट्टराई बताए। हवाई उडानका लागि टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि घर वा होटलसम्म आउजाउ गर्न निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्न दिइनेछ। 

त्यस्तै, अत्यावश्यक सवारी पास वितरणलाई सहज बनाउन आयोगको सचिवालय परिसरमा छुट्टै ‘पास वितरण एकाइ’ खडा गरिनेछ। जसमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंका दुई–दुई जना कर्मचारी खटिनेछन्। 

आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि) का लागि पनि नियमहरू लागू गरेको छ। आगामी फागुन १८ गते राति १२ बजेदेखि नै मौन अवधि शुरु हुनेछ। यस अवधिमा कुनैपनि प्रकारका चुनावी प्रचारप्रसार गर्न पाइनेछैन। जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी यसको सुक्ष्म अनुगमन गर्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad