राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्माण व्यवसायीलाई विज्ञप्ति निकालेर प्रतिक्रिया जनाउनुभन्दा विकास निर्माणका काममा केन्द्रित हुन आग्रह गरेका छन्।
मंगलबार ईटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पार्टीले आफ्ना धारणा सार्वजनिक गर्दा केही पक्ष आत्तिएको टिप्पणी गरे। उनले अब देश विकास निर्माणको बाटोमा अघि बढिसकेको दाबी गरे।
‘रास्वपाले आफ्ना कुरा राख्दै गर्दा कतिपय मानिसहरू आत्तिएको देखिएको छ। म निर्माण व्यवसायीलाई विज्ञप्ति निकाल्न पर्दैन, ठूलाठूला इक्युपमेन्ट कसरी खरिद गर्ने हो, रातारात विकास कसरी गर्ने हो त्यतातिर लाग्नुस्, विज्ञप्ति निकाल्न पर्दैन भन्न चाहन्छु,’ उनले भने, ‘अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्दै छ।’
निर्माण व्यवसायीलाई दुई–तीन सिफ्टमा, रातदिन काम गर्नेगरी तयारी गर्न आग्रह गर्दै आवश्यक उपकरण पर्याप्त नभए नयाँ उपकरण खरिदको तयारी गर्न सुझाव दिए।
सभापति लामिछानेले अब कानूनअनुसार काम हुने स्पष्ट पार्दै कसैलाई ‘डोरीले बाँध्ने’ नभई कानूनले नै बाँधेर काम गराइने बताए। ‘बाँध्ने भनेको कानुनले भनेको हो, मान्छेलाई डोरीले बाँध्ने भनेको होइन। कानुनले बाँधेर काम गराउने भनेको हो, कानुनले नै बाँध्ने हो,’ उनले भने।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले बाटो नबनाउँने निर्माण व्यवसायीलाई रुखमा बाँधेर काममा लगाउने अभिव्यक्ति दिएका थिए। शाहको अभिव्यक्ति विरुद्ध नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएपछि सभापति लामिछानेले प्रस्टीकरण दिएका हुन्।
उनले अब देश विकास निर्माणको बाटोमा अघि बढ्ने भएकोले सुरक्षाको चिन्ता नगरी उपकरण खरिदमा लाग्न निर्माण व्यवसायीलाई आग्रह गरे। ‘म सबै निर्माण व्यवसायी भन्न चाहन्छु। दुई–तीन सिफ्टमा काम हुन्छ। रातरात काम हुन्छ। तपाईसँग भएका उपकरणहरू पर्याप्त छैनन् होला, विज्ञप्ति निकाल्न पर्दैन के के उपकरण ल्याउने हो, कसरी ल्याउने हो, त्यसको तयारी गर्नुस्। अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले थेग्न सक्दैन।’
उनले नेपाली काग्रेसका सभापति गगनकुमार थापालाई लक्षित गर्दै दुई दशकसम्म सत्ता र पदमा बसेका बेलामा काम गर्ने र अहिले आएर मात्रै सडक निर्माणका लागि कानुन फेर्नुपर्ने ज्ञान आएको टिप्प्णी गरे। ‘२० वर्ष सांसद मन्त्री भएपछि बल्ल बाटो बनाउन कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईहरूलाई, तपाईहरूको ज्ञान तपाईसँगै राख्नुहोला,’ लामिछानेले भने।
Shares

प्रतिक्रिया