फागुन २१ को निर्वाचनमा सबै दल एक्लाएक्लै चुनावीे मैदानमा देखिए पनि झापा ५ मा ‘म्याच फिक्सिङ’को संकेत देखिएको छ। झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई रोक्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य दलसँग सहयोग माग्दै ‘म्याच फिक्सिङ’ कसरत गरिरहेका छन्।
आइतबार राति झापास्थित उनकै निवासमा नेपालखबरसँगको संवादमा ओलीले आफूलाई कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलको अनौपचारिक साथ सहयोग रहने बताएका छन्।
झापा निवासी नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपा कोसी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका मेयर रामकुमार थापा, राप्रपाबाटै निर्वाचित दमक नगरपालिका ७ का अध्यक्ष भीमप्रसाद पौडेल, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायत ओलीको पक्षमा लागेको अड्कलबाजी भइरहेको छ। झापामा ५ दिन बिताएको नेपालखबरको टोलीले उक्त अड्कलबाजीको गहिराइसम्म पुग्ने प्रयास गरेको छ।
ओलीले व्यक्तिपिच्छे पदको आश देखाएर आफ्नो जितका लागि मत बटुल्न खोजेको देखिन्छ। अहिले आफूलाई समर्थन गर्दा राष्ट्रिय सभा सदस्य समेत रहेका सिटौलालाई दुई वर्षपछि अध्यक्ष बनाउन सकिने वचन दिएको नेताहरू बताउँछन्। २०८४ मा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन गर्दा सहयोग गर्ने वाचा दिएर उनले सिटौलालाई फकाइरहेका छन्।
यस्तै, कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको मत आफूलाई आउनेमा पनि ओली आशावादी देखिन्छन्। देउवासँग नियमित संवादमा रहेका ओलीले उनीनिकट स्थानीय नेताहरूसँग कुराकानी गरिरहेको बुझिएको छ।
कांग्रेसले झापा ५ मा मन्धरा चिमेरियालाई उम्मेदवार उठाए पनि देउवा र सिटौलानिकट कार्यकर्ता र समर्थकहरूको मत ओलीतिर जाने झापाका कांग्रेस नेताहरू नै बताउँछन्। कांग्रेसका स्थानीय नेता सन्तोष तामाङले देश बनाउने र चलाउनेबीचको प्रतिस्पर्धामा पार्टी नहेरी देश बनाउनेलाई साथ दिने भन्दै ओलीलाई मत दिने संकेत गरेका छन्। विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि फागुन २१ को निर्वाचनबारे मौन देखिएका सिटौला ओलीलाई आन्तरिक रूपमा सहयोग गर्न सकारात्मक देखिएका छन्।
यस्तै, राप्रपाबाट निर्वाचित दमकका मेयर थापा पनि बालेनलाई पराजित गर्न ओलीलाई साथ दिने पक्षमै देखिन्छन्। झापा ५ मा राप्रपाको उम्मेदवार खडा भएकाले खुलेर लाग्न नैतिक संकट देखिए पनि उनले भित्रभित्र ओलीका लागि मत मागिराखेको लुकेको छैन।
सोमबार बिहान थापालाई भेट्न नेपालखबरको टिम दमक नगरपालिका पुग्दा उनी काममा तल्लीन थिए। त्यहाँ आएका गरिब, असहाय र विपन्न बिरामीलाई उपचार खर्चको व्यवस्था मिलाउन सिफारिसपत्रमा तोक लगाउँदै बसिरहेका थिए। करिब दुई घण्टा हामीले दमक नगरपालिकामा थापाको कामकारबाही नियाल्यौँ। उनको सेवा प्रवाहको शैली लोभलाग्दो थियो। नगरपालिकामा आशा बोकेर आएका कुनै पनि व्यक्ति सुविधा र आश्वासन नबोकी फर्किनु परेन। तर, त्यसका पछाडि आसन्न फागुन २१ को निर्वाचनको भोट राजनीति भने प्रस्टै देखिन्थ्यो। सहयोगको माग राखिरहेका विभिन्न संघ, संस्था र व्यक्तिलाई घुमाउरो तरिकाले उनी भोटमा बदलिरहेका थिए।
