राजनीति


बालेनले भने- पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ

बालेनले भने- पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १६:३०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पूर्वी नेपाललाई देखाएर पनि पैसा कमाउन सकिने बताएका छन्। 

मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले त्यसका लागि रास्वपाले आउनेपर्ने बताए। ‘हाम्रो पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ। यहाँ उब्जाउ गरेर पनि पैसा कमाउन सकिन्छ, यहाँ उत्पादन गरेर पनि पैसा कमाउन सकिन्छ,’ शाहले भने, ‘के गरेर पैसा कमाउने? भन्नुस् तपाईहरू? यो तीनटै काम गरेर देखाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।’

उनले पूर्वी तराईमा सधैं सिंचाईको व्यवस्था गर्न सकिने बताए। ‘वर्षामा बाढी आउने, बालुवाले खेतीयोग्य जग्गा सबै पुरिदिने, सुख्खामा पानी नपाउने। खेतीयोग्य जग्गालाई त्यत्तिकै राख्नु परेको हुन्छ बेलाबेलामा,’ उनले भने, ‘बाढी समाधान गर्न तटबन्ध बनाउने र सुख्खाको समयमा सिंचाई दिने पार्टी बन्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी।’

उनले पाथीभरालाई पनि देशभरका नागरिकको आस्थाका रुपमा विकास गर्नुपर्ने बताए। ‘हाम्रो किरातहरूको सम्पूर्ण नेपालीको आस्थाको केन्द्र हो, मुक्मलुङ, खुवालुङ, पाथीभरा जस्ता ठाउँहरूलाई ७७ वटै जिल्लाका दाजुभाइ दिदीबहिनीहरूले आस्था राख्न पाउन। त्यो आस्था देखाउने पार्टी बन्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी।’

देशमा थुप्रै समस्या भए पनि त्यसको समाधान हुन नसकेको जिकिर गरे। रास्वपाले सबै समस्याको समाधान गर्ने उनको भनाइ थियो। ‘समस्याहरू धेरै छन्, समाधान पनि यहिँ छ। समस्या र समाधानलाई भेटाउने काम भएको छै, त्यसलाई भेटाउने काम गर्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी।’

उनले पूर्वमा उद्योगधन्दा खोल्नुपर्ने बताए। ति उद्योगधन्दालाई सहज रुपमा सञ्चालन गर्ने व्यवस्थाका लागि आफूहरू लाग्ने उनको भनाइ थियो। 

‘देशकै पहिलो उद्योग, कलकारखाना भएको ठाउँ हो, यो क्षेत्र हो। खानेतेलदेखि मरमसलाका फ्याक्ट्रीहरू छन्, इन्डस्ट्री छन्। त्यसपछि नयाँ खुलेका छैनन,’ शाहले थपे, ‘नयाँ फ्याक्ट्री खोल्नुप¥यो भने १० वटा नेतालाई ढोग्नुपर्छ। कर्मचारीलाई फकाउनुपर्छ। अनि बल्ल बल्ल फ्याक्ट्री खुल्छ।’

त्यसपछि पनि चन्दा आतंकले उद्योगधन्दा चल्न नसकेको उनको जिकिर थियो। त्यसलाई रोक्ने उनले आश्वासन दिए। ‘फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतंक हुन्छ। अब त्यो आतंक हुँदैन। त्यो आतंक नहुने गरी व्यवस्था बनाउन चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी।’

उनले पूर्वमा फुटबल रंगशाला बनाउने, खेलाडी उत्पादन गर्नेसम्मका प्रतिबद्धता जनाए। त्यससँगै देशलाई नै जोगाउने पार्टीका रुपमा रास्वपाको व्याख्या गरे। छातीमा लगाएको सिलाम साक्मालाई देखाउँदै शाहले भने, ‘यो सिलाम साक्मा लगाएको छ। यो सिलाम साक्माले मृत्युलाई छेक्छ, मान्छेलाई कालबाट जोगाएर राख्छ। यसरी नै देशलाई जोगाउने पार्टी बन्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad