पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वसचिव सुशील घिमिरेलाई डेढ लाख धरौटीमा रिहा गर्न विशेष अदालत, काठमाडौँले आदेश दिएको छ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले घिमिरेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। आदेशमा भनिएको छ, ‘प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी यी प्रतिवादीको पदीय जिम्मेवारी र भूमिका समेतलाई दृष्टिगत गरी मुद्दा पुर्पक्षको लागि यी प्रतिवादी सुशील घिमिरेबाट एक लाख ५० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिई निज प्रतिवादीलाई तारिखमा राख्नू।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा अस्वाभाविक रुपमा इस्टमेट बढाएका दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। लागत अनुमानभन्दा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९५ रुपैयाँ ५० पैसा बढी रकम राज्यलाई हानी पुर्याएको अख्यितारको दाबी थियो। प्रतिवादीहरूबाट त्यही बमोजिमको बिगो असुल उपर गर्न माग गरिएको थियो।
घिमिरे त्यतिवेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहेका थिए। निर्णय प्रक्रियामा उनको पनि मिलेमतो रहेको अख्तियारले अभियोग लगाएको छ।
Shares

प्रतिक्रिया