नगरपालिकामा अल्पमतमा रहेका मेयर थापाले एमालेबाट निर्वाचित वडाध्यक्षहरूको सहमति र सिफारिस आउँदा काम गर्न सजिलो हुने आशय सेवाग्राहीसामु राख्थे।
जेनजी आन्दोलनमा आफ्नो घर जलाइएपछि थापामा बालेनप्रति आक्रोश छ। राप्रपाको उम्मेदवारसँग बेलाबखत घरदैलो कार्यक्रममा देखिने थापा आन्तरिक रूपमा ओलीसँग नियमित संवादमा छन्। ओलीसँग पछिल्लो समय नै केही पटक भेटघाट भएको उनले हामीसँग स्वीकार गरे। राप्रपाले चुनाव जित्न सक्ने अवस्था नरहेको भन्दै उनले बालेनलाई रोक्न ओली बोक्ने संकेत गरे।
दमकका मेयर थापापछि एमालेको नजर परेको अर्का व्यक्ति हुन् दमक ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल। राप्रपाभित्र थापापछि बलियो जनाधार भएका पौडेललाई एमालेले पार्टीमा भित्र्याउन ठूलो कोसिस गरिरहेको छ। २०८४ को स्थानीय निर्वाचनमा दमकको मेयर बनाउने वचन दिएर ओलीले पौडलको साथ खोजिरहेको बुझिएको छ। एमाले नेताहरूसँग नियमित संवादमा रहेका पौडेल राप्रपा त्यागेर ओलीको साथमा उभिन्छन् कि उभिँदैनन्, यकिन छैन।
दुर्गा प्रसाईंले भने ओलीलाई साथ दिने संकेत गरिसकेका छन्। राप्रपाका नेताहरूका अनुसार प्रसाईंसँग झापा ५ मा करिब १२ सय जति मत छ। त्यो मत ओलीलाई जाने निश्चित भएको छ।
‘यो देश बनाउने र चलाउनेको प्रतिस्पर्धा हो। मलाई कांग्रेस, राप्रपा र नेकपा लगायतको साथ रहन्छ। झापा ५ मा उम्मेदवारी दिएका दलले पनि मलाई सहयोग गर्नुहुन्छ। कुनै ठाउँमा औपचारिक हुन्छ त कुनै ठाउँमा अनौपचारिक हुन्छ,’ ओलीले नेपालखबरसँग भनेका छन्।

-
केपी ओलीसँग ‘तत्कालै’ : यो चुनाव लडाइँ हो, आवश्यक पर्दा मलाई जिताउन अरू पार्टीले भोट हाल्छन् (भिडिओ)
तर, बालेननिकटस्थहरू कांग्रेस, नेकपा र राप्रपाले ओलीलाई जिताउन म्याच फिक्सिङ गरे पनि जनता जागिसकेको भन्दै बालेनको जित निश्चित भएको बताउँछन्। बालेनका चुनावी प्रचार संयोजक विरोध सुवेदीले भने, ‘दलले फिक्सिङ गरेको कुरा मतदाताले मान्छन् जस्तो मलाई लाग्दैन। दलका सदस्यले हाल्लान् तर त्यो जित्नका लागि पर्याप्त हुँदैन। हामीलाई आम मतदाताको मत निर्णायक हुन्छ।’
म्याच फिक्सिङ हुँदा पनि झापा ५ मा एमालेको लालकिल्ला जोगाउन ओलीलाई तत्कालको अवस्था चुनौतीपूर्ण नै देखिन्छ। माघ ६ मा उम्मेदवारी मनोनयनमा बालेनको पक्षमा देखिएको भीडले मतदाताको बहकिएको मन फर्काउन एमाले संघर्षरत छ। यो क्षेत्रमा १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् भने १ लाखभन्दा माथि मत खस्ने अनुमान छ।
झापा ५ को राजनीतिक अवस्थासँग परिचित राप्रपाका एक प्रभावशाली नेताका अनुसार मनोनयन दर्ताको साता दिनमै चुनाव भएको भए बालेन ७० प्रतिशत मत ल्याएर विजयी हुने माहोल थियो। माघ १२ गतेसम्म बालेनको उक्त माहोल घटेर ५० प्रतिशतमा आएको ती नेताको भनाइ छ।
‘आजका दिनमा पनि बालेनको पक्षमा ५० प्रतिशत भोट देख्छु। ओलीले केही सुधार पक्कै गर्नु भएको छ। उहाँ २० प्रतिशतबाट ३०–३५ आसपास पुग्नु भएको छ। बाँकी अरु सबैको मत जोड्दा त्यही १५–२० प्रतिशत वरिपरि देख्छु,’ राप्रपाका ती प्रभावशाली नेता भन्छन्, ‘ओलीलाई जित निकाल्न बालेनको माहोल ४० प्रतिशतमा झारेर आफ्नो १५ प्रतिशत बढाउनुपर्ने देख्छु। त्यो सम्भव भयो भने जित्नु हुन्छ नभए त्यस्तै हो।’
ओलीले परिस्थिति आफू अनुकुल बनाउँदै लगेको सुँइको पाएपछि बालेन शाह पार्टीका चुनावी सभा छाडेर झापा ५ को घरदैलोमा बढी व्यस्त हुन थालेका छन्।

राप्रपाका ती नेताका अनुसार एमालेको जनाधार रहेको दमकको ४ र ९ का अधिकांश मतदाता बालेनतिर ढल्किएका छन् भने झापा ५ मा रहेका करिब १० हजार सुकुम्बासी मतदाता द्विविधामा छन्। सुकुम्बासी बस्तीबाट विगतमा एमाले, राप्रपा र माओवादीले उल्लेख्य मत पाउने गरेका थिए। यी १० हजार मतदातालाई चित्तबुझ्दो सम्बोधन ओली वा बालेनले गरेनन् भने जनजाति समुदायको बाक्लो उपस्थिति रहेकाले उक्त मत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्राप्त गर्न सक्ने सम्भावना देखिएको ती नेताको बुझाइ छ।
गौरीगन्जको ६०, गौरादहको ४०, कमलाको २० र दमकमा रहेको १० प्रतिशत मधेसी समुदायको मतदातामा बालेनको एकलौटी देखिएको उनी सुनाउँछन्।
कुल जनसंख्याको ५ प्रतिशत रहेको क्रिस्चियन धर्मालम्बीको मत पनि बालेनतिर ढल्किएको छ। झापा ५ का विभिन्न ठाउँमा गुडिरहेका सिटीसफारीबाट भइरहेको प्रचारले धेरै संकेत गर्ने नेताहरू बताउँछन्।
‘मधेसी समुदायका चालकले चलाउने सिटी सफारीमा बालेनको प्रचार छ। जनजातिले माटो (हर्क सम्पाङको पार्टीको चुनाव चिन्ह) को प्रचार गरिरहेका छन्। प्रचारप्रसारमा पनि ओली रक्षात्मक देखिनु भएको छ,’ उनी भन्छन्।
झापाका एमाले नेताहरू ओलीको पक्षमा माहोल बढ्दै गए तापनि जित्ने आधार तय भइनसकेको बताउँछन्।
ओली निवासमा नेपालखबरसँग एमालेका एक नेताले भने, ‘हाम्रो राम्रो हुँदै गइरहेको छ। यो जितसम्म पुग्छ कि पुग्दैन भन्ने हो। पहिलेको भन्दा अहिले दिन प्रतिदिन हामीले आफ्ना मतदाता होल्ड गर्ने प्रयास गरिरहेको छौँ। ८–१० हजार मत फर्काउन सक्दा झिनो मतान्तरका साथ भए पनि जित्न सकिन्छ कि भन्ने छ।’
एमालेकै अर्का एक नेता चाहिँ राप्रपाका नेताको आकलन नजिक सुनिन्छन्। उनका अनुसार यो क्षेत्रमा १ लाख ६३ हजार मतदातामध्ये करिब १ लाख मत खस्ने अवस्थामा अहिले बालेन ओलीभन्दा १५–२० हजार मतले अगाडि छन्। यो दूरी घटाएर जित नजिक पुग्न ओलीले ८–१० हजार मत तानेर पुग्दैन, राप्रपाका नेताले भने झैँ बालेनको मत ५० प्रतिशतबाट ४० मा झारेर आफ्नो १५ प्रतिशत बढाउनुपर्ने हुन्छ। त्यो भनेको बालेनको १० हजार घटाएर आफ्नो १५ हजार बढाउनु पर्ने हुन्छ।
यही हिसाब–किताब अनुसार ओली अहिले राप्रपा, देउवा कांग्रेस, नेकपा लगायतसँग ‘म्याच फिक्सिङ’ कसरत गरिरहेका छन्।
तर, यसरी ‘म्याच फिक्सिङ’ गर्दा त्यसको फाइदा ओलीलाई मात्रै हुन्छ भन्ने छैन। ओलीले जति मत अरु दलबाट तान्न खोजिरहेका छन्, ती ती दलबाट ओलीलाई जानेभन्दा बढी मत बालेनतिर जान पनि सक्छ।
ओली विभिन्न जातीय, वर्गीय र विधागत संघसंस्थासँग व्यक्तिगत डिल गर्न आफैँ मैदानमा उत्रिएका छन्।
उनीहरूको समस्या सुन्ने र समाधानका लागि आवश्यक पहल र सहजीकरण ओलीले गरिरहेका छन्। संघसंस्थालाई सामग्री, जग्गा र भवन निर्माण, कार्यक्रमका लागि बजेटको व्यवस्थाबारे सरोकारावालासँग ओली संवाद गरिरहेका छन्। एमालेबाट निर्वाचित वडा र पालिकाका जनप्रतिनिधिमार्फत पनि मत बटुल्ने ओलीको रणनीति देखिन्छ।
यस्तै, ओलीले बालेनविरुद्ध राप्रपामार्फत हिन्दुत्वको कार्ड उपयोग गर्न खोजेका छन्।
राप्रपाका अर्का एक नेताले नेपालखबरसँग भने, ‘केपी ओली पनि धर्म मान्ने मान्छे त होइनन्। तर यिनले धर्म मास्दैनन् भन्ने छ। हिन्दु धर्मावलम्बीलाई रास्वपा र बालेनप्रति शंका र भय छ। त्यसैले ओलीलाई नै मत दिने कि भन्ने छ। त्यसले केही फाइदा हुन्छ होला।’
बाँकी एक साता आफ्नो पक्षमा माहोल ल्याउन ओलीले सबै अस्त्र प्रयोग गर्न सक्ने भन्दै अहिले नै धेरै कुरा भन्न नसकिने राप्रपाका ती नेताको भनाइ छ।
‘यहाँ कहाँ के गर्दा हुन्छ भन्ने उहाँलाई सबै थाहा छ। बालेनका मान्छेहरू हाहु गर्दै मात्र हिँडिरहेका छन्। ओली पनि कडा खेलाडी हो। हेरौँ के हुन्छ,’ ती नेताले भने।
एमाले केन्द्रीय सदस्य गोविन्द थापाले ओलीलाई जिताउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरिएको भन्दै बालेनलाई अहिले केही दबाब बढेको बताए।
२०४८ पछि ६ पटक झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली निर्बाध निर्वाचित भए। २०६४ मा तत्कालीन माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग भोगेको पराजय उनको अहिलेसम्मको एक मात्र हार हो। ओलीलाई चार पटक प्रधानमन्त्री बनाएको झापा ५ को मुड यसपटक फेरिएको देखिन्छ।
नेपालखबरको टोली पाँच दिन लगाएर झापा ५ मा पर्ने दमक नगरपालिकाका सबै, गौरादह नगरपालिका ९, कमल गाउँपालिकाका ७ र गौरीगन्जका ३ गरी २९ वडामा पुग्दा चुनावी माहोलले ओलीको विरासत र विगतको अंकगणितलाई चुनौती दिएको भेटियो। झापा ५ मा चुनाव लड्न आइपुगेका बालेनलाई यहाँ परिवर्तनको वाहकका रूपमा हेरिएको पाइन्छ।
दमकको गोरखा डिपार्टमेन्टल स्टोरअगाडि भेटिएका गाडी चालक बिर्खबहादुर राईले ‘ओलीलाई मत हाल्दा हातका रेखा मेटिइसक्दा पनि भाग्य नफेरिएको’ भन्दै यसपटक मत फेर्ने चाहना प्रकट गरे। दमक क्याम्पस मोडमा भेटिएकी सीता दाहालको मन पनि हर्कबहादुरको भन्दा भिन्न छैन। ओलीले झापा ५ मा अथाह काम गरे पनि अब नयाँ मान्छे चाहिने भन्दै फागुन २१ मा मत परिवर्तन गर्ने सीताको भनाइ थियोे।
केही मतदाताको भने ३१ वर्षपछि ओलीप्रति मन फर्किएको छ। दमकको ट्राफिक चोकमा फलफूल पसल सञ्चालन गरेका मनोज थापा एमालेलाई ३१ वर्षपछि फागुन २१ मा मत हाल्ने तयारीमा छन्।
उनले भने, ‘२०५१ सालमा केपी ओली गृहमन्त्री हुँदा सचिवालयमै थिएँ। मलाई धेरै कुरा चित्त नबुझेपछि २०५१ सालबाट एमालेको सूर्यमा मत हाल्नै छाडेको थिएँ। तर, अहिले मलाई सूर्यमा मत हाल्न मन छ। विध्वंसको नाइके (बालेन) यहाँ आएका छन्। मेरो भाइको घर जलाउनेहरूको घरमा आएर बसेका छन्।’
बालेन र ओली दुवै प्रधानमन्त्रीको उम्मेदवार भएकाले झापा ५ यो निर्वाचनको खास ‘ब्याटल ग्राउण्ड’ बनेको छ। जेनजी आन्दोलनका नाममा भएको आगजनीबाट क्षति ब्यहोरेकाहरू बालेनलाई हराएर रिस फेर्ने मुडमा छन्। ओलीको ‘देश बनाउने र जलाउने’ र बालेनको परिवर्तनको मुद्दामा झापाको मैदानमा अहिले ‘भिषण युद्ध’ भइरहेको छ। अन्तिम फैसला यहाँका १ लाख मतदाताले फागुन २१ गते दिनेछन्।
Shares

प्रतिक्रिया